काठमाडौँ/२ साउन – नेपालमा शिक्षा सुधारका विषयमा बहस हुँदा प्रायः विद्यालय शिक्षा, पाठ्यक्रम, परीक्षा प्रणाली, विद्यार्थीको सिकाइ उपलब्धि, प्रविधिमैत्री शिक्षण वा शिक्षकको क्षमता विकासका कार्यक्रमहरूलाई प्राथमिकताका साथ उठाइन्छ । तर उच्च शिक्षाको गुणस्तर निर्धारण गर्ने एउटा अत्यन्त महत्त्वपूर्ण पक्ष भने अझै पनि पर्याप्त रूपमा सार्वजनिक बहसको केन्द्रमा आउन सकेको छैन । त्यो पक्ष हो, विश्वविद्यालयका शिक्षक तथा शिक्षक प्रशिक्षकहरूको व्यावसायिक विकास । विद्यालयका शिक्षकहरूलाई दक्ष बनाउने, भावी शिक्षकहरूको ज्ञान, सीप, मूल्य र व्यावसायिक संस्कार निर्माण गर्ने जिम्मेवारी विश्वविद्यालयका शिक्षक तथा शिक्षक प्रशिक्षकको काँधमा हुन्छ । त्यसैले उनीहरूको व्यावसायिक विकास सुदृढ नभई नेपालको शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउने लक्ष्य हासिल गर्न सम्भव छैन ।
विश्वविद्यालयका शिक्षक तथा शिक्षक प्रशिक्षक केवल विषयवस्तु पढाउने व्यक्तिमात्र होइनन् । उनीहरू अनुसन्धानकर्ता, मार्गदर्शक, शैक्षिक नेतृत्वकर्ता, ज्ञान निर्माणकर्ता र भविष्यका शिक्षकका आदर्श पनि हुन् । उनीहरूको सोच, व्यवहार, अनुसन्धान संस्कृति र शिक्षण अभ्यासले भावी शिक्षकको पेशागत जीवनलाई गहिरो प्रभाव पार्छ । त्यसैले विश्वविद्यालयका शिक्षक तथा शिक्षक प्रशिक्षकको व्यावसायिक विकासमा गरिएको लगानी कुनै एक व्यक्तिमा गरिएको लगानी होइन, त्यो सम्पूर्ण शिक्षा प्रणालीको भविष्यमा गरिएको दीर्घकालीन लगानी हो ।
नेपालको सन्दर्भमा विशेषगरी सुदूरपश्चिम, कर्णाली तथा अन्य भौगोलिक रूपमा दुर्गम क्षेत्रमा कार्यरत विश्वविद्यालयका शिक्षक तथा शिक्षक प्रशिक्षकहरूले भोगिरहेका अनुभवहरूले एउटा गम्भीर यथार्थ उजागर गरेका छन्। सीमित स्रोतसाधन, कमजोर संस्थागत सहयोग, असमान अवसर, प्रविधिको सीमित पहुँच तथा भौगोलिक कठिनाइका बीच पनि उनीहरूले आफ्नो व्यावसायिक विकासलाई निरन्तरता दिएका छन् । उनीहरूको अनुभवले व्यावसायिक विकास कुनै एकपटक हुने घटना होइन, यो जीवनभर चलिरहने सिकाइ, आत्मचिन्तन, सहकार्य, अनुसन्धान र नवीनताको निरन्तर यात्रा हो भन्ने महत्त्वपूर्ण सन्देश दिएको छ ।
तालिमभन्दा ठूलो कुरा हो निरन्तर सिकाइको संस्कृति
नेपालमा व्यावसायिक विकासको चर्चा गर्दा अझै पनि धेरैजसो मानिसहरूको ध्यान तालिम, कार्यशाला, गोष्ठी वा प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रममा केन्द्रित हुन्छ । यस्ता कार्यक्रमहरू निश्चित रूपमा उपयोगी हुन्छन्, तर तिनले मात्र कुनै विश्वविद्यालयका शिक्षकलाई उत्कृष्ट बनाइहाल्दैनन् । वास्तविक व्यावसायिक विकास त्यतिबेला सुरु हुन्छ, जब शिक्षकले आफ्नै शिक्षण अभ्यासलाई निरन्तर समीक्षा गर्न थाल्छन्, आफ्ना कमजोरीहरू स्वीकार गर्छन्, नयाँ ज्ञान खोज्छन् र सिकेका कुरालाई व्यवहारमा रूपान्तरण गर्छन् ।
