तथ्यहीन आरोप र व्यक्तिगत लाञ्छनाविरुद्ध प्याब्सनको कडा चेतावनी

काठमाडौं /३ मंसिर – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिले सामाजिक सञ्जालमार्फत संस्थागत विद्यालय, विद्यालय सञ्चालक तथा प्याब्सनलाई लक्षित गरी भइरहेका तथ्यहीन, अपमानजनक र मर्यादाविहीन अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।


प्याब्सनले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा आलोचना र असहमति लोकतन्त्रको स्वाभाविक अभ्यास भए पनि अपुष्ट आरोप, व्यक्तिगत लाञ्छना र संस्थागत मानमर्दनलाई अभिव्यक्ति स्वतन्त्रताको नाममा उचित ठहर गर्न नसकिने स्पष्ट पारेको छ ।


नेपालको शिक्षा विकास, गुणस्तरीय शिक्षाको विस्तार, रोजगारी सिर्जना तथा दक्ष जनशक्ति उत्पादनमा संस्थागत विद्यालयहरूले दशकौँदेखि महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्दै प्याब्सनले केही व्यक्तिगत घटनाका आधारमा समग्र निजी शिक्षा क्षेत्रको योगदानलाई अवमूल्यन नगर्न समेत आग्रह गरेको छ ।


साथै शिक्षक तथा कर्मचारीको पारिश्रमिक, सेवासुविधा, पेशागत अधिकार, सामाजिक सुरक्षा, शैक्षिक गुणस्तर र संस्थागत सुशासनका विषयमा विद्यालय सञ्चालकहरू थप जिम्मेवार, पारदर्शी र जवाफदेही हुनुपर्ने प्याब्सनले जनाएको छ । जायज गुनासाको निष्पक्ष सम्बोधन र आवश्यक सुधार संस्थाको साझा दायित्व भएको विज्ञप्तिमा उल्लेख छ ।


सुधारका विषयलाई तथ्य र प्रमाणका आधारमा सम्बन्धित नियामक निकाय तथा संस्थागत प्रक्रियामार्फत उठाउनुपर्नेमा सार्वजनिक अपमान र आरोप–प्रत्यारोपको माध्यम बनाउनु समस्या समाधानको उचित बाटो नभएको प्याब्सनको भनाइ छ ।


शिक्षा क्षेत्रमा सार्वजनिक प्रभाव राख्ने व्यक्तिहरूले अभिव्यक्ति दिँदा तथ्य, विवेक र व्यावसायिक मर्यादा कायम गर्नुपर्नेमा जोड दिँदै प्याब्सनले तथ्यहीन आरोप तथा संस्थाको प्रतिष्ठामा आँच पु¥याउने गतिविधि निरन्तर भए कानुनी उपचार अवलम्बन गर्ने चेतावनी समेत दिएको छ ।


प्याब्सनले निजी विद्यालयको योगदानको सम्मान, विद्यालय सञ्चालकको जवाफदेहिता, शिक्षक तथा कर्मचारीको पेशागत न्याय र गुणस्तरीय शिक्षा एकअर्काका विरोधी नभई परिपूरक विषय भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।


प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र महासचिव आरबी कटवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षा क्षेत्रको गरिमा, विश्वसनीयता र सम्मान कायम राख्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न भनिएको छ ।