काठमाडौँ /२३ साउन – पछिल्लो समय इन्जिनियरिङ शिक्षामा शतप्रतिशत उत्कृष्ट नतिजा ल्याउँदा पनि अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या कम हुँदै गएको कलेजहरूले भन्ने गरेका छन् । कक्षा १२ पास गर्ने विद्यार्थीको प्रतिशत कम हुनु र पास भएका विद्यार्थीहरूको विदेश पलायन यसको मुख्य कारण देखिएको सरोकारवालाहरू बताउँछन् । अध्ययन पश्चात् तुरुन्त रोजगार पाईने भनिएको इन्जिनियरिङ शिक्षामा विद्यार्थीको आर्कषण कम हुनुले नेपालको शिक्षा प्रणालीमा भन्दा पनि विद्यार्थी पलायनले चुनौती थपेको छ । यसै सन्दर्भमा युवाहरूको चाहाना अनुसार यो विषयमा पाठ्यक्रम निर्माण गरिएको छ की छैन ? पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ शिक्षा कस्तो छ ? विद्यार्थी यसमा भर्ना किन हुने ? लगायतका विषयमा पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङका डीन देवीप्रसाद भट्टराईसँग खबर एजुकेशनले गरेको संवाद :-
नेपालको इन्जिनियरिङ शिक्षालाई कसरी हेर्नु भएको छ ?
नेपालमा हाल स्थापना भएका १७ वटा विश्वविद्यालय मध्ये ७ वटा विश्वविद्यालयले इन्जिनियरिङ शिक्षा प्रदान गरिरहेका छन् । पूर्वाधार, उर्जा, सूचना प्रविधिको समुचित विकास र प्रवर्धनको निमित्त देशभित्र तथा अन्तर्राष्ट्रिय जगतमा आवश्यक पर्ने दक्ष जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्न इन्जिनियरिङ शिक्षाको आवश्यकता झनै बढेर गएको छ । हाल नेपालमा स्नातक तथा स्नातकोत्तर तहमा २५ वटा भन्दा बढी विधामा इन्जिनियरिङ अध्ययन गर्ने अवसर छ । देशभित्र ५० भन्दा बढी सरकारी, सामुदायिक र निजी क्षेत्रका इन्जिनियरिङ कलेजहरू सञ्चालनमा छन् । यहाँबाट उत्पादित विद्यार्थीहरू नेपालमा तथा अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो विधामा उत्कृष्ट रूपमा समेत काम गरिरहेका छन् । तर पनि इन्जिनियरिङ शिक्षाका नाममा भारत तथा अन्य मुलुकमा जाने विद्यार्थीको सङ्ख्या पनि उल्लेख्य मात्रामा बढेको छ जस्ले गर्दा अनुमानित वार्षिक रूपमा १ खर्ब रुपैयाँ विदेशिएको स्थिति छ ।
विद्यार्थी यो विषय पढ्न विदेश जाने गरेका छन् । नेपालमा इन्जिनियरिङ शिक्षा किन पढ्दैनन जसतो लाग्छ ?
मुख्य कुरा हाम्रो देशमा इन्जिनियरिङ शिक्षाबारे विद्यार्थी तथा अभिभावकलाई आस्वस्त पार्न नसक्नु हो । स्वदेशमा शिक्षा र रोजगारलाई जोड्न नसक्नु , एकाडेमिक क्यालेन्डरलाई सुदृढ रूपमा लागु गर्न नसक्नु , समयमा परीक्षा र समयमा रिजल्ट प्रकाशन गर्न नसक्नु अन्य कारण हुन् । हुन त विदेश गएर पढ्नु र विदेशीहरू यहाँ आएर ज्ञान हासिल गर्नु अहिलेको भूमण्डलीकरणको युगमा सामान्य कुरा हो । तर, जुन दरमा विद्यार्थी पलायन भएका छन् त्यो चै डरलाग्दो पक्ष हो । यसलाई न्यूनीकरण गर्न एकाडेमिक क्यालेन्डर कडाइका साथ लागु गर्ने, विश्वविद्यालयलाई उद्योग र व्यवसायसँग जोड्न इन्टर्नसिप, प्लेसमेन्टको व्यवस्था गर्ने, कार्यक्रमसँगै पूर्वाधार, जनशक्ति र सेवा प्रवाहलाई आधुनिक र प्रविधिमैत्री बनाउन सके यहाँ पढ्ने विद्यार्थीहरूको सङ्ख्या वृद्धि गर्न सकिन्छ । त्यसैले सुधारका मुख्य क्षेत्रहरू गुणस्तर, रोजगार र राजनैतिक स्थायित्व जस्ता अहम् विषयलाई सम्बोधन गर्न सके हाम्रा कक्षा कोठाहरू खालि हुने स्थिति आउँदैन ।
इन्जिनियरिङ शिक्षा अध्ययन पश्चात् विद्यार्थीले कुन कुन क्षेत्रमा भविष्य बनाउन सक्छन् ?
