शिक्षामा राजनीतिक प्रभाव कति ?

काठमाडौं/२० जेठ -राजाकालीन पञ्चायत शासनमा राजाको आवधिक क्षेत्र भ्रमणमा नेपालको शिक्षा पद्धतिमा पहुँच वृद्धिका माग हुन्थे । प्राविधिक विषय क्षेत्र र सांस्कृतिक धार्मिक पक्षका मागहरु पनि राजा समक्ष पुराइन्थे । यसै सन्दर्भमा सुर्खेत जिल्लाको वीरन्द्रनगरको इत्राममा श्री कृष्ण संस्कृत माध्यमिक विद्यालयको माग भएकोमा राजाबाट २०४५ सालमा स्वीकृति प्रदान गर्न हुकुम बक्स भएबमोजिम शिक्षकको दरवन्दी आए । तर ती दरवन्दीमा संस्कृतको ज्ञान राख्ने शिक्षकलाई कुनै स्थान दिइएन । जिल्लामा नेपालको संस्कृत विश्वविद्यालयबाट शास्त्री भएको म आफू स्थायी शिक्षक थिएँ । एकातिर मेरो पदस्थापना उक्त विद्यालयमा भएमा संस्कृत तथा नेपाली विषयका कक्षा सञ्चालनहरु गर्न सहज हुन्थ्यो । अर्कोतिर मेरो पदस्थापना भएको जनसेवा मावि सहारेका शिक्षक थानेश्वरको जागिर बचाउन सकिने धेरै विकल्प दिँदा पनि पहँुच पुग्न सकेन र उक्त विद्यालयलाई संस्कृत विहिन बनाएर आफू खुशी शिक्षकहरुको पदस्थापना गरियो । यसरी शिक्षा क्षेत्र विषयगत विकास र सहीव्यक्ति सहीठाउँबाट बन्चित हुँदै गए, अनि शिक्षा पदाधिकारीहरु राजनैतिक शक्तिका मोहरा हुनथाले भन्ने अनुभव सुनाउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेलसंग विगतमा शिक्षण पेसामा रह्दाका अनुभव र यथार्थता सम्बन्धी खबर एजुकेसनले गरेको कुराकानीको भाग ६ को संपादित अंश ।


शिक्षा र राजनीतिको विषय कसरी अन्योन्याश्रित भएको ठान्नु हन्छ ?


सामाजिक तहमा शिक्षकले यो यो गरिदिऊन् र हाम्रो आधार जग जनतामा बसालि दिउन् भन्ने अपेक्षा राजनीतिक दलहरुको हुन्थ्यो भन्ने कुरा संवादको भाग तिनमा उजागर भएको छ । संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय पद्धतिको पहिलो निर्वाचन २०४८ जेष्ठमा हुँदै थियो । नेपाली कांग्रेस र नेकपा एमाले आमने सामने प्रतिस्पर्धी थिए । घर घर विभाजित, बाबु र छोरा फरक फरक पक्षमा, घरका सबै सदस्य, नातापाता र कुटुम्ब सम्बन्ध समेतमा उच्च मतान्तर थियो । पूजाआजा, मृत्यु संस्कार आदिमा समेत आफन्तको आवत जावत नहुने र कहाँनिर, कहिले कस्तो अवस्थामा झडपहुने हो ? कुनै निश्चित थिएन । शिक्षकहरुको शाख र मान पार्टी प्रवत्ता र समर्थकका रुपमा परिचित हुन थालेको थियो । विश्वास र भरपर्दो व्यक्ति कोही हुँदैन्थ्यो, सबै शंका र अविश्वासका कारक थिए । यसरी शिक्षा र राजनीति अन्योन्याश्रित भएको थियो, छ र शायद भविष्यमा पनि रह्ने होला ।


२०४८ सालको संसदीय निर्वाचनको अनुभूति कस्तो रह्यो ?


