काठमाडौँ /१६ बैशाख – सरकारसँग विगतमा भएका सहमतिसहित विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने भन्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा चैत २० गतेदेखि देशै भरका शिक्षकहरू सडक आन्दोलनमा छन् । आजसम्म आईसक्दा २८ दिनदेखि शिक्षकहरूले निरन्तर सडकमा प्रदर्शन गरिरहेको अवस्था छ । एकातिर विद्यार्थी भर्ना रोकिएको छ, उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा रोकिएको छ भने अर्को तिर सरकारले विद्यालय शिक्षा ऐन ल्याउने कुनै दरिलो आधार तय नगर्दा आन्दोलन रोकिएको छैन । तथापि शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबिच सहमतिका लागि र शिक्षकका माग पुरा गर्ने सन्दर्भमा छलफल भईरहेको छ । नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्री रघुजी पन्तबिच हिजो राती अबेरसम्म छलफल भएको थियो । शिक्षा मन्त्रालयले छलफल सकारात्मक भएको भनेपनि नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले निष्कर्षमा पुग्न नसकिएको जानकारी दिए । उनले आज पनि आन्दोलन निरन्तर रहेको बताए ।
यसै सन्दर्भमा महासङ्घको तर्फबाट वार्तामा सहभागी हुनु भएकी, नेपाल शिक्षक महासङ्घको सहअध्यक्ष तथा शिक्षक आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीसँग खबर एजुकेशनले गरेको संवाद :
सरकारसँग भएको हजुरहरूको हिजोको वार्ता कहाँ पुगेर टुङ्गियो ?
टुङ्गिएको छैन । त्यो क्याबिनेटले हल गर्नुपर्ने भनेर हामीले नौँ वटा बुँदा लगेका थियौँ ।
अस्ति जुन बाहिर आएको बुँदा छ, त्यही नौ वटा बुँदा हो ?
नौ वटा बुँदा लगेका थियौँ । अब त्यसमा पनि उहाँहरूले यो सकिँदैन, यो बजेटले भ्याउँदैन यस्तै यस्तै कुरा गर्नुभयो । यस्तै कुरा गर्नुभएपछि अब हामीले सबै साथीहरूसँग बसेर आन्तरिक सल्लाह गरेर लगेका बुँदा हुन् । हिजो डिसीजन नभए पछि हामीले आन्तरिक सल्लाह गर्नुपर्छ भनेर हामी उठेका छौँ ।
आज अहिले फेरि आठ बजे मन्त्रालयसँग हजुरहरूको छलफल हो ?
हैन । आठ बजे हाम्रो मिटिङ हो । आन्तरिक मिटिङ हो ।
मन्त्रालयले अब टुङ्गो कसरी लगाउनु पर्छ भन्ने हजुरहरूको तयारी हो ?
