विद्यालय शिक्षा विधेयक : उपसमितिले छलफल गरेका विषयको प्रतिवेदन लेखन कार्य सकियो

काठमाडौं/२८ बैशाख – विद्यालय शिक्षा विधेयक सम्बन्धी उपसमितिले छलफल गरेका विषयको प्रतिवेदन लेखन कार्य सकिएको छ । छलफल गरेर पहिलो चरणको निष्कर्ष सहितको प्रतिवेदन लेखनको कार्य सकिएको हो ।


आज बसेको उपसमितिको बैठकमा सचिवालयले तयार गरेको प्रतिवेदनलाई ब्रीफिङ गरिएको सचिवालयले जनाएको छ । अब त्यो प्रतिवेदन माथि भोलिदेखि उपसमितिमा छलफल गरिने छ ।


उपसमितिले भोलिदेखि सचिवालयले तयार पारेको प्रतिवेदन माथि निरन्तर छलफल गर्ने र १० दिन थपिएको समय अगाडी नै प्रतिवेदन समितिमा लैजाने तयारी गर्नुका साथै त्यसै अनुसार काम भई रहेको सचिवालयको भनाई छ । उक्त प्रतिवेदन उपसमितिले समितिलाई बुझाएपछि समितिले त्यसमा फेरि छलफल गरेर अगाडि बढ्ने छ ।


‘आजको उपसमितिको बैठकमा सचिवालयले तयार गरेको प्रतिवेदनलाई ब्रीफिङ गरियो । अब त्यो प्रतिवेदन माथि भोलिदेखि उपसमितिमा छलफल हुन्छ । कति समय जान्छ भन्ने भन्दा पनि १० दिन थपिएको समय अगाडी नै प्रतिवेदन समितिमा लैजाने भनेर काम भई रहेको छ । दुई गते अन्तिम दिन हो । त्यसपछि समितिलाई बुझाइन्छ, समितिमा जान्छ अनि समितिले त्यसमा फेरि छलफल गरेर अगाडि बढ्ने कुरा रहेको छ’ सचिवालयले भन्यो ।


विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको समय सकिएपछि बैशाख २३ गते शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले १० दिनका लागि समय थप गरेको थियो । उपसमितिको थपिएको समय जेठ २ गते सकिँदै छ ।