मोरङ/४ साउन – छात्राहरूलाई अश्लील म्यासेज पठाएको आरोपमा दुई शिक्षक र एक सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालय (मावि)मा अध्ययनरत छात्राहरुलाई अश्लील म्यासेज पठाएको आरोपमा तीन जना पक्राउ परेका हुन ।
विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार बिहान उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका वडा नं. १० बस्ने सवारी चालक ४० वर्षीय प्रदीप भट्टराई, सोही नगरपालिका वडा नं. २ बस्ने शिक्षकद्वय ३० वर्षीय किशोरलाल गच्छदार र वडा नं. १२ बस्ने ३५ वर्षीय अविरल मास्के रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार छात्राहरूलाई अश्लील म्यासेज पठाउने गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले भने एक विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान पश्चात् अन्य व्यक्तिहरूको समेत संलग्नता खुलेमा कानुनबमोजिम कारबाही हुने जनाएको छ ।




