काठमाडौं /३ माघ-सरकारले विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर तालिम वा अन्य प्रकारका क्रियाकलाप माघ १५ गते सम्म बन्द गर्न निर्देशन दिएको छ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसँगै कोभिड -१९ संक्रमण तथा रोकथामका लागि नयाँ आदेश २०७८ जारी गर्दै बन्द गर्न निर्देशन दिएको हो ।
आइतबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड-१९ संक्रमण तथा रोकथामका लागि ३६ बुँदे नयाँ आदेश २०७८ जारी गरेको जानकारी गराउँदै विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ १५ गतेसम्म भौतिक रूपमा उपस्थितिमा सञ्चालन नगर्न निर्देशन दिइएको हो । त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाई सञ्चालन गर्ने भनिएको छ ।
त्यसैगरी विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन आदेश जारी गरेको छ ।