म आफू सुर्खेतमा भएकोले त्यसैका आधारमा केही विश्लेषण गर्न प्रयास गर्नेछु । सुर्खेतका तीन निर्वाचन क्षेत्रमध्ये एक निर्वाचन क्षेत्रमा सहारे पर्दथ्यो । विद्यमान नेपाली कांग्रेसका केन्द्रीय उपाध्यक्ष पूर्ण बहादुर खड्का र कागजी एकतामा बाँधिएका तर भावनामा फरक फरक धारमा रहेका नेकपा माले र माक्र्सवादीको एकता भई बनेको नेकपा एमालेका हस्तबहादुर पुन प्रतिस्पर्धी उम्मेदवार थिए । एकातिर हस्तबहादुर सर्वसहमत उम्मेदवार भए पनि कम्युनिष्टको कथनी र करणीको अन्तरभेदले काम गरिरहेको देखिन्थ्यो । अर्कोतिर पूर्ण जी युवा, चतुर नेता तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका अति विश्वास पात्र भनी प्रचारित थिए । साथै, सिपि मैनाली, अशोक राई जस्ता मालेका नेताहरुसंग २०४०/०४१ सम्म संगठनमा संगै काम गरेका तथा विविध कारणपार्टीका गतिविधि सित असहमत भएर निष्क्रिय गुल्मी बलेटक्सारका राघवेश ज्ञवाली सुर्खेतको सहारे बोटेचौरमा बसी मेडिकल व्यवसाय गर्दथे । उनी २०४८ सालको आमनिर्वाचनमा पूर्ण जीका विश्वासी सहयात्री भएर उनको भाषामा कम्युनिष्टको नक्कली चरित्रको पर्दाफास गर्न प्रतिवद्ध भएर मैदानमा उत्रिएका थिए । यी दुई महारथीको चुनावी आमसभाको भिडन्तमा केही समय बिताएर, गुल्मीको मतदाताको अधिकार प्रयोग गर्न आफू चाहिँ गुल्मी गएको थिएँ ।


कम्युनिष्ट मोहबाट मुक्त वा पलायनका विषयमा तपाईको समीक्षा के रह्यो ?


राघवेश जीको राजनीतिक गतिविधिलाई सोध्नु भएको होला ? ज्ञवाली जी भन्नु हुन्थ्यो । बहुदल आएपछि पनि पूरा एक वर्ष कम्युनिष्ट कसरी राजनीतिमा आउँछन् भनेर, पर्खिएर बसेँ । २०४८ सालको चुनाव हुनुपूर्व नेपालगञ्जमा भएको माले पक्षधर कम्युनिष्टका मुख्य मुख्य नेताहरु मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली लगायतको भाषण सुन्न पुगेँ । उनीहरुका भाषण र मदन भण्डारीको नेतृत्व शैली विश्लेषणगर्दा बहुदलीय राजनीति र प्रतिस्पर्धाको विकल्प अब छैन भन्ने निचोडमा पुगेको हुँ । नेपालगञ्जको कार्यक्रमबाट फर्किएपछि के कति कारणले हो ?अन्तरात्माले भन्यो कम्युनिष्टसंग गाँसिरह्नुको कुनै अर्थ छैन । घरमा फर्किना साथ समान रुपमा राखिएका नेपाली कांग्रेस र कम्युनिष्टका झण्डाबाट कम्युनिष्टको फालेर कांग्रेसको राखीरहेँ र वाम राजनीतिको कथनी र करणीको द्वैध चरित्रबाट फुक्का भएँ । ईश्वरी जी, तपाईहरुलाई यी छेपारे चरित्रका कम्युनिष्टहरु प्रति अझ पनि विश्वास छ है ? प्रश्न गरिरहनु हुन्थ्यो । आफूलाई खाँटी कम्युनिष्ट हौँ भन्नेहरु राघवेशलाई विश्वास गर्नु, बोल्नु र उनको यहाँआउनु जानुलाई धेरै शंकाका दृष्टिले हेर्दथे । यसैले जिल्ला वासी, उमेरले १०/१२ वर्षका अग्रज, राजनीतिमा भूमिगत राजनीतिक जीवन यात्राको अनुभव संगालेका र वाम राजनीतिका शिर्षस्थ नेताहरुको समकक्षी भएकोले उनका भोगाइ कातिता मिठा कुरा सुन्न र देशकालको वस्तुस्थिति बोध गर्न निरन्तर भनौँ वा दिनहुँ एक दुईघण्टा वहाँसंग बिताउँथेँ । तर वहाँको कुरामा सहमति वा विमतिको झगडा वा विवाद कहिल्यै भएन र आत्मीय मित्रता कायम रह्यो, जुन आजका मितिसम्म पनि यथावत छ ।


तपाईलाई कांग्रेसी जनले राजनीति गरेर प्रधानाध्यापक हुन नदिएको र पेसागत जिम्मेवारीमा दःुख दिएको भन्ने कुरा के साँच्चो रहेछ ? भ्रम वा सत्यबाट कसरी जानकार हुनु भयो ?