उत्कृष्ट विश्वविद्यालयका शिक्षक तथा शिक्षक प्रशिक्षकहरू प्रत्येक कक्षापछि आफूलाई प्रश्न गर्छन् । विद्यार्थीले किन राम्रोसँग सिकेनन् ? कुन शिक्षण विधि प्रभावकारी भयो ? कुन गतिविधिले अपेक्षित नतिजा दिएन ? अर्को पटक के सुधार गर्न सकिन्छ ? यस्ता आत्मचिन्तनका प्रक्रियाले शिक्षकलाई निरन्तर परिष्कृत बनाउँछन्। यसरी कक्षाकोठा नै उनीहरूको व्यावसायिक विकासको प्रयोगशाला बन्छ ।
पेशागत विकासको वास्तविक आधार जिज्ञासा, आत्मसमीक्षा र सिक्ने संस्कार हो। कुनै पनि शिक्षकले आफू सबै कुरा जानिसकेको छु भन्ने सोच बनाउनेबित्तिकै उसको पेशागत विकास रोकिन्छ। ज्ञान, अनुसन्धान, प्रविधि र शिक्षण पद्धति निरन्तर परिवर्तन भइरहेका वर्तमान समयमा विश्वविद्यालयका शिक्षक तथा शिक्षक प्रशिक्षकले पनि निरन्तर आफूलाई अद्यावधिक गरिरहनुपर्छ । यही संस्कारले विश्वविद्यालयलाई ज्ञान उत्पादन गर्ने जीवित संस्थामा रूपान्तरण गर्छ ।
विश्वविद्यालयका शिक्षक पनि आजीवन सिक्ने व्यक्ति हुन्
विश्वविद्यालयमा अध्यापन गर्ने व्यक्तिलाई समाजले प्रायः ज्ञानको स्रोतका रूपमा हेर्छ। तर वास्तविक अर्थमा उत्कृष्ट विश्वविद्यालयका शिक्षक भनेका जीवनभर सिकिरहने व्यक्ति हुन् । उनीहरू आफ्नो विषयको नयाँ अनुसन्धान पढ्छन्, अन्तर्राष्ट्रिय बहससँग जोडिन्छन्, नयाँ शिक्षण विधि प्रयोग गर्छन् र आफ्नै अभ्यासलाई प्रमाणका आधारमा सुधार गर्छन् ।
आज कृत्रिम बुद्धिमत्ता, डिजिटल शिक्षण, अनुसन्धान पद्धति, अन्तरविषयक अध्ययन, खुला शैक्षिक स्रोत तथा अन्तर्राष्ट्रिय सहकार्यका कारण ज्ञानको संसार तीव्र गतिमा परिवर्तन भइरहेको छ । यस्तो अवस्थामा विश्वविद्यालयका शिक्षक तथा शिक्षक प्रशिक्षकले आफूलाई समयानुकूल अद्यावधिक नगर्ने हो भने उनीहरूले तयार गर्ने भावी शिक्षक पनि बदलिँदो समयसँग प्रतिस्पर्धा गर्न सक्षम हुने छैनन् ।
त्यसैले व्यावसायिक विकासको अर्थ केवल नयाँ प्रमाणपत्र प्राप्त गर्नु होइन । यसको अर्थ नयाँ सोच विकास गर्नु, पुराना अभ्यासलाई पुनर्विचार गर्नु, अनुसन्धानलाई शिक्षणसँग जोड्नु, विद्यार्थीको सिकाइ अनुभवलाई केन्द्रमा राख्नु र आफ्नो पेशागत जिम्मेवारीलाई अझ व्यापक रूपमा बुझ्नु हो ।
व्यावसायिक स्वायत्तताः परिवर्तनको वास्तविक शक्ति
नेपालका धेरै विश्वविद्यालयका शिक्षक तथा शिक्षक प्रशिक्षकहरूले सीमित अवसरका बीच पनि आफ्नो व्यावसायिक विकासलाई निरन्तरता दिएका छन् । उनीहरूले आफ्नै पहलमा अनुसन्धान लेख अध्ययन गरेका छन्, अनलाइन वेबिनारमा सहभागी भएका छन्, सहकर्मीहरूसँग छलफल गरेका छन्, नयाँ शिक्षण सामग्री विकास गरेका छन् र आफ्नै कक्षामा नवीन प्रयोग गरेका छन्। यसले वास्तविक परिवर्तनको आधार शिक्षकको व्यावसायिक स्वायत्तता हो भन्ने कुरा प्रष्ट पारेको छ ।
