विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालनमा

काठमाडौँ /३ साउन – त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा ‘स्मार्ट क्लासरुम’ तथा विद्यार्थी वैज्ञानिक अनुसन्धान सीप विकास कार्यशाला सुरु गरिएको छ । एसियाली विकास बैंक (एडिबी) र हुवावे नेपालले विद्यालयको सहकार्यमा उक्त कार्यक्रम सुरु गरेका हुन् ।


शिक्षामा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै गुणस्तरीय शिक्षा सबै विद्यार्थीसम्म पु¥याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । उक्त विद्यालयलाई आधार बनाएर सुरु गरिएको यो पहलले नेपालभर स्मार्ट शिक्षाको अवधारणालाई विस्तार गर्ने नमुना परियोजनाका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।


कार्यक्रमअन्तर्गत काठमाडौँ उपत्यका बाहिरका विद्यालयलाई विश्व निकेतनसँग डिजिटल माध्यमबाट जोडिनेछ । यसबाट विद्यार्थी र शिक्षकले प्रत्यक्ष वैज्ञानिक अनुसन्धानसम्बन्धी कक्षा, अन्तरक्रियात्मक सिकाइ तथा वास्तविक समयमै ज्ञान आदानप्रदान गर्न सक्नेछन् ।
हुवावेको ‘स्मार्ट क्लासरुम’मार्फत दुर्गम क्षेत्रका विद्यार्थीले गुणस्तरीय विज्ञान शिक्षा, डिजिटल सिकाइ सामग्री तथा सहकार्यात्मक गतिविधिमा सहभागी हुने अवसर पाउने जनाइएको छ । साथै, विभिन्न विद्यालयका शिक्षकबीच शिक्षण अनुभव आदानप्रदान, उत्कृष्ट अभ्यास साझेदारी र संयुक्त रूपमा कक्षा सञ्चालन गर्न सकिने जनाइएको छ ।


हुवावे नेपालको ‘स्मार्ट एजुकेसन’ अवधारणाले सहरी–ग्रामीण शैक्षिक अन्तर घटाउने, शिक्षकलाई डिजिटल प्रविधिमार्फत सशक्त बनाउने तथा तथ्याङ्कमा आधारित सिकाइ प्रणाली विकास गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।


एडिबीका वरिष्ठ शिक्षा विशेषज्ञ जेफ्री जियान सुले नवप्रवर्तन, सहकार्य र डिजिटल प्रविधिको उपयोगमार्फत सबै विद्यार्थीका लागि समावेशी, उत्थानशील र भविष्यउन्मुख शिक्षा प्रणाली निर्माण गर्न एडिबी प्रतिबद्ध रहेको बताए ।


हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चेस्टर चेनले विद्यार्थीको भविष्य उनीहरू बस्ने स्थानले होइन, उनीहरूले प्राप्त गर्ने अवसरले निर्धारण गर्ने बताए । प्रविधिमार्फत नेपालभरका कक्षाकोठा जोडेर विद्यार्थी र शिक्षकबीच सहकार्य तथा ज्ञान आदानप्रदानको वातावरण निर्माण गर्न खोजिएको उनको भनाइ थियो । रासस