सहारेमा शिक्षक भएपनि २५ मिनटको दुरीमा काला खोला भन्ने ठाउँ बोटेचौर माथिको गाउँमा डेरा थियो । स्थानीय जयबहादुर डाँगी भन्ने प्रतिष्ठित व्यक्ति कांग्रेस प्रति झुकाव राख्दा रहेछन् भने उनका छोरा केशर बहादुर डाँगी अनेरास्ववियु पाँचौको जिल्ला विद्यार्थी नेता सचिव भएर एमालेतिर डोरिएका रहेछन् । साँझ खाना खाने समयमा घरबेटी भाई प्रह्लाद वलीले भने, आज केशर भाइ लगायतका काला खोलाका धेरै कम्युनिष्टहरुमा आस्था राख्ने सबैलाई कांग्रेसमा प्रवेश गराउने योजनासाथ नेपाली कांग्रेसका उम्मेदवार पूर्ण बहादुर लगायतकाहरु केशरका घरमा जम्मा हुँदैछन् । झडप पनि हुन सक्छ आशंका जताय । साँच्चेै साँझआठ बजेतिर म पनि त्यहाँ पुगेँ । ६०—७० जनाले घरको आंगन, पिढी, पर्खाल ढाकेका थिए । पूर्ण जी, राघवेश जी र विस्थापित हुन पुगेका शिक्षक थानेश्वर जी साथमा आंगनको एक छेउमा थिए । औपचारिक नमस्कार गरेर बस्दा राघवेशजीले परिचय गराउनु भयो । म चुपचाप करीब दुई घण्टा चुपचाप बसी वहाँहरुका कुरा, छलफल र राजनीतिक बहस सुनेर उठेर हिड्न खोज्दा पूर्णजीको भनाइ थियो— बहुदलीय प्रजातन्त्र, नागरिक स्वतन्त्रता र संसदीय शासन प्रणालीका लागि आवधिक निर्वाचनमा तपाई जस्ता व्यक्तित्वको साथ हाम्रो पार्टी र मैले चुनावमा पाउने छु ।


पूर्णजीको भनाइको समर्थन वा प्रतिवाद के गर्नु भयो ?


आक्रोश र बदलाको भावले भरिएको मेरो आवाज असंयमित रह्यो । प्रत्युत्तरमा के को बहुदल ? के को प्रजातन्त्र ? के को नागरिक स्वतन्त्रता ? गुल्मीबाट पेटको भोक मेटाउन जागिरमा आएको साधारण शिक्षण पेसाको कर्मचारीलाई समेत शान्त पूर्वक बस्न नदिने बहुदल, प्रजातन्त्र र नागरिक स्वतन्त्रता! वाह रे नेपाली कांग्रेस भन्न पुगेँ । साथै, तपाईका पार्टीका कार्यकर्ताहरुले मेहेली, साटाखानीमा के के हर्कत गरे र दुखदिए ? पूर्ण जी तपाईकै सम्मुखमा बस्नु भएका मित्र थानेश्वरजीको जागिर खाइदिने अपराध तपाईहरु कै उत्साहमा तीकार्यकर्ताले गरेका होइनन् र ? प्रश्न गरेको थिएँ ।


हो, जनता झुक्याएर राजनीति गर्न सजिलो होला तर माफ गर्नुहोस् म तपाईको विचार र आग्रहलाई स्वीकार्न र सहयोग गर्न सक्दिनँ । एउटा कुरा चाहिँ स्पष्ट छ, कम्युनिष्ट दर्शन के हो ? समाजवाद र साम्यवादका मूल्य मान्यता के हुन् ? वाम राजनीतिक आधार, सिद्धान्त र ध्येयका बारेमा कसैले सुन्न, बहस गर्न र व्याख्या गर्न लगाएमा मञ्चमा भाषण दिन, अन्तरक्रिया गर्न जहाँ पनि उपस्थित हुने छु । तर वैयक्तिक रुपमा म तपाई तथा नेपाली कांग्रेस प्रति कुनै विरोध गर्ने छैन, कुनै आश्वासन र प्रचारप्रसारमा लाग्ने छैन ।


