काठमाडौँ /३१ वैशाख – ग्लोबल स्कुल अफ साइन्सले उत्कृष्ट २५ विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । पूर्ण छात्रवृत्तिमा +२ विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति दिने भएको हो ।
छात्रवृत्ति प्राप्त गर्नका लागि विद्यार्थीहरू विद्यालयले सञ्चालन गर्ने परीक्षामा सहभागी हुनुपर्ने छ । यसका लागि तयारी गर्न नमुना प्रश्नपत्रको पुस्तक र परीक्षाको प्रवेश पत्रसमेत विद्यालय परिसरबाट निःशुल्क उपलब्ध गराइएको जनाइएको छ ।
जिएसएस टप २५ मेरिट स्कलरसिप प्रवेश परीक्षा नाम दिइएको उक्त योजनामा सहभागी हुन चाहने विद्यार्थीले कलेज प्रशासनमा वा वेबसाइटबाट पनि दरखास्त दिनसक्ने विद्यालयले जनाएको छ ।
छात्रवृत्ति परीक्षा–६०, अन्तर्वार्ता–१० र जिपिए–३० गरी १०० पूर्णाङ्क मानेर उत्कृष्ट २५ जना पूर्ण छात्रवृत्तिका लागि छानिने छन् । परीक्षामा सहभागी भई उत्तीर्ण सबै विद्यार्थीलाई प्रवेश परीक्षा र जिपिएका आधारमा पूर्ण तथा आंशिक छात्रवृत्ति दिइने छ ।
विद्यालयका अनुसार यही जेठ ३ गते आइतवार लिइने छात्रवृत्ति तथा प्रवेश परीक्षाको अन्तिम नतिजा सोही दिन साँझ प्रकाशित हुने छ । साथै विज्ञानतर्फ बिहानी तथा दिवा गरी दुई सिफ्टमा कक्षा सञ्चालन गर्दै आएको छ ।



