कार्यक्रम तथा कोटा थप गर्न चाहने कलेजले अन्य विश्वविद्यालयको सम्बन्धन नरहेको प्रमाणित गर्नुपर्ने

काठमाडौं/८ मंसिर – त्रिभुवन विश्वविद्यालयले कार्यक्रम थप, विषय थप, सेक्सन थप तथा कोटा थपका लागि न्यूनतम मापदण्ड पूरा गरी सूचीकृत भएका सम्बन्धनप्राप्त क्याम्पस तथा कलेजहरूलाई आधिकारिक स्वघोषणापत्र पेस गर्न निर्देशन दिएको छ ।


त्रिवि योजना निर्देशनालयले जारी गरेको सूचनामा सम्बन्धित क्याम्पस तथा कलेजहरूलाई आधिकारिक स्वघोषणापत्र पेस गर्न निर्देशन दिएको हो ।


त्रिवि कार्यकारी परिषद्को गत कात्तिक २१ गतेको निर्णयअनुसार सम्बन्धित क्याम्पस तथा कलेजले आफ्नो व्यवस्थापनअन्तर्गत एउटै परिसरमा त्रिभुवन विश्वविद्यालयबाहेक अन्य कुनै स्वदेशी वा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी शैक्षिक कार्यक्रम सञ्चालन नगरेको व्यहोराको स्वघोषणापत्र पेस गर्नुपर्नेछ ।


स्वघोषणापत्रमा उल्लेख गरिएका विवरण सत्य तथा यथार्थ रहेको र झुटो वा गलत विवरण पेस गरेको अथवा त्रिविको प्रचलित नियमविपरीत शैक्षिक कार्यक्रम सञ्चालन गरेको प्रमाणित भएमा नियमअनुसार हुने कारबाही भोग्न मञ्जुर रहेको प्रतिबद्धतासमेत उल्लेख गर्नुपर्ने सूचनामा जनाइएको छ ।


त्यसैगरी, स्वघोषणापत्र सम्बन्धित क्याम्पस वा कलेजको आधिकारिक लेटरहेडमा तयार गरी क्याम्पस प्रमुखको हस्ताक्षर र संस्थाको छापसहित प्रमाणित गर्नुपर्नेछ । प्रमाणित स्वघोषणापत्रको स्क्यान गरिएको प्रति मङ्सिर १५ गतेभित्र अनिवार्य रूपमा पठाउन त्रिविले आग्रह गरेको छ ।


त्रिविले सम्बन्धन सम्बन्धी विनियम, २०७३ (संशोधनसहित) को परिच्छेद–१३ मा भएको व्यवस्थालाई स्मरण गराउँदै त्रिभुवन विश्वविद्यालयबाहेक अन्य कुनै विश्वविद्यालय, परीक्षा बोर्ड वा परिषद्बाट सम्बन्धन प्राप्त गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाइने समेत स्पष्ट पारेको छ ।