मलाई सम्झाउने शैलीमा धेरै पटक राघवेशजीले प्रयास गर्न चाह्दा पूर्णजीले वहाँलाई रोक्नु भयो र कुनै प्रतिवाद नगरी म भित्र रहेको रिस, राग र आक्रोशलाई एक एक गरी व्यक्त गर्ने अवसर दिनु भयो । यी सबै कुराकानीमा करीब एक घण्टा बित्यो र म बिदा मागेर हिड्न लाग्दा वहाँ जुरुक्क उठेर मेरो पछि पछि आउनु भयो र भन्नु भयो — ईश्वरीजी यसपूर्व तपाईसंग प्रत्यक्ष भेटघाटहुन पाएको भए, शायद यी कुनै दुर्घटना हुने थिएनन् । तपाई जस्तो बौद्धिक, स्वाभीमानी र स्पष्टवक्ता विरुद्ध लगाइएका, सुनाइएका कुराबाट यहाँसम्म पुग्न पर्ने थिएन । वहाँको मन मस्तिष्कमा जे जति बेखुशी वा बदलाको भाव उत्पन्न भएपनि प्रकट हुन दिएनन् र मलाई न्याय पाउनु हुनेछ भनी आश्वस्त पारेर बिदा भएर फर्किए ।


पूर्णजीको भनाइपछि राजनीतिबाट पूर्ण अलग हुनुभयो ?


चुनावी सभामा धेरै ठाउँमा बोलियो । सानो मदन भण्डारीको नाम पनि कमाइयो । यसै सन्दर्भमा विद्यालयमा केही विद्यार्थीहरु सल्यानजुंग खोलाका थिए । उनीहरुले हाम्रो गाउँमा सरहरु पुगेर जनतालाई संबोधन गर्नुप¥यो भनी आग्रह गरे । साँच्चै हामी पुग्यौँ, ती विद्यार्थीहरुले आफ्ना गाउँका मानिसहरुलाई दिउँसो जम्मा पारे र भाषण र राजनीतिक कुराकानी गरियो । धुवाँधार पञ्चायत र तिनका शासकहरु र मरिचमानको खिल्ली उडाइयो । तर उक्त क्षेत्र पञ्चायत कालीन सादा जीवन उच्च चरित्रका धनी राष्ट्रवादी नेता तथा पूर्व प्रधानमन्त्री मरिचमानको प्रभावमा रहेछ । रातिको १० बजेको हुँदो हो, चारैतिरबाट हामीलाई घेरिएको र आक्रमणको खतरामा परेको कुरा विद्यार्थीका अभिभावकले दिए । उनीहरुले भागेर जाने गोप्य बाटोको सुइँको र विद्यार्थीलाई अगाडि लगाएर पठाए । कुनै बत्ती र आवाज विना खोला र डाँडो काटेर रातभर हिडेर बिहान हुँदा सहारेमा आएको स्मरण हुँदा आजपनि शरीरमा काँडा छुट्दछ । यसरी आफ्नो तहबाट २०४८ सालको चुनावमा कम्युनिष्टका पक्षमा पूर्ण सक्रिय नै रहियो ।


पूर्णजीसंग त्यसपछि कुनै भेटघाट भएन ?


किन नहुनु नि ? कालाखोलाको वाद प्रतिवाद पछि करीब दुई हप्तापछि राघवजीले एउटा चिर्पटो पठाउनु भयो । पढ्दा थाहा लाग्यो, ईश्वरी जी! मेहेल कुना सचिवजी कहाँ पूर्णजीले तपाईलाई बोलाउनु भएको छ । म भेट्न गएँ, वहाँले भन्नुभयो, ईश्वरी जी! म चुनावमा जितुला वा हारुँला तर तपाईमाथि जे जे अनुचित व्यवहार भएछ, ती सबैप्रति म लज्जित छु । मेरोतर्फबाट तपाईलाई सहारेबाट वीरेन्द्रनगरको इत्रामको संस्कृत माविमा सरुवा गराएर न्याय दिने पूर्ण प्रयास गर्नेछु । पूर्णजीलाई मेरो आनीबानी, कार्यव्यवहार र सबै वस्तुस्थिति बारेको जानकारी गर्ने, गराउनेमा राघवेशजी त हुनुनै हुन्थ्यो । साथै, गुल्मी तुरांग बासी मेरा आदरणीय मामा चिरञ्जिवी अर्याल ( सुसेली नाम कपत्रिका सञ्चालक र सम्पादक) को ठूलो भूमिका र साथ, सहयोग रह्यो । त्यसपछिका निरन्तरका भेटघाट र तिता मिठा अनुभूतिहरु अर्को संवादमा गर्ने छौं ।