सबै भन्दा धेरै बजेट शिक्षामा हुनु राम्रो संकेत हो : शिक्षा मन्त्री

काठमाडौं /१९ जेठ-सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वयका लागि १ खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री जर्नादन शर्माले जेठ १५ गते आइतबार संघीय संसदमा बजेट भाषण गर्दे सो घोषणा गरेका हुन । अघिल्लो वर्ष १ खर्ब ७१ अर्ब ७१ करोड रकम विनियोजन गरिएकोमा यो वर्ष शिक्षामा थोरै बजेट वृद्धि गर्दे १ खर्ब ९६ अर्ब ३८ करोड रकम विनियोजन गरेको जर्नादन शर्माले आर्थिक वर्ष ०७९/०८० को बजेट भाषणमा घोषणा गरेका छन् ।


तर, शिक्षामा बजेट विनियोजन भएसँगै यसलाई विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । अधिकांश सरोकारवाला, विज्ञ र शिक्षाविद्हरुले शिक्षामा बजेट थोरै भएको र यसले गुणस्तरीय शिक्षामा प्रभाव नपार्ने बताइरहेका छन् । साथै सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकहरुले वजेटले विभेद गरेको भन्दै आफ्ना धारणाहरु बाहीर ल्याएका छन् । शिक्षामा विनियोजन गरएिको बजेट बारे खबर एजुकेसनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग गरेको संवाद ।


शिक्षामा १ खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको छ , यसलाई कसरी हेर्नु भएको छ ?


भर्खर म १२० देशका प्रतिनिधि उपस्थित भएको सम्मेलनमा भाग लिएर आएको छु । त्यहाँ बुझ्दा, युनेस्कोमा बुझ्दा, अन्तराष्ट्रिय शिक्षासँग सम्बन्धित सबैतिर बुझ्दा कुल बजेटको २० प्रतिशत आसपासको बजेटलाई अन्तराष्ट्रिय स्ट्याण्डर्ड मानिन्छ । त्यो हिसाबले हेर्ने हो भने हाम्रो बजेटले अहिले पनि संवोधन गरेको स्थिति छैन ।


तर, हाम्रो मात्रै बजेटलाई हेर्ने हो भने सबै भन्दा धेरै बजेट शिक्षामा छ । १ खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजन गरीएको छ । २५ वटा मन्त्रालय मध्ये यति धेरै बजेट विनियोजन भएको शिक्षा मन्त्रालय मात्रै हो । सरकारले शिक्षामा बजेट कम विनियोजन ग¥यो भन्ने भन्दा पनि अन्तराष्ट्रिय स्ट्याण्डर्ड अनुसार प्रतिशतमा २० प्रतिशत नपुगे पनि अरु मन्त्रालयमा भन्दा शिक्षा मन्त्रालयमा धेरै बजेट विनियोजन हुनु सकरात्मक कुरा हो ।


म आफैले पहल गरेर अघिल्लो वर्ष भन्दा केही बढी बजेट ल्याएको छु । हामीलाई दिइएको सिलिङ थोरै थियो, त्यो सिलिङ अलिकति बढाउन हामी सफल भयौँ । तसर्थ तुलनात्मक रुपमा राज्यको यत्रो लगानि शिक्षामा हुनु राम्रै संकेत हो ।


बजेट आएसँगै सार्वजनिक विद्यालयका शिक्षकहरुले हाम्रा माग पुरा भएनन् भनिरहनु भएको छ । यसलाई कसरी अगाडी लिएर जाने योजनामा हुनुहुन्छ ?


मैले उहाँहरुका कुरा सुनेको छु । बजेट बनाउँदा पनि हामी सहभागि बन्यौँ । खालि राज्यले केही गरेन, राज्यले केही गरेन, हाम्रा अधिकारका कुरा ग¥यौ भनेर मात्रै पुग्दैन । राज्यले तलब बढाउँदा कर्मचारीको सरह शिक्षकको पनि बढाएको छ । अहिले नै हामीले पहल गरेर सार्वजनिक विद्यालयहरु सुधार्नका निम्ति प्रधानाध्यापकलाई इम्पावर गर्नुपर्छ भनेर पहल ग¥याँै, केही कानुन् संवत तरीकाले अधिकारहरु बजेटमा संवोधन भएको छ । त्यसकारणले केही पनि गरेन भन्न मिल्दैन । त्यसो भन्नेले आफु तिर फर्केर पनि हेर्नुपर्छ । शिक्षा क्षेत्रमा जो जहाँ छ त्यसले आफुतिर फर्केर मेरो दायित्व के हो ? भूमिका के हो ? राज्यले मलाई सम्झेको छ, मेरो कर्तव्य के हो ? भनेर विचार पनि गर्नुपर्छ ।


तर, अझैपनि पुगेन भनेर अधिकारको माग गर्ने कुरा छदैछ, यो सँगै मेरो कर्तव्य यो हो भनेर आफुतिर पनि फर्कनु पर्छ । अधिकार र कर्तव्य दुई वटै कुराको समायोजन गरेर अगाडी बढेर मात्रै शिक्षा प्रणालिलाई हमी सुधार्न सक्छौ । राज्यले ध्यानै दिएन भन्नेर भन्न मिल्दैन ।


