भानुजयन्तीको अवसरमा एपेक्स लाइफ स्कुलद्वारा पूर्व अर्थमन्त्रीलाई सम्मान

काठमाडौँ/२६ असार – एपेक्स लाइफ स्कुलमा उपत्यकाव्यापी अन्तर विद्यालय स्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । एपेक्स लाइफ स्कुल र भानु प्रतिष्ठानको संयुक्त आयोजनामा सो कार्यक्रम विद्यालयको प्राङ्गणमा आज सम्पन्न भएको हो ।


२१३औँ भानु जयन्तीको अवसरमा आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय स्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगितामा १५ वटा स्कुलको सहभागिता रहेको थियो । प्रतियोगितामा काठमाडौँ प्रज्ञाकुञ्ज स्कुलका छात्र सुवम श्रेष्ठ प्रथम स्थान, रिलायन्स इन्टरनेशनल एकेडेमी स्कुलकी छात्रा आल्यान खड्का द्वितीय स्थान, रिपुमर्दिनी स्कुलकी छात्रा चाँदनी कडरियाले तृतीय स्थान हासिल गरे भने डियर वाक स्कुलका छात्र आर्यन राईले सान्त्वना पुरस्कार प्राप्त गरे ।

छन्दोबद्ध कविता वाचन प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई प्रमाण पत्र तथा नगद पुरस्कार वितरण प्रदान गरिएको थियो । साथै निर्णायकको भूमिकामा भानु प्रतिष्ठानका महासचिव पुरु लम्साल, सन्ध्या पहाडी र मनोज भण्डारीले निर्वाह गरेका थिए ।
विद्यालय स्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगिता कार्यक्रममा प्रतिस्पर्धी विद्यार्थीहरूले विभिन्न छन्दमा कविता वाचन गरेर कार्यक्रमलाई थप रोचक बनाए ।


साहित्यकार तथा पूर्व अर्थमन्त्रीलाई सम्मान


२१३औँ भानु जयन्तीको अवसरमा यो वर्ष समाजसेवी, कवि तथा साहित्यमा विशिष्ट पहिचान बनाएका नेपाल सरकारका पूर्व सचिव एवम् पूर्व अर्थमन्त्री शंकार प्रसाद कोइराला (एसपी) लाई सम्मान गरिएको छ । उनि संविधान सभाको दोस्रो निर्वाचनको समयमा अर्थ मन्त्री समेत भएका थिए ।

कोइरालालाई विद्यालयका अध्यक्ष सुवास न्यौपाने, भानु प्रतिष्ठानका अध्यक्ष डिपी अर्याल र विशिष्ट साहित्यकार प्रा.डा.व्रतराज आचार्यले नगद पुरस्कार र सम्मानपत्र सहितको दोसल्ला ओढाएर सम्मान गरे ।


मन्तव्यको क्रममा सम्मानित व्यक्तित्व शंकार प्रसाद कोइरालाले एपेक्स लाइफ स्कुल जस्तो पवित्र सरस्वतीको मन्दीरमा सम्मानित हुने अवसर पाएकोमा आफू अत्यन्तै खुसी भएको विचार व्यक्त गरे ।


स्कुलमा संस्कृत भाषा पढाइ हुने गरेको बताउँदै २०२८ सालमा नयाँ शिक्षा ऐन आएपछि विद्यालयमा संस्कृत पढ्न नपाएकोमा पश्चताप हुने गरेको र संस्कृत भाषा भए साहित्यमा अझै सिक्न पाईने बताए । विद्यार्थीलाई हौसला प्रदान गर्दै कल्पना र सिर्जनाले जीवनमा अगाडी बढ्ने हौसला दिने भएकाले साहित्यमा लाग्न आग्रह गरे ।


विशिष्ट साहित्यकार प्रा.डा.व्रतराज आचार्यले नेपाली साहित्य र भाषामा आदिकवि भानुभक्त आचार्यले गरेको योगदानका बारेमा चर्चा गर्दै विद्यार्थीले अंग्रेजी, नेपाली, संस्कृत भाषामा पढेपनि नेपाली साहित्य र भाषालाई माया गर्नुपर्ने बताए । उनले भानुभक्तले संस्कृतमा पढेपनि नेपाली भाषामा रामायण लेखेको उदाहरण दिँदै आफू जीवन्त रहनका लागि केही न केही गर्नुपर्ने भन्दै विद्यार्थीलाई उत्प्रेरणा दिए ।


त्यसैगरी भानु प्रतिष्ठानका अध्यक्ष डिपी अर्यालले भानुभक्त आचार्यलाई एउटै कृति रामायणले विश्वकै धरोहर बन्न सफल बनाएको राम्रो काम गरे धेरै कृति नचाहिने उदाहरण दिँदै विद्यार्थीलाई जीवनभर असल कर्म गर्न प्रेरणा दिए । उनले १५६ वटा शालिक देश विदेशमा स्थापना भएको जानकारी दिँदै हरेक विद्यालयले एपेक्स स्कुलले झै भानुभक्तलाई स्मरण गरेर विद्यार्थीलाई साहित्य र भाषाका बारेमा सिकाउनु पर्नेमा जोड् दिए ।

भानुजयन्तीको अवसरमा रामायण नाटिका प्रस्तुत गर्दै एपेक्स लाइफ स्कुलका विद्यार्थी

कार्यक्रममा कवि तथा साहित्यकारहरू इन्दिरा दाहाल,सदाशय गौतम, सन्ध्या पहाडी, मनोज भण्डारी र पुरु लम्सालले रचना वाचन गरेर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।


हरेक वर्ष भनु जयन्तीका असरमा एपेक्स लाइफ स्कुल र भानु प्रतिष्ठानले नेपाली भाषा साहित्य क्षेत्रमा विशिष्ट योगदान गर्ने स्रष्टाहरूलाई सम्मान गर्दे आएको छ । साथै विद्यालयका शिक्षक चण्डिका भेटवालले कार्यकम सञ्चालन गरेकी थिइन ।