पोखरा/५ मंसिर – पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २२औँ दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ ।
विश्वविद्यालयले स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट प्राप्त गरेका विद्यार्थीहरूलाई दीक्षान्त समारोहमा सहभागी हुन अनलाइनमार्फत आवेदन दिन आग्रह गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचनामा आवेदन मङ्सिर ५ गतेदेखि पुस ५ गतेसम्म दिन सकिनेछ । उक्त अवधिभित्र विद्यार्थीहरूले आफूलाई अनुकूल समयमा अनलाइन फाराम भर्न सक्नेछन् ।
यसैगरी दीक्षान्त समारोहमा सहभागी हुन २०८२ साल माघ २४ गतेपछि ट्रान्सक्रिप्ट जारी भएका विद्यार्थीहरू मात्र योग्य हुनेछन् । साथै, २०८३ साल मङ्सिर २९ गतेसम्म ट्रान्सक्रिप्ट प्राप्त गरिसकेको वा ट्रान्सक्रिप्टका लागि आवेदन गरिसकेको हुनुपर्नेछ ।
आवेदन दिने क्रममा विद्यार्थीहरूले आफ्नो नाम नेपाली र अङ्ग्रेजी दुवै भाषामा नागरिकताअनुसार उल्लेख गर्नुपर्नेछ । फाराम भर्दा पासपोर्ट साइजको फोटो, नागरिकताको प्रमाणपत्र र ट्रान्सक्रिप्टको रङ्गीन प्रतिलिपि अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ ।
दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीले दीक्षान्त प्रमाणपत्र शुल्क पाँच हजार रुपैयाँ र दीक्षान्त पोशाक धरौटीबापत दुई हजार पाँच सय रुपैयाँ गरी जम्मा सात हजार पाँच सय रुपैयाँ अनलाइन माध्यमबाटै बुझाउनुपर्नेछ । धरौटी रकममध्ये तीन सय रुपैयाँ पोशाक मर्मत शुल्कबापत कट्टा गरिने कार्यालयले जनाएको छ ।
धरौटी रकम फिर्ता लिन विद्यार्थीले आफ्नै नामको बैंक खाताको विवरण स्पष्ट रूपमा उपलब्ध गराउनुपर्नेछ । खातावालाको नाम, खाता नम्बर र बैंकको नाम बैंकको विवरणसँग मिल्ने गरी उल्लेख गरेको हुनुपर्ने छ ।
दीक्षान्त समारोह आयोजना हुने मिति, समय र स्थान तथा दीक्षान्त पोशाक वितरण र फिर्तासम्बन्धी थप सूचना पछि विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिने जनाइएको छ । अनलाइन फाराम विश्वविद्यालयको exam. pu.edu.np मार्फत भर्न भर्न सक्नेछन् ।



