वार्तामा बस्दैनौँ, ऐन वा अध्यादेश नलीकन शिक्षकको यो जमात स्कुल फर्किदैन

काठमाडौं/२२ चैत – नेपाल शिक्षक महासङ्घको नेतृत्वमा दोस्रो चरणको आन्दोलन अन्तर्गत शिक्षकहरू चैत २० गतेदेखि काठमाडौँ केन्द्रीत सडक आन्दोलनमा छन् । विगतमा गरिएको सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने शिक्षकहरूको माग रहेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गरेर छलफलमा आउन आग्रह गरिसकेको अवस्था छ । त्यसैगरी कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आजै सरकार पक्षका सरोकारवालाहरूसँग छलफल गरेका छन् । एक दुई दिनमा निकास निकाल्ने सरकारको भनाई छ । कस्तो अवस्थामा नेपाल शिक्षक महासङ्घले सरकारसँग छलफल वा वार्ता गर्छ अथवा वार्ता नै गर्दैन र आगामी दिनमा शिक्षक आन्दोलन कसरी अगाडी बढ्छ भन्ने सन्दर्भमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसँग खबर एजुकेशनले गरेको संवाद ।


कस्तो अवस्थामा सरकारसँग छलफल गर्नु हुन्छ वा गर्नु हुन्न ?


शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट वार्तामा आउन आह्वान गरेको सार्वजनिक पत्र हामीले पनि अपिल विज्ञप्ति थाहा पायौँ, हामीले पढ्यौँ । तर हामी अहिले नयाँ चौथो सम्झौता बनाउनका लागि आन्दोलनमा छैनौँ । हामी ती मान्छेहरूसँग कुरा गर्छौँ जसले हामीलाई ऐन दिन्छौँ, चाहे नियमित प्रक्रियाबाट अथवा अध्यादेशबाट ऐन दिन्छौँ भन्ने जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्छ । पहिले हामीले ऐन खोजेका हौँ । के विषयमा के कुरा गर्नु पर्छ भनेर हाम्रो पहिले नै तीनवटा सहमतिमा भइसकेका छ । त्यसैले हामीलाई चौथो सहमति चाहिएको छैन र अहिले परिस्थिति हेर्दा खेरि त्यसरी गरिने वार्ताले कुनै समाधान दिन्छ भन्नेमा हामीलाई विश्वास छैन । त्यसैले हामी वार्तामा गएका छैनौँ र यस्तै प्रकृतिको वार्तामा हामी जाँदैनौँ ।


यहाँहरू हिजो देखि सडक आन्दोलनमा हुनुहुन्छ ? आन्दोलनलाई कसरी समीक्षा गर्नुभएको छ ? साथै कार्यवाहक प्रधानमन्त्रीले पनि सरोकारवालाहरूसँग छलफल राखिरहनु भएको अवस्था छ । उहाँहरूले प्रतिबद्धता जाहेर गरेर यहाँहरूसँग छलफल गर्ने अथवा सम्झौता गर्ने अवस्था देखियो भने वार्तामा जानुहुन्छ ?


हैन प्रतिबद्धतामा हामी पत्याएरै गर्दैनौँ । हामीलाई त उहाँले के देखाउनुपर्छ भने उपसमितिले यति काम गर्यो, हामी यो यो काम गरेर यो प्रक्रिया यति भयो, समितिले सक्यो, हामी पार्लियामेन्टमा दर्ता गर्ने अवस्थामा पुग्यौँ भनियो भने र त्यो ढंगको विकास क्रम उहाँहरूले देखाउन सक्नु पर्छ । त्यसपछि हामी बस्छौँ, छलफल गर्छौँ एउटा पाटो भयो, तर हामीले पहिले घोषणा गरिसकेका छौँ । ऐन वा अध्यादेश नलीकन यो शिक्षकको जमात स्कुल फर्किदैन ।


अध्यादेशबाट लिएर आउँछौँ भनेर जारी गरियो भने यहाँहरूको आन्दोलन स्थगित हुन्छ ?


