काठमाडौं/३ माघ-कोभिड-१९ ले विश्वविद्यलायको वार्षिक तालिकामा पारेको प्रभाव र त्यसको समाधान कसरी गर्न सकिएला । स्वदेशी विश्वविद्यालयमा भन्दा विदेशी विश्वविद्यलायमा विद्यार्थीको आकर्षण बढीरहेको अवस्थामा विश्वविद्यलायहरुको अबको बाटो कस्तो हुनुपर्छ । पाठ्यक्रम परिमार्जन सँगै विद्यार्थीको मागलाई कसरी समावेस गर्न सकिन्छ । साथै पोखरा विश्वविद्यलायका बारेमा उपकुलपति प्रा.डा. प्रेमनाराण अर्यालसँग खबर एजुकेसनले गरेको संवाद :

उपकुलपतिमा नियुक्ति भएर पोखरा विश्वविद्यालय गएपछि के के काम गर्नु भयो ?
लगभग १३ महिना विश्वविद्यालय पदाधिकारी विहिन जस्तै रह्यो । त्यस पछि म गएको अवस्था हो । म गएपछि मैले केहि नयाँ कामहरुको सुरुवात गरेको छु । पहिलो कुरा विश्वविद्यालयमा डी प्लस काण्ड चर्केको थियो । यसले विद्यार्थी अन्योलमा रहेको र आन्दोलन गरिरहेको अवस्था थियो । त्यसलाई मैले सल्टाए । दोस्रो कोभिड महामारीका कारण लकडाउन भएपछि अनलाइन कक्षा सुरु भएको थियो । तर त्यो कुनै वैधानिक थिएन । म गएपछि निर्देशिका तयार गरेर त्यसलाई वैधानिकता बनायौं । यतिमात्रै होइन आठौँ सेमेस्टरको परीक्षा अनलाइन मार्फत सञ्चालन गरियो । पछि सबै परीक्षाहरु भर्चुअल नै सञ्चालन गर्न सफल भयौं । तेस्रो एकै ठाउँमा रहेका चारवटा संकायलाई नयाँ ठाउँमा सार्ने भनेर हामीले त्यसको परीयोजना अगाडी बढाएका छौँ । चौथो विश्वविद्यालयको स्नातक तहमा उद्यमशिलता शिक्षाको रुपमा आन्टरपेनरसिप डेभलपमेन्ट कोर्स निर्माण गरेका छौं । जसमा नेपाल सरकारको उद्योग मन्त्रालय देखि लिएर उद्योग वाणिज्य संघ, नेविल बैंक र अन्य बैंकहरुको सहयोगमा व्यावहारीक कोर्ष बनायौं जुन पोखरा विश्वविद्यालयमा मात्रै छ ।
परीक्षा सञ्चालन र नतिजा प्रकाशन सामयमै गर्नका लागि पोखरा विश्वविद्यलायले कसरी काम गरिरहेको छ ?
हामीले शैक्षिक क्यालेण्डर बनाएर सबै कलेजलाई वितरण पनि गरिसकेको अवस्था हो । कोभिड-१९ का कारण पोखरा विश्वविद्यालयमा पनि पठनपाठनमा र परीक्षा सञ्चालनमा अलिकति ढिला भएकै हो । हामीले शैक्षिक क्यालेण्डर बनाएर कम्तिमा एकाद वर्षभित्रमा ढिला भएको समयलाई क्षतिपूर्ति गर्ने गरी त्यसलाई अगाडी तान्दै तान्दै मिलाउने योजनामा काम गरिरहेका छौँ ।
विदेशी विश्वविद्यालयमा विद्यार्थीको आर्कषण बढीरहेको अवस्थामा स्वदेशी विश्वविद्यालय प्रति आकर्षण बढाउन कस्ता खालका योजना बनाउन आवश्यक छ ?