व्यावसायिक स्वायत्तता भनेको शिक्षकले आफ्नो पेशागत विकासको जिम्मेवारी आफैँ लिन सक्ने क्षमता हो । यस्तो स्वायत्तताले शिक्षकलाई आदेशको प्रतीक्षा गर्ने कर्मचारी होइन, ज्ञान निर्माण गर्ने बौद्धिक व्यक्तित्वका रूपमा स्थापित गर्छ । यही स्वायत्तताले सीमित अवसरलाई पनि सिकाइको सम्भावनामा रूपान्तरण गर्न सक्छ ।
तर यसैसँग एउटा महत्त्वपूर्ण प्रश्न पनि जोडिएको छ। के सम्पूर्ण व्यावसायिक विकास शिक्षकको व्यक्तिगत इच्छाशक्तिमा मात्र निर्भर हुनुपर्छ ? यसको उत्तर स्पष्ट रूपमा ’हुँदैन’ भन्ने हो । शिक्षकको व्यक्तिगत प्रयास आवश्यक भए पनि संस्थागत सहयोग, नीतिगत प्रतिबद्धता र पर्याप्त स्रोतबिना दीर्घकालीन व्यावसायिक विकास सम्भव हुँदैन । यदि सबै जिम्मेवारी शिक्षकमै थोपारियो भने व्यावसायिक विकास अधिकार होइन, विशेषाधिकार बन्न पुग्छ ।
सुदूर क्षेत्रका विश्वविद्यालयका शिक्षक तथा शिक्षक प्रशिक्षकको मौन संघर्ष
नेपालका सबै विश्वविद्यालय समान अवसर भएका संस्थाहरू होइनन् । काठमाडौं उपत्यका वा केही विकसित शहरका विश्वविद्यालय र सुदूरपश्चिम तथा कर्णालीका विश्वविद्यालयबीच व्यावसायिक विकासका अवसरमा उल्लेखनीय असमानता देखिन्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आर्थिक स्रोतको अभाव, लामो यात्रा, प्रशासनिक जटिलता तथा अत्यधिक अध्यापन भारले धेरै विश्वविद्यालयका शिक्षक तथा शिक्षक प्रशिक्षकलाई व्यावसायिक अवसरबाट वञ्चित बनाएको छ ।
यस्ता कठिन परिस्थितिका बीच पनि धेरै शिक्षकले आफ्नै पहलमा अध्ययन समूह गठन गरेका छन् । विभागभित्र शैक्षिक छलफल गरेका छन् । अनुसन्धान लेख साझा गरेका छन्। अनलाइन स्रोत डाउनलोड गरेर अध्ययन गरेका छन् । स्थानीय स्तरमै ज्ञान आदानप्रदानका साना प्रयासहरू सुरु गरेका छन् । यस्ता गतिविधिहरूले उनीहरूको व्यावसायिक प्रतिबद्धता झल्काउँछन् ।
तर कुनै पनि राष्ट्रको शिक्षा प्रणाली आफ्ना शिक्षकको व्यक्तिगत त्यागमा मात्र टिक्न सक्दैन । राज्य र विश्वविद्यालयले समान अवसर उपलब्ध गराउनु आफ्नो दायित्व सम्झनुपर्छ । भौगोलिक दूरी कुनै पनि शिक्षकको व्यावसायिक विकासमा बाधा बन्नु हुँदैन ।
सहकार्यबाट निर्माण हुन्छ व्यावसायिक ज्ञान
व्यक्तिगत अध्ययन महत्त्वपूर्ण भए पनि उत्कृष्ट शिक्षक कहिल्यै एक्लै विकसित हुँदैनन् । ज्ञान संवादबाट विकसित हुन्छ । अनुभव साझा गर्दा नयाँ दृष्टिकोण जन्मिन्छ । आलोचनात्मक छलफलले नयाँ सम्भावना खोल्छ । यही कारण विश्वविद्यालयका शिक्षक तथा शिक्षक प्रशिक्षकबीचको सहकार्य व्यावसायिक विकासको आधारभूत पक्ष हो ।
धेरै शिक्षकहरूले आफ्ना सहकर्मीसँगको अनौपचारिक संवादबाट सबैभन्दा धेरै सिकेको अनुभव सुनाउँछन् । कक्षाको अनुभव साझा गर्ने, विद्यार्थीका चुनौतीबारे छलफल गर्ने, अनुसन्धानका विषयमा विचार आदानप्रदान गर्ने र नयाँ शिक्षण विधिको समीक्षा गर्ने जस्ता गतिविधिले दैनिक सिकाइलाई समृद्ध बनाउँछन् । यस्तो वातावरणमा ज्ञान केवल पुस्तकबाट प्राप्त हुँदैन, अनुभवबाट पनि निर्माण हुन्छ ।
