स्वस्तिश्री गुरुकुल र प्राइम बैंकद्वारा तीन विद्यालयलाई शैक्षिक सहयोग

काठमाडौँ /२८ असार – स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुल र प्राइम कमर्सियल बैंक लिमिटेडको संयुक्त साझेदारीमा तीन सामुदायिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ ।


नागार्जुन नगरपालिका–२, काठमाडौँस्थित स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलमा आइतबार आयोजित कार्यक्रममा बाजुराको लक्ष्मी माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका वडा नं १० लाकुरीभञ्ज्याङस्थित कालीदेवी माध्यमिक विद्यालय तथा वासुकी माध्यमिक विद्यालय लाई विभिन्न शैक्षिक सामग्री उपलब्ध गराइएको हो ।


लक्ष्मी माध्यमिक विद्यालय बाजुरालाई २२७ सेट न्यानो कपडा, एक सेट साउन्ड सिस्टम, एक सेट ड्रम तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । साथै कालीदेवी र वासुकी माध्यमिक विद्यालयसँग शैक्षिक सहकार्य गर्ने घोषणा गर्दै विद्यार्थीहरूको अतिरिक्त तथा सहपाठ्यक्रियाकलाप, शैक्षिक गुणस्तर अभिवृद्धि तथा खेलकुद विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ भने ५लाख रकमको चेक मार्फत हस्तान्तरण गरिएको थियो ।


कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री जनकराज गिरी, विद्यालयका संस्थापक अध्यक्ष तथा प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, विद्यालय निर्देशक मिना महर्जन, प्रधानाध्यापक नेहा के.सी.प्राइम कमर्सियल बैंकका प्रतिनिधि, सम्बन्धित विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी तथा बाजुरा र लंकुरीभञ्ज्याङबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


कार्यक्रममा गुणस्तरीय, समावेशी तथा रूपान्तरणकारी शिक्षामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने, विद्यालयहरूबीच सहकार्य, ज्ञान आदानप्रदान र साझेदारीको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।