काबा प्रधानमन्त्री, शिक्षामन्त्री, गृहमन्त्रीले डेढ घण्टा पर्खिदा पनि शिक्षक वार्तामा गएनन्

काठमाडौं/२२ चैत – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आज आन्दोलनरत शिक्षकहरूसँग वार्ता गर्नका लागि बोलाए पनि शिक्षकहरू नआएपछि डेढ घण्टा पर्खिएर बैठक स्थगित गरिएको छ । सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, गृहमन्त्री रमेश लेखक र पार्टीका प्रमुख सचेतकहरू बैठकमा उपस्थित थिए ।


यस अघि धेरै पटक छलफल र सहमति भईसकेकोले बर्तामा बस्नुको कुनै औचित्य नरहेको र शिक्षा ऐन जारी गर्ने अवस्थामा मात्रै वार्तामा बस्ने भन्दै सरकारले बोलाएको छलफलमा नगएको नेपाल शिक्षक महासङ्घले जनाएको छ ।


बैठकबाटै शिक्षा मन्त्री विद्या भट्टराई पटक पटक फोन र म्यासेज गरे पनि शिक्षकहरूले बेवास्ता गरेको सचिवालयले जनाएको छ । शिक्षकहरूसँग बस्न सरकार लचिलो भएको तर उहाँहरू आज बस्ने भनिएको वर्तामा नआएको सचिवालयले जनाएको छ ।


स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौँ केन्द्रीत सडक आन्दोनमा छन् ।