दुर्भाग्यवश नेपालका धेरै विश्वविद्यालयमा यस्तो सहकार्य अझै व्यक्तिगत सम्बन्धमा निर्भर छ । कतै नियमित शैक्षिक छलफल हुन्छ भने कतै शिक्षकहरू आफ्नै कक्षामा सीमित रहन्छन् । विश्वविद्यालयहरूले नियमित अनुसन्धान संवाद, सहकर्मी अवलोकन, विभागीय अध्ययन समूह तथा व्यावसायिक सिकाइ समुदायलाई संस्थागत संस्कृतिका रूपमा विकास गर्न सके मात्र यस्तो सहकार्य दीर्घकालीन बन्न सक्छ ।
डिजिटल प्रविधिले खोलेको नयाँ क्षितिज
डिजिटल प्रविधिले उच्च शिक्षामा व्यावसायिक विकासका सम्भावनालाई नयाँ उचाइमा पु¥याएको छ । आज विश्वका प्रतिष्ठित विश्वविद्यालयका व्याख्यान, अन्तर्राष्ट्रिय सम्मेलन, अनुसन्धान सामग्री, खुला शैक्षिक स्रोत तथा विशेषज्ञसँगको संवाद इन्टरनेटमार्फत सजिलै उपलब्ध छन्। यसले नेपालका विश्वविद्यालयका शिक्षक तथा शिक्षक प्रशिक्षकलाई अन्तर्राष्ट्रिय ज्ञान समुदायसँग जोडिने अवसर दिएको छ ।
तर सम्भावना र पहुँच एउटै कुरा होइन। देशका धेरै दुर्गम क्षेत्रमा इन्टरनेटको गुणस्तर कमजोर छ। विद्युत् आपूर्ति नियमित छैन । डिजिटल पुस्तकालयको अभाव छ । अनुसन्धान डेटाबेसमा पहुँच सीमित छ । परिणामस्वरूप धेरै शिक्षकले उपलब्ध अवसरको पूर्ण उपयोग गर्न सकिरहेका छैनन् ।
डिजिटल प्रविधि प्रभावकारी बन्नका लागि केवल उपकरण पर्याप्त हुँदैन । गुणस्तरीय इन्टरनेट, डिजिटल सीप, संस्थागत सहयोग र खुला शैक्षिक स्रोतमा पहुँच पनि उत्तिकै आवश्यक हुन्छ । त्यसैले डिजिटल पूर्वाधारलाई अतिरिक्त सुविधा होइन, उच्च शिक्षाको आधारभूत आवश्यकता मान्नुपर्ने समय आएको छ ।
व्यावसायिक विकाससँगै बदलिन्छ शिक्षकको पहिचान
व्यावसायिक विकासको सबैभन्दा गहिरो प्रभाव शिक्षकको पहिचानमा देखिन्छ । सुरुमा धेरै विश्वविद्यालयका शिक्षकहरू आफ्नो भूमिका विषयवस्तु पढाउने व्यक्तिमा सीमित ठान्छन् । तर अनुभव, अनुसन्धान, सहकार्य र आत्मचिन्तनसँगै उनीहरूको दृष्टिकोण विस्तार हुन्छ। उनीहरूले आफूलाई केवल अध्यापक होइन, मार्गदर्शक, अनुसन्धानकर्ता, ज्ञान निर्माणकर्ता, शैक्षिक नेतृत्वकर्ता र भावी शिक्षक निर्माण गर्ने जिम्मेवार व्यक्तिका रूपमा बुझ्न थाल्छन् ।
यही परिवर्तनले शिक्षणलाई पेशा मात्र नभई सामाजिक उत्तरदायित्वमा रूपान्तरण गर्छ । विश्वविद्यालयका शिक्षक तथा शिक्षक प्रशिक्षकले आफ्नो व्यवहार, अनुसन्धान, नैतिकता र शिक्षण शैलीमार्फत भावी शिक्षकका लागि उदाहरण प्रस्तुत गरिरहेका हुन्छन् । त्यसैले उनीहरूको व्यावसायिक विकासले प्रत्यक्ष रूपमा विद्यालय शिक्षाको भविष्यलाई समेत प्रभावित गरिरहेको हुन्छ ।
व्यावसायिक पहिचान कुनै तालिमबाट निर्माण हुँदैन। यो निरन्तर अनुभव, आत्मचिन्तन, सहकार्य, अनुसन्धान र सामाजिक उत्तरदायित्वको बोधबाट क्रमशः विकसित हुने प्रक्रिया हो । विश्वविद्यालयहरूले यही प्रक्रिया सुदृढ बनाउन आवश्यक वातावरण सिर्जना गर्नुपर्छ ।
