प्रिमियरले वर्ल्ड  स्कलर्स कप २०२६ मा रच्यो इतिहास

काठमाडौँ /२९ माघ – प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले वर्ल्ड  स्कलर्स कप २०२६ काठमाडौँ क्षेत्रीय प्रतियोगितामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यस प्रतियोगितामा प्रिमियरले एकै पटक सबैभन्दा ठूलो व्यक्तिगत पुरस्कार ज्याक खोर पुरस्कार, समग्र च्याम्पियन टोलीको उपाधि, र ७०० भन्दा बढी पदक तथा १८ ट्रफी जित्दै सबैको ध्यान तानेको छ ।


प्रिमियरकी छात्रा श्रुति श्रेष्ठले ज्याक खोर पुरस्कार जित्दै इतिहास रचेकी छिन् । यो उनको लगातार चौथो ज्याक खोर पुरस्कार हो । यसअघि उनले काठमाडौँ क्षेत्रीय राउन्ड २०२५, बैंकक ग्लोबल राउन्ड २०२५ र याले विश्वविद्यालय युएसएमा भएको टुर्नामेन्ट अफ च्याम्पियन २०२५ मा पनि यही पुरस्कार जितेकी थिइन् । एउटै विद्यार्थीले लगातार चार पटक यस्तो उच्च सम्मान जित्नु वर्ल्ड स्कलर्स कपको इतिहासमै विशेष उपलब्धि मानिन्छ ।


प्रिमियरले समग्र च्याम्पियन टोलीकोे उपाधि पनि आफ्नै विद्यार्थीहरूको टोलीमार्फत जित्न सफल भयो । रिसित मैनाली, दृश्य रत्न शाक्य र नृप्शा कार्कीको टोली प्रतियोगिताको सबैभन्दा उच्च स्कोर गर्ने टिम बन्यो । रिशितले ९ गोल्ड, ९ सिल्भर पदक र ४ ट्रफी जिते भने, दृश्यले ८ गोल्ड र ८ सिल्भर पदक प्राप्त गरे । नृप्शाले १२ गोल्ड, ३ सिल्भर पदक र १ ट्रफी जित्दै टोलीको सफलतामा ठूलो योगदान दिए ।


प्रिमियरको प्रभुत्व यतिमै सीमित रहेन । अर्को एक टोली, ज्याक खोर पुरस्कार विजेता श्रुति श्रेष्ठको नेतृत्वमा आरव कृष्ण श्रेष्ठ र रैय्या कोइरालासहित, २२ गोल्ड, १२ सिल्भर पदक र ५ ट्रफी जित्न सफल भयो । त्यस्तै, तेन्जिङ दावोए लामा, हृद्दिमा अग्रवाल र आरजल अधिकारीको टोलीले १७ गोल्ड, ६ सिल्भर पदक र ३ ट्रफी जित्दै उत्कृष्ट प्रदर्शन ग¥यो । सम्पूर्ण प्रतियोगितामा प्रिमियरका विद्यार्थीहरूले जितेका ३ सय १३ गोल्ड पदक, ३८७ सिल्भर पदक र १८ ट्रफी काठमाडौँ क्षेत्रीय प्रतियोगिताको इतिहासमै सबैभन्दा बलियो प्रदर्शनमध्ये एक मानिन्छ । शीर्ष व्यक्तिगत पुरस्कार र शीर्ष टोली दुवै प्रिमियरले जित्नुले विद्यालयको शैक्षिक उत्कृष्टता स्पष्ट देखाएको छ ।


सन् २०१९ मा नेपालमा पहिलो पटक वर्ल्ड स्कलर्स कप भित्र्याउने र काठमाडौं क्षेत्रीय प्रतियोगिताको निरन्तर आयोजक विद्यालयका रूपमा प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले देशका विद्यार्थीहरूलाई विश्वस्तरीय शैक्षिक मञ्च प्रदान गर्दै आएको छ । अब प्रिमियर टोली ग्लोबल राउन्डहरूको तयारीमा जुटीरहेको छ । यो ऐतिहासिक सफलताले प्रिमियरलाई गहिरो सोच, आत्मविश्वास र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम विद्यार्थी तयार गर्ने शैक्षिक संस्थाका रूपमा अझ मजबुत बनाएको छ ।