दोस्रो राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन सम्पन्न, “न्यायपथ“को घोषणा

पोखरा/२७ साउन – प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दोस्रो राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।


देशभरका विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा कानुन विषय अध्ययनरत विद्यार्थीहरूको सहभागीतामा पोखरामा शुक्रवारबाट सुरु भएको दोस्रो राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन कानुन क्षेत्रको समसामयिक विषयलाई लिएर विशेष प्रस्ताव पारित गर्दै उक्त सम्मेलन सम्पन्न भएको विद्यार्थी परिषद्ले जनाएको छ ।


साथै परिषद्ले कानुन आयाम कार्यका लागि “न्यायपथ“ नामकरण गरि सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत जगेन्द्र बुढाथोकीको नेतृत्वमा नयाँ केन्द्रीय समिति घोषणा गरेको छ ।


दुई दिनसम्म चलेको सम्मेलनको उद्घाटन नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले गरेका थिए । अध्यक्ष घिमिरेले कार्यक्रममा बोल्दै दक्षिण एसियामै नेपाल कानुनी क्षेत्रमा अग्रस्थानमा रहेको र कानुनको क्षेत्रमा अझै धेरै कार्यहरू गर्नु आवश्यक रहेको बताए ।


पोखराकोमा भएको सम्मेलनमा देशभरबाट कानुन पढाई हुने ८ वटा विश्वविद्यालयको १४ वटा क्याम्पसबाट ८५ जना भन्दाबढी विद्यार्थीहरू सहभागी भएको परिषद्ले जनाएको छ ।


सम्मेलनमा नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा. नवराज देवकोटा, विधि आयोग भारतका सदस्य प्रा.डा. राका आर्या, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय सह–संगठन सचिव रमेश कण्डेल, नेपाल बार एसोसिएसनका उपाध्यक्ष वीरेन्द्र के.सी, कानुन कार्य प्रमुख भानु प्रकाश जोशी, अधिवक्ता निकेश कुमार लम्साल, वरिष्ठ अधिवक्ता प्रा.हेमराज गिरि लगायतको विशेष उपस्थिति रहेको थियो ।