काठमाडौँ /२७ माघ – असल संस्कारविनाको शिक्षाले मानिसको जीवनलाई सार्थक बनाउन नसक्नेमा आध्यात्मिक अभियन्ता र शिक्षाकर्मीले जोड दिएका छन् । चाबहिल स्थित ‘एपेक्स लाइफ स्कुल’को वार्षिक शैक्षिक प्रदर्शनी, २०८० को अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले संस्कारसहितको शिक्षाले विचार, व्यवहार र आचरण दिने भएकाले शिक्षालयहरूले यस पक्षलाई भुल्न नहुने बताएका हुन् ।
कार्यक्रमको शुभारम्भ गर्दै स्वामी डा। केशवानन्द गिरिले मानिसले जतिसुकै ठुलो शिक्षा हासिल गरे पनि उसमा आचरण र व्यवहारको संस्कार नभएकाले त्यसको जीवन निरर्थक हुने भएकाले शिक्षालय सञ्चालक, शिक्षक र अभिभावकले यसलाई गम्भीरतापूर्वक मनन् गनुपर्ने बताए । उनले ‘एपेक्स लाइभ स्कुल’ ले संस्कृत र नैतिक शिक्षासमेतलाई पढाउने र व्यवहारमा अपनाउन उद्धत गराएका प्रशंसा गर्दै यस्ता पक्षलाई अन्य विद्यालयले अनुसरण गर्नुपर्नेमा जोड दिए ।
सो विद्यालयका अध्यक्ष सुवास न्यौपानेले आफूहरूले विद्यार्थीको आध्यात्मिक, नैतिक, बौद्धिक, सामाजिक र शारीरिक विकासका साथै समग्र विकास गराइ उनीहरूलाई मस्तिष्कलाई रचनात्मक र सक्रिय तुल्याउन प्रयास गरिरहेको बताए । उनले विद्यालयले हरेक विद्यार्थीमा फरक फरक प्रतिभा हुन्छ भन्ने पक्षलाई आत्मसात् गरी उनीहरूको सीप र अनुसन्धानात्मक क्षमता विकासमा जोड दिइएको जानकारी दिए ।
विद्यालयका प्राचार्य प्रद्युम्न पौडेलले विद्यालयका विद्यार्थीहरूले वार्षिक रूपमा शैक्षिक तथा अतिरिक्त क्रियाकलाप मार्फत हासिल गरेका विभिन्न सिकाई उपलिब्धीहरूलाई समेटेर तयार पारिएको परियोजना कार्यहरू, व्यवहारिक जीवनमा कसरी प्रयोग गरिन्छ भन्ने कुराहरू वार्षिक शैक्षिक प्रदर्शनी २०८० मा राखिएको बताए । हरेक तीन वर्षमा शैक्षिक सामाग्रीहरूको प्रदर्शनी गरिने बताउँदै वार्षिक कार्यक्रम अन्तर्गत एक वर्ष सांस्कृतिक कार्यक्रम, एक वर्ष खेलकुद हुने र अर्को वर्ष शैक्षिक पदर्शनी हुने बताए । प्रदर्शनीमा विभिन्न ३० भन्दा बढी विद्यालयका विद्यार्थी अभिभावकले अवलोकन गरिएको जानकारी दिए ।
साथै विद्यालयका पूर्व विद्यार्थी द्वय रोहण खड्का र कृपा भण्डारीले संस्कारसहितको शिक्षा पाएका कारण आफूहरूको वर्तमान जीवन सहज र प्रगतिउन्मुख भएको अनुभव सुनाएका थिए ।