बहुआयामिक विधा भएको हुनाले वर्तमान युग नै विज्ञान र प्रविधिको युग हो । पूर्वाधारको विकास देखी रकेटको प्रक्षेपणसम्म, अत्याधुनिक मेडिकल उपकरण देखी उच्चस्तरीय सुविधा सम्पन्न मानवीय आवश्यकता परिपूर्ति गर्ने समाधानका अचुक अस्त्र नै इन्जिनियरिङ हो । त्यसैले यहाँबाट उत्पादित दक्ष जनशक्तिले स्वदेशका सरकारी, अर्ध सरकारी तथ निजी प्रतिष्ठान , व्यापारिक घरानासम्म स्तरीय रोजगारी पाउन सक्छन् । त्यसैगरी आफै स्वरोजगार बन्न, शैक्षिक प्रतिष्ठान र अनुसन्धान केन्द्रहरूमा काम पाउन सक्छन् । यहाँबाट उत्पादित विद्यार्थीहरू ख्याति प्राप्त बहुराष्ट्रिय कम्पनिहरूमा समेत काम गरिरहेका छन् । त्यसैगरि धेरै विदेशी विश्वविद्यालयमा नेपालीहरू प्राध्यापक र अनुसन्धानमा संलग्न छन् । यसरी हेर्दा इन्जिनियरिङ शिक्षामा स्नातक र स्नातकोत्तर गर्ने विद्यार्थीको भविष्य उज्ज्वल देखिन्छ ।
परीक्षा र नतिजा समयमा नहुँदा समय खेर गयो भन्ने विद्यार्थीको गुनासो छ । यसलाई व्यवस्थापन गर्न के के योजना बनाउनु भएको छ ?
त्रि.वि.लगायत नेपालका सबैजसो विश्वविद्यालयको निश्चित समयमा परीक्षा र समयमा नतिजा प्रकाशन गर्न नसक्दा गुणस्तरीय शिक्षा प्रदानमा एउटा मुख्य चुनौतीको रूपमा आएको छ । परीक्षा व्यवस्थापन कार्यालयहरूमा परम्परागत म्यानुएल पद्धति, भौगोलिक रूपमा दूर दराजबाट सङ्कलन हुने उत्तरपुस्तिका, न्यून पारिश्रमिक, केही उत्तरपुस्तिका निरीक्षकबाट अनावश्यक ढिला सुस्ति र प्रोत्साहन र दण्डलाई कडाइका साथ लागु गर्न नसक्नु मुख्य कारण हुन् । यसको निराकरणको लागि पूर्वाञ्चल विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोगसँग ९० दिनभित्र नतिजा प्रकाशन गर्ने लिखित प्रतिबद्धता जाहेर गरिसकेको छ । अब यस प्रतिबद्धता अनुरूप नतिजामुखि कार्य गर्नु पर्ने अत्यावश्यक भइसकेको छ । परीक्षा प्रणालीलाई बढी प्रविधिमैत्री , कार्य सम्पादन र समयमा कार्य गर्ने लाई प्रोत्साहन, समय सुहाउदो पारिश्रमिकमा बृद्धि , ढिला सुस्ति र अकर्मण्य पदाधिकारी/शिक्षक/कर्मचारीलाई नसिहत तथा कारबाहीको प्रावधान राखेर विश्वविद्यालयको उच्च व्यवस्थापनले वर्तमान परीक्षा प्रणालीलाई सकारात्मक दिशातर्फ उन्मुख गराउनु पर्ने योजना अगाडी सारि रहेको छ ।
पूर्वाञ्चलको इन्जिनियरिङ शिक्षा कस्तो छ ? समयानुकूल पाठ्यक्रम छ त ?