मेरो विचारमा नेपालभित्रका विश्वविद्यालयले कलेजहरुलाई कोटा तोकेर यति विद्यार्थी भर्ना गर् भनेर दिन्छौ र त्यो भन्दा बढी विद्यार्थी भर्ना गर्न पाइदैन भन्छौं । तर विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर जस्ले नेपालमा कलेज सञ्चालन गर्नुभएको छ उहाँहरुको लागि एउटा कुनै कार्यक्रम दिए पछि सकेजति विद्यार्थी भर्ना गर्ने नितिप्रति नेपाल सरकारले ख्याल गर्नुपर्छ । यस्तो गर्न मिल्दैन ।
अर्काे हाम्रा विश्वविद्यालयमा पनि गुणात्मक शिक्षाका लागि काहाँ के कारणले शिक्षाको गुणस्तर खस्केको छ त्यो हेर्न जरुरी छ । दशौं वर्षसम्म पाठ्यक्रम परिवर्तन नगर्ने समस्यलाई परिवर्तन गरेर नयाँ विषय वस्तु, नयाँ अनुसन्धानबाट आएको नतिजा लगायतलाई समावेश गरेर पाठ्यक्रम परिमार्जन गर्दे जानु पर्छ । बजारले कस्तो जनशक्ति खोजेको छ , विश्वमा कस्ता कोर्सको माग धेरै छ जस्ता कुरालाई ध्यान दिनु पर्छ ।
पोखरा विश्वविद्यालयले यो सवालमा पाठ्यक्रमलाई परिमार्जन गर्दे योजना बद्ध रुपमा लैजाने तयारीमा रहेको छ । त्यसैगरी विश्वविद्यालयले सम्बन्धन दिएका कलेज, आंगिक कलेज र संयुक्त आंगिक कलेजमा पठनपाठन कसरी भैराखेको छ ? गुणस्तरीय शिक्षाको अवस्था के छ ? भनेर अनुगमन गर्ने काम पनि सुरु गरेका छौँ ।
पाठ्यक्रम परिमार्जनका कुरा गर्नु भो , पोखरा विश्वविद्यालयको के के परिमार्जन गर्दे हुनुहन्छ ? नयाँ कुन कुन पाठ्यक्रम बन्दै छन् ?
हामीले फ्याकल्टी नभएपनि विषयगत रुपमा कानून संकायको कार्यक्रम र शिक्षा संकायको कार्यक्रमलाई ल्याउँदै छौं । त्यसलाई अत्यान्तै व्यावहारीक बनाएर विद्यालयलाई आवश्यक जनशक्ति उत्पादनका लागि छोटो समयको तालिम र डिग्री स्तरको कार्यक्रम दुबै चलाउने योजनामा छौं । अर्को कलेजहरु विच फ्याकल्टि एक्स्चेन्ज गर्ने योजनामा छौँ । किनभने सबै कलेजमा सबै सिनियर प्रोफेसर नहुन सक्छन् र राम्रो शिक्षक जाहाँ जाहाँ छन् त्यसको रोस्टर बनाएर कुनै कलेजलाई चाहिएको खण्डमा राम्रो शिक्षक गएर त्याहाँको शिक्षकहरुलाई तालिम दिन सक्छन् ।
त्यसैगरी सहकार्य गरेर अनुसन्धानको कार्यक्रमलाई पनि विश्वविद्यालयले प्राथमिकताका साथ काम गर्ने छ । विश्वविद्यालयसँग भएका ६६ वटै कलेजहरुमा रिसर्च सेल अनिवार्य राख्नु पर्ने व्यावस्था गरिएको छ । कलेजहरुलाई अनुसन्धानका लागि बजेट छुट्टयाउनुस, अनुसन्धान गर्नुस् र त्यसलाई सबैतिर सेयर गर्ने परम्पराको सुरुवात गर्नुहोस् भनेर भनेका छौँ ।
पोखरा विश्वविद्यालयको उपकुलपति हुँदै गर्दा याहाँको कार्यकालमा विश्वविद्यालयको स्तर कहाँ पाउने छौँ ? के के योजना छन् ?
