जाभियर एकेडेमीद्धारा जेनिसा लिनलाई पाँच लाख पूर्ण छात्रवृत्ति प्रदान

ललितपुर/७ मंसिर – जाभियर एकेडेमीले कक्षा ११ विज्ञान संकायमा अध्ययनरत छात्रा जेनिसा लिनलाई पाँच लाख रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । प्रतिभा तथा शैक्षिक योग्यताका आधारमा प्रदान गर्दै आएको ‘गल्र्स स्कलरसिप’ अन्तर्गत लिनलाई उक्त छात्रवृत्ति प्रदान गरेको हो ।


छात्रवृत्तिले कक्षा ११ र १२ दुवै तहको पूर्ण शिक्षण शुल्कसहित आवश्यक शैक्षिक खर्च समेट्नेछ । करिब पाँच लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गरेसँगै लिनलाई आगामी दुई वर्षको अध्ययन पूरा गर्न आर्थिक सहयोग पुग्ने जाभियर एकेडेमीले जनाएको छ ।


मंसिर ५ गते ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा आयोजित विशेष समारोहमा छात्रवृत्ति घोषणा तथा प्रदान गरिएको थियो ।


नेपालका आगामी पाँच वर्षका प्रमुख वातावरणीय चुनौती सम्बोधन गर्न आवश्यक कदमबारे केन्द्रित उक्त कार्यक्रममा संरक्षणकर्मी, प्राध्यापक, शिक्षाविद् तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।


कार्यक्रममा प्रा. डा. प्रमोदबहादुर श्रेष्ठले उद्घाटन मन्तव्य राखेका थिए भने प्रमुख अतिथि माननीय दाशो पाल्जोर जिग्मे दोर्जीले मूल मन्तव्य दिएका थिए । त्यसपछि रोबर्ट जे. डोबियासको सहजीकरणमा वातावरण तथा संरक्षणका प्राथमिकताबारे अन्तरक्रियात्मक प्यानल छलफल सञ्चालन गरिएको थियो ।


कार्यक्रमकै अवसरमा जाभियर एकेडेमीले यस वर्षको चौथो जाभियर एकेडेमी संरक्षण पुरस्कार २०२६ पनि राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरिनरी प्राविधिक किरणराज रिजाललाई प्रदान गरेको छ । वन्यजन्तुको स्वास्थ्य संरक्षण, रोग निगरानी तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा पु¥याएको योगदानको कदर गर्दै उनलाई एक लाख रुपैयाँ नगदसहित उक्त पुरस्कार प्रदान गरिएको हो ।


यसैगरी, समारोहमा जाभियर एकेडेमीले ‘फस्र्ट जाभियर एकेडेमी कन्जर्भेसन क्रोनिकल–वाकिङ टुगेदरः बब एन्ड जाङ्स इन्स्पायरिङ जर्नी विथ जाभियर एकेडेमी’ नामक पुस्तकसमेत सार्वजनिक गरेको थियो । संरक्षण पुरस्कारका सहयोगी बब र जाङ डोबियासलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।


कार्यक्रमको सञ्चालन जाभियर एकेडेमी तथा काठमाडौं डन बोस्को कलेजकी प्रिन्सिपल/निर्देशक रश्मि शर्मा मैनालीले गरेकी थिइन् । प्रा. डा. श्रीराम भगुत माथेले समापन मन्तव्यसहित कार्यक्रमको अन्त्य गरेका थिए ।


जाभियर एकेडेमीले प्रदान गरेको यस छात्रवृत्तिले छात्राको उच्च माध्यमिक तहको शिक्षामा पहुँच विस्तार गर्नुका साथै योग्य विद्यार्थीलाई आर्थिक सहयोगमार्फत प्रोत्साहन गर्ने उद्देश्यलाई थप बल पु¥याएको जनाइएको छ ।