काठमाडौँ /२६ साउन – शिक्षक सेवा आयोगले असार २२ गते लिएको प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा साउन १४ गते सार्वजनिक गरेको थियो । नतिजामा सफल सफल भएका उम्मेदवारहरूको विषयगत लिखित परीक्षा भदौँ २९ गते सञ्चालन गर्न सूचना जारी गरिसकेको छ । साथै अन्य तहका परीक्षाहरू सञ्चालनका लागि पनि वार्षिक कार्यतालिका अनुसार सञ्चालन गरेको छ । यसै सन्दर्भमा शिक्षक सेवा आयोगबाट खुला प्रतियोगितात्मक लिखित परीक्षामा नाम निस्किएपछि विषयगत परीक्षामा सोध्न सक्ने विषयगत प्रश्नहरू र तिनका उत्तर कसरी दिने भन्ने बारे पाठ्यक्रम विकास केन्द्रका खिलानाथ धमलासँग खबर एजुकेशनले गरेको संवाद :-
विषयगत प्रश्न भन्नाले के बुझिन्छ ?
विषयगत प्रश्न भन्नाले कुनै विशेष विषय वा क्षेत्रसँग सम्बन्धित प्रश्नलाई बुझिन्छ । यस्ता प्रश्नहरूले एक विशिष्ट क्षेत्र, विचार, समस्या वा सन्दर्भबारे विस्तृत जानकारी लिने किसिमका प्रश्नहरूलाई जनाउँछ । विषयगत परीक्षामा विद्यार्थीको विषयसँग सम्बन्धित ज्ञानको क्षमताको मापन गरिन्छ । यस अन्तर्गत निबन्धात्मक प्रश्न र छोटो उत्तरात्मक प्रश्न सोधेर परीक्षा लिइन्छ ।
विषयगत प्रश्नले कस्ता उत्तरहरूको अपेक्षा गरेको हुन्छ ?
विषयगत प्रश्नहरूले सामान्यतया कुनै विशेष विषय वा सन्दर्भसँग सम्बन्धित जानकारी, व्याख्या वा विवरण खोजेका हुन्छन् । यी प्रश्नहरूले गहिरो ज्ञान, विशेष विवरण, सिर्जनात्मकता, विश्लेषणात्मक वा विचारशील उत्तरहरू चाहन्छन् । यसमा विद्यार्थीको विषयप्रतिको ज्ञान, विषयको अभिव्यक्ति, मौलिकता, विश्लेषण क्षमता, आलोचना आदिको मूल्याङ्कन गर्न उद्देश्यले बनाइएका प्रश्नहरू पर्दछन् ।
विषयगत प्रश्नहरूको उत्तर दिँदा कस्ता कुराहरूमा ख्याल गर्नु पर्छ ?
विशेष गरेर विषयगत प्रश्नको उत्तरदिँदा परीक्षार्थीले निम्न कुरामा ध्यान दिनु सकियो भने सफल हुन सकिन्छ ।
(क) प्रश्नको स्पष्टता र उद्देश्य बुझ्ने : प्रश्न कुन सन्दर्भमा सोधिएको हो र त्यसको उद्देश्य के हो भनेर राम्रोसँग बुझ्नु पर्छ ।
(ख) स्रोतको प्रमाणिकता : उत्तरमा प्रयोग गरिने विषयवस्तु विश्वसनीय स्रोतबाट आएको छ भन्ने कुरा सुनिश्चित हुनुपर्छ ।
स्रोतहरू उल्लेख गर्न सकिन्छ भने उल्लेख गर्नु पर्छ ।
(ग) व्यवहारिकता र सान्दर्भिकता : उत्तर व्यावहारिक र सोधिएको प्रश्नसँग सान्दर्भिक हुनु पर्छ । अनावश्यक जानकारी र व्याख्या जति सकिन्छ कम गर्नु पर्छ ।
(घ) भाषा र शैली : उत्तर सरल, स्पष्ट र सजिलै बुझिने भाषामा दिनुपर्छ । जटिल शब्दावली र लामो वाक्य संरचना बनाउनु हुँदैन ।
(ङ) तथ्य र तथ्याङ्क तथ्यपरक उत्तर दिँदा यथार्थ तथ्य र तथ्याङ्कहरूको प्रयोग गर्नु पर्छ ।
(च) सम्पूर्णता : महत्वपूर्ण जानकारी सहित प्रश्नको जवाफ पूर्ण दिनुपर्छ ।
(छ) संवेदनशीलता : यदि प्रश्न संवेदनशील विषयसँग सम्बन्धित छ भने उत्तर दिने क्रममा संवेदनशीलताको ख्याल गर्नुपर्छ ।
(ज) जाँचकको दृष्टिकोण : के का लागि प्रश्न सोधिएको भन्ने कुरा बुझेर उत्तर दिनुपर्छ ।
यी कुरामा ध्यान दिइयो भने विषयगत प्रश्नहरूको उत्तर दिने क्रममा स्पष्ट, सटीक र उपयोगी उत्तर दिन सकिन्छ ।
विषयगत प्रश्नको उत्तर दिँदा कस्तो संरचना अपनाउनु पर्छ ?
संरचना त आफ्नै किसिमका हुन सक्छन् । तर मेरो विचारमा विषयगत प्रश्नको उत्तर दिने संरचना विभिन्न छन् । जस्तै :
(क) परिचय : विषयको संक्षिप्त परिचय र प्रश्नको प्रसङ्ग स्पष्ट पार्ने
(ख) मुख्य कुराहरू : प्रश्नसँग सम्बन्धित प्रमुख विषयवस्तु र बुँदाहरू प्रस्तुत गर्ने प्रश्नले गरेको अपेक्षा अनुसार प्रत्येक बुँदालाई छुट्टाछुट्टै अनुच्छेदमा स्पष्ट पार्ने । यसमा उदाहरणहरू, तथ्यांक वा प्रमाणहरू प्रयोग गर्न सकिन्छ ।
(ग) तर्क : बुँदाहरूको विस्तृत व्याख्या गर्दा आफ्ना तर्कलाई समर्थन गर्न प्रमाणहरू प्रयोग गर्न सकिन्छ ।
(घ) निष्कर्ष उत्तरको सारांश प्रस्तुत गर्न, प्रश्नको जवाफलाई पुनः पुष्टि गर्न वा आगामी सोचाइ वा सुझाव दिन सकिन्छ ।
विषयगत प्रश्नमा जाँचकले कस्तो उत्तरको अपेक्षा गरेको हुन्छ ?
प्रश्नको उत्तर स्पष्टता र सटीकता, विषयको गहिराइ, तथ्य र प्रमाण, तार्किक संरचना, सरल भाषा र शुद्ध व्याकरण, सम्बन्धित सन्दर्भ र विषयवस्तु अनुसार विभिन्न पक्षको समीक्षाको अपेक्षा गरेको हुन्छ ।