नीति र व्यवहारबीचको बढ्दो दूरी
नेपालका शिक्षा नीति तथा विश्वविद्यालयका दस्तावेजहरूमा व्यावसायिक विकासलाई उच्च प्राथमिकता दिइएको देखिन्छ । विश्वविद्यालय अनुदान आयोग, विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाले समयसमयमा क्षमता विकासका कार्यक्रम सञ्चालन पनि गरिरहेका छन् । तर व्यवहारमा यी कार्यक्रमहरू प्रायः अल्पकालीन, परियोजनामुखी र असमान पहुँच भएका देखिन्छन् ।
कतिपय शिक्षकले पटक–पटक अवसर प्राप्त गर्छन् भने धेरैले वर्षौंसम्म कुनै कार्यक्रमको अवसर नै पाउँदैनन् । यसले व्यावसायिक विकासलाई सबैका लागि समान अधिकार बनाउने उद्देश्यलाई कमजोर बनाएको छ। दीर्घकालीन सिकाइ प्रणाली निर्माण नगरी केवल छिटफुट तालिम सञ्चालन गरेर शिक्षा सुधार सम्भव हुँदैन ।
अब विश्वविद्यालयहरूले निरन्तर सिकाइलाई संस्थागत संस्कृतिका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ । नियमित अध्ययन, अनुसन्धान, सहकार्य र प्रतिबिम्बात्मक अभ्यासलाई शिक्षकको दैनिकीसँग जोड्न सकिए मात्र व्यावसायिक विकासले वास्तविक अर्थ प्राप्त गर्नेछ ।
अनुसन्धानलाई व्यावसायिक विकासको केन्द्रमा राख्नुपर्छ
विश्वविद्यालय अनुसन्धानबिना जीवित रहन सक्दैन। अनुसन्धानविहीन विश्वविद्यालय केवल परीक्षा सञ्चालन गर्ने संस्था बन्न पुग्छ । त्यसैले विश्वविद्यालयका शिक्षक तथा शिक्षक प्रशिक्षकको व्यावसायिक विकास अनुसन्धानसँग प्रत्यक्ष रूपमा जोडिएको हुनुपर्छ ।
नेपालका धेरै शिक्षक अनुसन्धान गर्न इच्छुक छन् । तर समयको अभाव, आर्थिक स्रोतको कमी, अनुसन्धान अनुदानको सीमितता, प्रकाशनका चुनौती तथा प्रशासनिक प्रक्रियाले उनीहरूको उत्साहलाई कमजोर बनाएको छ। यदि विश्वविद्यालयहरूले अनुसन्धानलाई संस्थागत प्राथमिकता दिएर साना अनुसन्धान अनुदान, अनुसन्धान लेखन कार्यशाला, अन्तरविश्वविद्यालयीय सहकार्य तथा प्रकाशन सहयोगको व्यवस्था गर्न सके भने शिक्षकहरूको व्यावसायिक विकासले नयाँ गति लिन सक्छ ।
अनुसन्धानले शिक्षकलाई केवल नयाँ ज्ञान उत्पादन गर्न सक्षम बनाउँदैन, आफ्नै शिक्षण अभ्यासलाई प्रमाणका आधारमा सुधार गर्ने क्षमता पनि विकास गर्छ । यही कारण अनुसन्धानलाई व्यावसायिक विकासको अभिन्न अङ्गका रूपमा स्वीकार गर्न आवश्यक छ ।
स्थानीय सन्दर्भलाई केन्द्रमा राख्नुपर्छ
विश्वका विकसित देशहरूमा सफल भएका व्यावसायिक विकासका मोडेलहरू नेपालका लागि प्रेरणादायी हुन सक्छन् । तर तिनलाई जस्ताको तस्तै अपनाउनु उचित हुँदैन । नेपालको भौगोलिक विविधता, सामाजिक संरचना, भाषिक बहुलता, आर्थिक अवस्था तथा संस्थागत वास्तविकता फरक छ । त्यसैले यहाँको व्यावसायिक विकास पनि स्थानीय आवश्यकताका आधारमा निर्माण हुनुपर्छ ।