हाम्रो विश्वविद्यालय जनसहभागितामा सञ्चालित विश्वविद्यालय हो । त्यसकारण पनि अब विश्वविद्यलायमा विद्यार्थी संख्या बढाउनु पर्छ । हामीले गुणस्तरीय शिक्षा दिन सकेनौ भने विद्यार्थी बढ्दैनन् । जब हामीले गुणस्तरीय शिक्षा दिन थाल्छाँै अनिमात्र विद्यार्थीको संख्या बढ्नेछ । यसले नेपालमा भएका अन्य विश्वविद्यालयहरु पनि प्रतिस्पर्धामा आउने वातावरण सिर्जना गर्छ जुन अत्यान्तै राम्रो हो ।
हामीले अनुसन्धानका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर पठनपाठन गर्छौ । गुणस्तरीय शिक्षा दिनका लागि एउटा शिक्षकले अनुसन्धान गरेर मात्र पठनपाठन गर्नुपर्ने हुन्छ । यो सँगै विभिन्न वेदेशी विश्वविद्यालयमा गएर स्थापित भएका राम्रा नेपाली प्रोफेसरहरु सँगपनि अनलाइनबाट हुन्छ वा अरु कुनै माध्यमबाट हुन्छ सहकार्य गरेर त्यसलाई अगाडी बढाउने प्रक्रियामा छौं ।
यसको अर्थ एकातिर हामीसँग भएको जनशक्तिलाई तालिम दिन्छौ । साथैमा हाम्रो पाठ्यक्रमलाई सुधार गर्छौ र विदेशी विश्वविद्यालयमा भएका नेपाली वा विदेशी प्रोफेसरहरुलाई बोलाएर हाम्रो पठनपाठनमा सुधार गर्ने प्रयास गरीराखेका छौं ।
सम्बन्धनका लागि आवेदन दिएका कलेजहरुलाई सम्बन्धन दिने योजनामा हुनुहन्छ की हुनुहुन्न् ?
जुन कलेजले पठनपाठनका लागि तयारी गरेको छ, विश्वविद्यालयले तोकेको न्युनतम आधारहरु पुरा गरेको छ, जुन ठाउँमा कलेजहरु छैनन् र कलेजको माग छ, जुन क्षेत्रमा त्यो विषयको पठनपाठन कम भएको छ भने नयाँ कलेजलाई सम्बन्धन दिन्छौं । तर नयाँ कलेजलाई सम्बन्धन दिनु भन्दा पहिला भएका कलेजहरुले नयाँ विषय थप्न सक्छन् की सक्दैनन् , नयाँ विषय थप्न उनिहरुसँग जनशक्ति छ की छैन , त्यसै अनुरुप पूर्वाधार तयारी अवस्था कस्तो छ त्यो पनि हेर्छौ । सम्बन्धनका लागि सबै कुरामा तयारी छ र त्यस क्षेत्रमा कलेजको माग र आवश्यकता छ भने हामी त्यस्ता कलेजलाई सम्बन्धन दिन्छौ ।
नेपालमा पढ्ने मौका नपाएका कारणले जाहाँबाट विद्यार्थी विदेश अध्ययनका लागि गईराखेका छन् त्यस्तो ठाउँमा सम्बन्धन दिन्छौ । अर्को कुरा विदेश अध्ययनमा जाने विद्यार्थीलाई रोक्ने आधार पनि हो । पहिला उनिहरुको क्षेत्रमा कलेज हुनु पर्छ, अनि हाम्रो कोर्सहरु अपडेट हुनु पर्छ । विद्यार्थीले के मागेका छन्, कस्ता कोर्स पढ्न चाहेका छन् त्यो अनुसारको हुनुपर्छ ।
अन्तमा के भन्न चाहानु हुन्छ ?
अन्तमा के भन्न चाहान्छु भने अब पोखरा विश्वविद्यालय देखि नेपालभित्रका सबै विश्वविद्यलायहरुले गुणात्मक शिक्षाको अभिवृद्धि गर्नुपर्छ । विभिन्न आयोगहरुले विश्वविद्यालयको अटोनोमिमा अनावश्यक रुपमा हस्तक्षेप हुने नियम कानून्हरु छन् त्यसलाई संशोधन गरिनुपर्छ । जनताले लगानि गरेर खोलेका कलेजहरुमा गुणस्तरीय शिक्षको ग्यारेन्टि हुनुपर्छ । विदेशमा पलायन हुने विद्यार्थीहरु छन् तिनिहरुका लागि नयाँ नयाँ व्यावहारीक कोर्सहरु ल्याउन र विश्वमा चर्चित भएका कोर्सको पठनपनठन गराएर अगाडि बढ्न सम्पुर्ण विश्वविद्यालयहरुलाई अनुरोध गर्दछु । यति भयो भने कलेजमा विद्यार्थीको संख्या पनि बढ्छ गुणस्तरीय शिक्षा पनि हुन्छ ।