यस्तो यस्तो टुङ्गो भन्दा पनि हामीले पहिले देखिनै मन्त्री विद्या भट्टराई हुँदा देखिनै क्याबिनेटले हल गरिदिने कुरा हल गरिदिनुस् भनेका थियौँ । पास गर्ने जुन मुद्दा छ, त्यो क्याबिनेटले निसर्त पास गरिदिने कुरा हामीले पहिले देखि राख्दै आएको हो । हिजो पनि के भयो भने क्याबिनेटले हल गर्ने कुरा उहाँहरूले गर्नु भएन । अनि त्यसपछि विद्यालय शिक्षा ऐन जारी गर्ने डेडलाइन सहित आउनु पर्छ भनेका थियौँ । उपसमितिले पनि करिब करिब टुङ्ग्याउन लागेको भन्ने छ । अब १८ गते उहाँहरूले बुझाउने जस्तो कुरा पनि बुझिन्छ । अनि उपसमितिले टुंग्याइदिने, त्यसपछि संसदमा टेबुल हुने र संसदबाट पास हुने । डेडलाइन सहित हुनुपर्छ भनेका छौँ ।
यदी सम्भावना छैन भने सभामुखको रोबरमा पार्टीका प्रमुख सचेतक र विषयगत समितिको सभापति बसेर हामीलाई विश्वासिलो आधार चाहिन्छ भनेका छौँ । मन्त्रालयको तर्फबाट एउटा त्यो आउन पर्यो । अर्को क्याबिनेटले पास गरिदिनु पर्यो । त्यसपछि नेपाल शिक्षक महासङ्घको तर्फबाट पनि यो विश्वासिलो आधार भइसकेपछि बल्ल आन्दोलनको मोडालिटी कसरी जाने ? अब अहिलेको सडक आन्दोलनलाई कसरी लाने ? कुन मोडेलमा जाने भन्ने बारे छलफल गर्छौ भन्ने कुरा छ ।
त्यसो भएर उपसमितिमा हामीसँग भएका सहमतिका कुराहरू के कति छलफलबाट टुङ्गिने त्यो पनि हामीले पाउनुपर्यो । त्यस पछि त्यो टुङ्गिसकेका कुरा र टुङ्गिन बाँकी कुरा के के हुन्छ हेर्छौ र बाँकी कुरालाई पनि टुङ्ग्याउनु पर्छ भन्नेमा हामी छौँ । त्यसैले उपसमितिबाट टुङ्गिएर समितिमा जानुपर्यो । अनि ऐन जारी हुने हामीलाई डेडलाइन सहितको एउटा प्रतिबद्धता पनि पाउनुपर्यो । त्यो भइसकेपछि बल्ल सँगै बसेर प्रेस मिट गरौँला भन्ने कुरा पनि राखेका छौँ । ती सबै कुरा एकैचोटि हुनुपर्छ भन्ने कुरा हामीले राखेका छौँ ।
हजुरहरूले त्यो नौ वटा बुँदा जुन बुझाउनु भाको छ नि, त्यो त फेरि हजुरहरूले सार्वजनिक गर्नु भको छैन ?
हामीले लगेका नौ वटा बुँदा मध्ये पनि के भइराखेको छ भने, त्यो सबै हामीले लगेका बुँदामा मन्त्रालयले स्वीकार गरेको अवस्था छैन । बजेट छैन, यो छैन, त्यो छैन भनेर भनिरहनु भको छ । त्यसो भएर त्यो स्वीकार नै नभइसके पछाडी सहमति हुने कुरा त कसरी हुने भो ?
मन्त्रालयले हजुरले भने अनुसार बुँदा स्वीकार नगर्ने मन्त्रालयले फेरि वार्ता सकारात्मक छ भन्ने, अब हामी टुङ्ग्याउँछौँ भन्ने खालको हिसाबले गर्दा खेरि त्यो नजिक पुग्या हो त ?
उहाँहरूले जे कुरा भन्नुभयो हामीले पनि नेपाल शिक्षक महासङ्घले विस्तारित कार्यलय मिटिङ बसेर नौँ वटा बुँदा तयारी गरेका हौँ ? अब हामी फेरि अलिअलि समस्या आइसकेपछि फेरि हाम्रा आन्तरिक मिटिङबाट, आन्तरिक मिटिङमा जानकारी गराएर मन्त्रालयबाट यी कुरा यस्ता कुरा आए । अब हामी कसरी जाने भनेर हामी आन्तरिक मिटिङबाट डिसीजन नगरिकन यहाँ डिसीजन दिन सक्दैनौँ भन्यौँ ।
भनिसकेपछि आज हजुरको आन्तरिक मिटिङ बसिसकेपछि फेरि मन्त्रालयसँग छलफलमा बस्नुहुन्छ ?
हामी आन्तरिक मिटिङ बसेर अब हाम्रो आजको आन्दोलनको कार्यक्रम पछाडी हामी ३ः३० बजेसम्म मन्त्रालयलाई हाम्रो तर्फको कुरा जानकारी गराउँछौँ भन्ने छ ।