टोस्टमास्टर्स फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं/२८ बैशाख – डी.ए.भी. टोस्टमास्टर्स क्लब र टोखा टोस्ट मास्टर्स क्लबले संयुक्त रूपमा २७ बैशाखमा टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न भएको छ । डीएभी कलेजको फुटसल ग्राउन्डमा प्रतियोगिता सम्पन्न भएको हो ।


लुगाज क्लोथिङ, स्किल स्क्वायर, ट्रिप हिमालयन टूर्स एन्ड ट्राभल्स, लहाना लन्चबक्स, र श्री तारा फुड्सको सहकार्यमा डीएभी स्पोट्र्स एन्ड इभेन्ट क्लब र डीएभी मिडिया एन्ड प्रमोशन क्लबको समर्थनमा आयोजना गरिएको प्रतियोगितामा नेपाल भरिका विभिन्न टोस्टमास्टर्स क्लबहरूबाट आठ टिमहरूको सहभागिता रहेको थियो ।


दिनभर चलेको प्रतिस्पर्धी खेलहरूले उत्कृष्ट फुटबल कौशल देखाएसंगै टोस्ट मास्टर्स समुदायको आत्मीयता, नेतृत्वमूल्य र सहकार्यको भावना झल्काएको आयोजकले जनाएको छ ।


जवालाखेल ओरेटर्स टोस्टमास्टर्स क्लबको टिम रुस्लानले अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भयो । अग्नि टोस्टमास्टर्स क्लबको टिम अग्नि स्कर्पियनले उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भयो ।


दुबै फाइनलिष्ट टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने भने उत्कृष्ट व्यक्तिगत प्रदर्शन कर्ताहरूलाई लुगाजक्लोथिङ र ट्रिप हिमालयन टूर्स एन्ड ट्राभल्स द्वारा विशेष ट्रफी तथा उपहार सहित सम्मानित गरियो । टिम रुस्लानका पृथम श्रेष्ठ “मोस्ट भ्यालुएबल पुरुष प्लेयर” घोषित भए भने, उनकी टिममेट ओजश्वी तिमिल्सिना“मोस्ट भ्यालुएबल महिला प्लेयर” बन्न सफल भइन् । त्यस्तै दत्ता पनेरुलाई उत्कृष्ट गोलकिपिङ्ग प्रदर्शनका लागि “बेस्ट गोल किपर” को उपाधि दिइयो । टिम काठमाडौं नाइट्सका नवदिप खत्रीले उत्कृष्ट आक्रामक प्रदर्शन गर्दै “सर्वाधिक गोलकर्ता” को उपाधि जिते ।


पुरस्कार वितरण समारोहमा डीएभी कलेजका समन्वय माधव अधिकारी, डिभिजन बी डाइरेक्टर निराजन श्रेष्ठ, तथा स्किल स्क्वायरका प्रबन्ध निर्देशक निराज प्रधानको विशिष्ट उपस्थिति रहेको थियो । उनिहरूले उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्र, र उपहार प्रदान गर्दै मेहनत र प्रतिभालाई सम्मानित गरिएको बताए ।


प्रतियोगिता केवल प्रतिस्पर्धात्मक कार्यक्रम मात्र नभएर मित्रता, टिमवर्क र नेपालमा बिस्तारै फस्टाइरहेको टोस्टमास्टर्स अभियानको उत्सव पनि बन्यो । सहभागी र दर्शकहरूको अत्यन्त सकारात्मक प्रतिक्रिया सहित, टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ले नयाँ मापदण्ड स्थापना गरेको र आगामी वर्षहरूमा पनि बहुप्रतीक्षित वार्षिक परम्पराको रूपमा स्थापित हुने अपेक्षा गरिएको आयोजकको भनाई छ ।