शिक्षामा कमिसन नआएका कारणले बजेट राम्रो पर्न सकेन भन्ने कुराको अहिले चर्चा भइरहेको छ । यसलाई कसरी लिनु भएको छ ?
कुनै समय कुनै प्रसंगमा अर्थ मन्त्रीले भनेको कुरा भेट्टाउनु भएको होला । यो राजनैतिक बेईमानि पनि हो । कुनै छलफलमा कुनै प्रसंगमा भनिएको कुरा अहिले आएर जोड्न मिल्दैन । त्यसकारणलै अर्कै प्रसंगमा युट्युवमा भनेको कुरा अहिले सदनमा लगेर प्रस्तुत गर्नु राम्रो कुरा हाईन । छुटेका विषयमा विरोध गर्न पाईन्छ तर यसरी जोड्न मिलेन ।


राज्यले सार्वजनिक विद्यालयलाई सेवा सुविधा दियो तर निजी विद्यालयलाई दिएन विद्यार्थीलाई समेत विभेद ग¥यो भन्ने आरोप छ नि ?


संस्थागत विद्यालयहरु निजी लगानिमा सञ्चालनमा रहेको हुँदा उहाँहरुलाई विद्यार्थीसँग शुल्क लिन छुट छ । विद्यार्थीसँग लिएको शुल्कबाट स्रोत साधन जुटाएर विद्यालय चलेका छन् । संविधानले भने अनुुरुप शिक्षालाई निशुल्क बनाउदै जाने भनेको सार्वजनिक विद्यालयमा हो । राज्यले निजीलाई सेवा सुविधा दिन नसक्नुको कारण भनेको निजी रुपमा नै उहाँहरुले स्विकृत लिएर सञ्चालन गर्नु भएको कारणले हो । तर, त्यहाँबाट उत्पादन हुने विद्यार्थीको सवालमा, पाठ्यक्रमको सवालमा, उच्च शिक्षामा पढ्दा खेरीको सवालमा लगायतका कुरामा सँगै लिएर जाने कुरामा राज्यले विभेद गरेको छैन र गर्दैन । निजी नै भएर सञ्चालन गरेपछि आफै व्यवस्थापन गर्नुपर्छ त्यो पनि कहि कतै विरोध नगरी सकरात्मक रुपमा नै लिएका छौं ।


हाम्रा तिन प्रकारका विद्यालय छन् ति भनेको सार्वजनिक विद्यालय, निजी विद्यालय र गुठीबाट सञ्चालन भएका विद्यालयहरु छन् । यी तिन प्रकारका विद्यालयहरुले समान रुपमा एउटै तोकिएको पाठ्यक्रमबाट पढाई हुने भएको हुँदा सञ्चालन गर्ने तरीका फरक फरक होला तर शिक्षण सिकाईको प्रक्रिया र राज्यका समान रुपमा उत्पादित जनशत्ति भएको हुँदा हामीले त्यसलाई विभेद गर्दैनौं ।


निजी विद्यालयले दिने छात्रवृत्ति पारदर्शि भएन, यसमा शिक्षा मन्त्रालयले अनुगमन गरेन भन्ने कुरा उठिरहेको छ नि ?


उहाँहरुले माग राख्नु भएको छ । हामीले कुरा गरीराखेका पनि छौं । केही न केही फरक त हुन्छ तर विद्यार्थीले फिल गर्नेगरी फरक गर्नुहुँदैन भन्ने उहाँहरुको माग सही छ । पढेर आएको विद्यार्थी सार्वजनिकबाट पढेर आयो वा निजीबाट पढेर आयो भनेर अन्त कही मुल्याङकन हुँदा त्यसले विद्यार्थी नकरात्मक असर पार्ने भएकोले यस्ता प्रकारका विभेद हुनु भएन भन्नु सही हो । तर, राज्यले नै तोकेर बनाएका विद्यालय नाफामुलक नभई सेवा मुलक हुन् र संविधानमै तोकेर सार्वजनिक विद्यालयको शिक्षा निशुल्क भनिएको छ । यसमा कही कतै थोरै फरक देखिन सक्छ । हुन त निजी विद्यालय पनि सेवा मुलक नै हुन् ।


शिक्षा मन्त्रालयले तोके अनुसार निजी विद्यालयले दिएको छात्रवृत्ति पनि पारदर्शी छैन, यसलाई पारदर्शि बनाउने योजना छन् की छैनन् ?


हामीले पारदर्शी बनाएका छौं । अनुगमन गरेका छौं । साथै कतिपय स्थानीय पालिकाले गरीरहेको अवस्था छ । उच्च शिक्षा तथा मेडिकल पढ्नेहरुको हकमा तोकेर नै पालना गरीरहेको पाएका छौँ । विद्यालय सञ्चालनको सबै अधिकार स्थानीय पालिकालाई दिएको र स्थानीय पालिकाको भुगोलमा जुन विद्यालय सञ्चालनमा छ त्यहीँको पालिका सँग समन्वय गरेर काम गरीरहेको अवस्था छ । विद्यालयहरुलाई १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गर्न भनेका छौं उनीहरुले आफ्नो तरीकाले स्थानीय पालिकासँग संयोजन गरेको हुनाले सबै रेकर्ड मन्त्रालय आएको छैन । तर, यो विषय उठेको हुनाले अनुगमनको प्रकियामा छौँ ।