मास्टर्नी गीत प्रतिबन्ध नलगाए असहज परिणाम भोग्नुपर्ने शिक्षकहरुको चेतावनी

काठमाडौँ /१ साउन – दुर्गेश थापा र प्रियंका कार्कीको ‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन परेको छ ।


शुक्रबार तनहुँको ब्यास नगरपालिका– ११ को वाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराई निवेदन दिएका हुन् ।


निवेदनमा दुर्गेश थापाको मास्टर्नी नामक चलचित्रमा ‘ताराबाजी लैलै’ नामको गीतमा समग्र शिक्षक, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाप्रति नै अपमान हुनेगरी अमर्यादित र संस्कृति भड्काउने खालको शब्द प्रयोग गरिएको भन्दै आपत्ति जनाइएको छ । गितलाई तत्काल प्रतिबन्ध लगाउन उनको माग रहेको छ ।


यसैगरी नेपाली चलचित्र ’मास्टर्नी’ को प्रवर्धनात्मक (प्रोमोसनल) सामग्रीका रूपमा सार्वजनिक भएको गीतप्रति नेपाल शिक्षक महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको महासङ्घको भनाई छ ।


“उक्त गीतलाई तुरुन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न सम्बन्धित पक्षसँग आग्रह गर्दछौं । साथै त्यो गीतले निरन्तरता पाएमा त्यसबाट उत्पन्न हुनसक्ने असहज परिणामप्रति चलचित्र निर्माता र त्यससँग सम्बन्धित कलाकारहरू नै जिम्मेवार हुने कुराप्रति समेत सचेत गराउँछौं” ” विज्ञप्तिमा भनिएको छ ।


साथै मास्टर्नीको प्रवर्धनात्मक सामग्रीका रूपमा सार्वजनिक भएको गीतप्रति महिला शिक्षक समाजले पनि विरोध जनाएको छ । महिला शिक्षकहरू प्रति लक्षित अमर्यादित शब्द, ध्वन्यात्मक आवाज तथा गलत आशय प्रकट गरी छायाङ्कन गरिएको गीतले सम्पूर्ण शिक्षक वर्ग र शिक्षण पेशाको गौरव प्रतिनै आघात पु¥याएको भन्दै विरोध गरेको हो ।


गीतलाई बन्द गर्ने एवं विभिन्न सामाजिक सञ्जाल तथा मिडियामा गरिएको प्रचारप्रसारलाई हटाउनका साथै चलचित्रमा प्रयोग नगर्न अनुरोध गरिएको छ ।


“उक्त गीतले निरन्तरता पाएमा त्यसबाट उत्पन्न हुनसक्ने असहज परिणामको भागिदार चलचित्र निर्माता तथा त्यससँग सम्बन्धित कलाकार स्वयम् नै रहने छ, महिला शिक्षक समाज यस कार्य विरुद्ध कुनै पनि कदम चाल्न पछि पर्ने छैन भन्ने कुराप्रति सचेत गराउँदछौँ” विज्ञप्तिमा भनिएको छ ।