त्यो हैन, हुँदैन, अहिले हाताहातीमा हुन्छ । विश्वासमा, शब्दमा, वक्तव्यमा, विज्ञप्तिमा हुँदैन, अहिले हाताहातीमा मात्रै हुन्छ ।


सरकारले हामी अध्यादेशबाट भएपनि ऐन लिएर आउँछौँ भन्यो भने यहाँहरू वार्तामा बस्नुहुन्छ तर आन्दोलन जारी रहन्छ ?


आन्दोलन जारी रहन्छ । सरकारले हामीलाई सम्बोधन गर्ने विषयवस्तु राखेर, हामीसँग भएका सहमतिहरू समावेश गरेर, अध्यादेश जानुभयो भने वार्तामा बस्नु जरुरी नै छैन सडकबाटै धन्यवाद दिएर हामी घर जान्छौँ वार्ता जरुरी छैन ।


शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर वार्तामा आउनुहोस् यसलाई सकारात्मक तरिकाले अगाडि बढौँ भन्दै विज्ञप्ति जारी गरेको छ । यहाँहरू शिक्षा मन्त्रीसँग वार्तामा बस्नुहुन्छ कि बस्नुहुन्न ?


वार्ता जरुरी नै छैन । हामीले जे कुरा खोजीरहेका छौँ त्यो कुरा मन्त्रालयको समाधानको क्षमता मन्त्रालय भित्र छैन । त्यो मन्त्रालयसँग मात्रै जोडिएको छैन, त्यसैले जे कुरा हामीले खोजेको हो त्यो फल दिन सक्दैन । त्यहाँ वार्तामा बस्नु भनेको दुवै पक्षको समय नष्ट गर्नु हो । हामी त्यो पक्षमा छैनौँ ।


हिजो र आज ठूलो सङ्ख्यामा शिक्षकहरू सडकमा आइरहनु भएको छ । त्यो सँगसँगै जोडेर आएको अभिव्यक्ति के छ भने प्रधानमन्त्रीले पनि केही दिन पहिला शिक्षकहरूलाई टार्गेट गरेर एउटा अभिव्यक्ति दिनुभएको थियो र संसदको शिक्षा समितिको सभापतिले पनि शिक्षकहरूलाई अमर्यादित शब्द प्रयोग गर्नुभयो भन्ने खालको यहाँहरूको भनाई थियो । अब आन्दोलनको समीक्षा र उहाँहरूले दिएको अभिव्यक्ति प्रति धारणा के छ ?


ती दुवै अभिव्यक्तिलाई विरोध गर्दै भत्र्सना गर्दै हामीले विज्ञप्ति निकालिसकेका छौँ । हामीले अमर्यादित अभिव्यक्ति राख्नु भएको छ, त्यसको हामी विरोध गर्दछौँ र आइन्दा यस्ता अभिव्यक्ति नराख्न भनेर हामीले विज्ञप्ति जारी गरिसकेका छौँ ।


आन्दोलनको समीक्षा कसरी गरिराख्नु भएको छ ?


हाम्रो आन्दोलनमा हिजो भन्दा आज सहभागिता बढी छ । अब आन्दोलनलाई अझ व्यवस्थित गर्दै यसलाई हामी अगाडि ल्याइरहेका छौँ । एकदमै मर्यादित ढंगबाट हामी अगाडि जान्छौँ । अमर्यादित खालका अभिव्यक्तिहरू, अमर्यादित खालका व्यवहारहरू, त्यहाँ बोट विरुवाहरू नष्ट हुने, फोहोर गर्ने त्यस्तो केही पनि हुन दिँदैनौँ । एकदमै शिष्ट ढंगले वास्तवमा आन्दोलन कस्तो हुन्छ भनेर एउटा मानक बनाऔँ भन्ने ढंगबाट पनि हामी आन्दोलन सञ्चालन गरिराखेका छौँ ।

हेर्नुहोस भिडियोमा