सुदूरपश्चिममा कार्यरत विश्वविद्यालयका शिक्षक तथा शिक्षक प्रशिक्षकको आवश्यकता काठमाडौंका शिक्षकको भन्दा फरक हुन सक्छ । हिमाली क्षेत्रका चुनौती तराईका चुनौतीभन्दा भिन्न हुन सक्छन्। त्यसैले एउटै ढाँचाको कार्यक्रमले सबै ठाउँको आवश्यकता पूरा गर्न सक्दैन ।
स्थानीय स्रोत, स्थानीय अनुभव, स्थानीय अनुसन्धान र स्थानीय ज्ञानलाई सम्मान गर्ने व्यावसायिक विकास प्रणाली नै नेपालको वास्तविक आवश्यकताअनुसारको प्रणाली हुनेछ । यही दृष्टिकोणले मात्र समावेशी र दिगो शिक्षा सुधार सम्भव बनाउँछ ।
अब नीति परिवर्तनको समय
नेपालको उच्च शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउने हो भने विश्वविद्यालयका शिक्षक तथा शिक्षक प्रशिक्षकको व्यावसायिक विकासलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनु आवश्यक छ । यसको अर्थ केवल थप तालिम आयोजना गर्नु होइन, सिकाइलाई संस्थागत संस्कृतिमा रूपान्तरण गर्नु हो । प्रत्येक विश्वविद्यालयमा नियमित व्यावसायिक सिकाइ समुदाय, अनुसन्धान केन्द्रित वातावरण, सहकर्मी सहकार्य, डिजिटल पहुँच, अन्तर्राष्ट्रिय नेटवर्किङ र समान अवसरको सुनिश्चितता आवश्यक छ ।
सरकार, विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालय प्रशासन तथा शैक्षिक नेतृत्वले व्यावसायिक विकासलाई खर्च होइन, दीर्घकालीन लगानीका रूपमा बुझ्नुपर्छ । विशेषगरी दुर्गम क्षेत्रमा कार्यरत शिक्षकका लागि अतिरिक्त स्रोत, अनुसन्धान अनुदान, डिजिटल सुविधा र व्यावसायिक अवसर सुनिश्चित गरिनुपर्छ । साथै, शिक्षकको मूल्याङ्कन केवल सेवा अवधि वा तालिमको सङ्ख्याका आधारमा होइन, शिक्षण सुधार, अनुसन्धान, नवप्रवर्तन र समाजमा दिएको योगदानका आधारमा गरिनुपर्छ ।
नेपालको शिक्षा प्रणालीको भविष्य विद्यालयमा मात्र होइन, विश्वविद्यालयका कक्षाकोठामा पनि निर्माण भइरहेको छ। भावी शिक्षकलाई तयार गर्ने विश्वविद्यालयका शिक्षक तथा शिक्षक प्रशिक्षकको व्यावसायिक विकास सुदृढ नभएसम्म विद्यालय शिक्षामा अपेक्षित गुणात्मक परिवर्तन सम्भव हुँदैन । त्यसैले अब हाम्रो प्राथमिकता थप तालिम सञ्चालन गर्नु मात्र होइन, निरन्तर सिक्ने, अनुसन्धान गर्ने, सहकार्य गर्ने, आत्मचिन्तन गर्ने र नवप्रवर्तनलाई आत्मसात् गर्ने शैक्षिक संस्कृति निर्माण गर्नु हुनुपर्छ ।
विश्वविद्यालयका शिक्षक तथा शिक्षक प्रशिक्षकलाई परिवर्तनका संवाहक, ज्ञानका निर्माता र समाजका बौद्धिक नेतृत्वकर्ताका रूपमा स्थापित गर्ने वातावरण निर्माण गर्न सकियो भने मात्र नेपालको उच्च शिक्षा विश्वस्तरीय बन्नेछ । शिक्षा सुधारको वास्तविक सुरुवात त्यहीँबाट हुन्छ जहाँ शिक्षक तयार हुन्छन्। त्यसैले विश्वविद्यालयका शिक्षक तथा शिक्षक प्रशिक्षकको व्यावसायिक विकासलाई राष्ट्रिय विकासको केन्द्रमा राख्नु आजको सबैभन्दा ठूलो शैक्षिक आवश्यकता हो ।
(लेखक सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् ।)



