११ बुँदे माग राख्दै सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकहरूको प्रदर्शन

काठमाडौँ/२६ जेठ – सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षक ११ बुँदे माग राख्दै आन्दोलनमा उत्तिएका छन् । पेसागत निरन्तरता र स्थायित्वसहित हक सुनिश्चितताका लागि मंगलबार माइतीघरमा प्रदर्शन गरेका छन् ।


आर्थिक वर्ष २०८३/८४ को बजेटले सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकलाई बेवास्ता गरिएकोले आन्दोलनमा उत्रिनु परेको शिक्षकहरूको भनाई छ । तलब वृद्धि सोही आर्थिक वर्षदेखि लागु हुनुपर्ने, प्रोत्साहन भत्ता समान ढङ्गले लागु हुनुपर्ने, महँगी भत्ता तत्काल लागु हुनुपर्ने, विदा सहुलियत समान ढङ्गले लागु हुनुपर्ने र दरबन्दी मिलान, तह समायोजन तथा मर्जर हुँदा समेत कुनै पनि कार्यरत शिक्षकको सेवा निरन्तरता कायम हुनुपर्ने लगायतका माग राख्दै सरकारको ध्यानाकर्षणका लागि प्रदर्शन गरिएको समितिले जनाएको छ ।


समितिको नेतृत्वमा सोमवार बिहान १० बजे शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्राङ्गणमा विद्यालय पोसाक, परिचयपत्र, नियुक्तिपत्र, विशेष नियुक्तिपत्र तथा मार्कर पेनसहित प्रदर्शन गरेका थिए भने आज माइतीघरमा प्रदर्शन गरेका थिए ।


विगत दश वर्षदेखी अंग्रेजी, गणित र विज्ञान विषयका करिब ११ हजार शिक्षकहरूले सङ्घीय शिक्षण सिकाइ अनुदान अन्तर्गत अध्यापन गराउँदै आएछन् ।


मागहरुः
१. तलब वृद्धि सोही आर्थिक वर्षदेखि लागू हुनुपर्ने

२. प्रोत्साहन भत्ता समान ढङ्गले लागु हुनुपर्ने ।

३. महँगी भत्ता तत्काल लागु हुनुपर्ने ।

४. विदा सहुलियत समान ढङ्गले लागु हुनुपर्ने ।

५. कार्यरत शिक्षकहरूको अभिलेख प्रस्ट राखिनुपर्ने

६. विरामी विदा सञ्चितको प्रबन्ध हुनुपर्ने ।

७. सामाजिक सुरक्षा कोषको प्रबन्ध हुनुपर्ने ।

८. वर्ष अनुभव बापतको अंक शिक्षक सेवा आयोगमा जोडिनु पर्ने ।

९. दरबन्दी मिलान, तह समायोजन तथा मर्जर हुदा समेत कुनै पनि कार्यरत शिक्षकको सेवा निरन्तरता कायम हुनुपर्ने ।

१०. अङ्ग्रेजी, गणित र विज्ञान विषय शिक्षकको अभाव भएको अवस्था विद्यालयमा जति सुकै दरबन्दी सङ्ख्या भएपनि सेवा निरन्तरता हुनुपर्ने ।

११. नेपाल सरकार तथा शिक्षा मन्त्रालयसँग विगतमा भएको सबै सहमतिको अक्षरस कार्यान्वयन हुनुपर्ने ।