पूर्वाञ्चलको इन्जिनियरिङ शिक्षा देशभित्रकै अब्बल दर्जामा पर्दछ । हामीले स्नातक तथ स्नातकोत्तर तहका सबै कार्यक्रमको पाठ्यक्रम परिमार्जन गरेका छौँ । त्यो पनि राष्ट्रिय स्तरको कार्यशालामा विभिन्न विषयका विज्ञलाई बोलाएर, छलफल गरेर, समयानुकूल परिवर्तन गरि लागु गरिसकेका छौँ । हाम्रो मूल्याङ्कन पद्धति अत्याधुनिक छ । परम्परागत इन्टर्नल परीक्षा हैन अब निरन्तर मूल्याङ्कन प्रणाली लागु गरेका छौँ, जहाँ विद्यार्थीको हाजिरी, प्रस्तुति, फिल्ड वर्क, गृहकार्य र आन्तरिक परीक्षा आदिको भरमा मूल्याङ्कन गरिन्छ । हामीले अनिवार्य इन्टर्नसिपको व्यवस्था गरेका छौँ । पाठ्यक्रम परिमार्जन गरिएको स्थानीय उद्योग, व्यवसाय तथा स्थानीय निकायसँग समन्वय गरि ईन्टर्नसिपको व्यवस्था गरिएको, नेपालको पर्यावरण, प्राकृतिक अवस्था र हाम्रा विकासका चाहनालाई सम्बोधन गर्न सक्ने गरि पाठ्यक्रम परिमार्जन गरिएको छ । त्यसैगरि हाम्रा जनशक्तिलाई समेत क्रमशः तालिम तथा उच्च शिक्षाको अवसर प्रदान गरि पठनपाठनलाई सूचना प्रविधिमैत्री बनाउँदै लगिएको छ । विश्वविद्यालयले स्वदेशी तथा विदेशी विश्वविद्यालयसँग सहकार्य गरि परियोजना सञ्चालन गर्न थालेको छ । यी सबै कारणले गर्दा पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षा देशभित्रकै अब्बल दर्जामा पर्दछ । कार्यक्रमको राम्रो भविष्य छ ।
सैद्धान्तिक र प्रयोगात्मक शिक्षा मध्ये कुन विषयमा केन्द्रित छ ?
इन्जिनियरिङ विधामा सैद्धान्तिक र प्रयोगात्मक विधि नङ्ग र मासु जस्तै हुन । एकको अभावमा अर्को अधुरो हुन्छ । विज्ञान तथा प्रविधिका मान्यता प्राप्त सिद्धान्तको जगमा प्रयोगात्मक कार्यहरू अडेका हुन्छन् । त्यसैले यो दुबै विधि एक अर्काका परिपूरक हुनाले सैद्धान्तिक ज्ञान सँगै प्रयोगात्मक विधिबाट सिकाएर विद्यार्थीलाई सबल र सक्षम बनाउनु पर्दछ । नेपालमा अध्ययन गर्दा अर्को राम्रो पक्ष भनेको यहाँका फिल्डका समस्यालाई कक्षाकोठामा ल्याएर व्यापक छलफल गर्न सकिने, हाम्रा पुराना सिप कला संस्कृति, वास्तुको संरक्षण र संवर्धन गर्न बल पुग्दछ ।
पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीहरूका लागि यहाँको प्रतिबद्धता के छ ?
पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत रहेका आंगिक तथा सम्बन्धन प्राप्त कलेजमा विभिन्न ७ वटा विधामा भर्ना कार्यक्रम अन्तर्गत अनलाइन विधिबाट आवेदन दिने कार्य भइरहेको छ । देश तथा विदेशमा प्रचुर सम्भावना बोकेको आफ्नो रुचि भएको विषयमा अध्ययन गरेर प्राविधिक शिक्षामा आफ्नो ज्ञान र सिपको अभिवृद्धि गरि परिवारको र राष्ट्र विकासमा महत्वपूर्ण योगदान गर्न सक्नु हुनेछ । पूर्वाञ्चल विश्वविद्यालयले गुणस्तरीय प्रविधि मैत्री तथा रोजगारमुखी शिक्षा प्रदान गर्न तथा समयमा परीक्षा र समयमा नतिजा ( ९० दिन भित्रमा) प्रकाशन गर्न प्रतिबद्ध छ । त्यसैले, खबर एजुकेशन अनलाईन पत्रिका मार्फत म सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायमा आफ्ना रुची भएको विषयमा अध्ययनको निमित्त बिना सङ्कोच अगाडी बढ्न अनुरोध गर्दछु ।