स्टडी इन नेपाल : सरोकारवालाहरूको एकै स्वर नेपाललाई शैक्षिक गन्तव्य बनाउन सम्भव छ

काठमाडौँ /२७ माघ – शिक्षाविद् तथा सरोकारवालहरूले विदेशबाट उच्च शिक्षा अध्ययनका लागि नेपालमा विद्यार्थी ल्याउन सम्भव भएको बताएका छन् । नेपाली विद्यार्थीहरूको ठुलो सङ्ख्यामा विदेश पलायन भइरहेको अवस्थामा विद्यार्थीहरूलाई नेपालमै पढ्ने वातावरण सिर्जना गर्न सकिने र विदेशबाट विद्यार्थी नेपाल ल्याउन सकिने बताएका हुन् ।


खबर एजुकेशन मिडियाको आयोजना र काठमाडौँ विश्वविद्यालयको सहयोगमा शुक्रवार आयोजना गरेको स्टडी इन नेपाल (शैक्षिक गन्तव्य नेपालमै) कार्यक्रममा सरोकारवालाहरूले नेपाली विद्यार्थीहरू अध्ययनका लागि विदेश पलायन हुने क्रम बढेसँगै नेपालका विश्वविद्यालय तथा कलेजहरूमा विद्यार्थीको खडेरी लाग्न थालेको चिन्ता व्यक्त गर्दै उच्च शिक्षा अध्ययन नेपालमै सम्भव भएको बताएका छन् । साथै उनीहरूले विद्यार्थी पलायन हुनुको कारण खोज्नुपर्ने र त्यसको समाधान निकाल्नुपर्नेमा जोड दिए ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले नेपाललाई शैक्षिक गन्तव्यको हब बनाउन नीतिगत लगायतका विषय सुधार गर्नुपर्ने बताए । काठमाडौँ विश्वविद्यालयले विदेशी विद्यार्थी ल्याउन विभिन्न पहल गरिरहेको अहिले पनि १३ प्रतिशत विदेशी विद्यार्थीहरूले अध्ययन गरिरहेको बताए । उनले नीतिगत समस्याका कारण अप्ठ्यारो परिरहेको बताउँदै यसलाई राज्यले सहजिकरण गरिदिनुपर्नेमा जोड् दिए । उनले नेपाल बाहेक अस्ट्रेलिया, भारतका विश्वविद्यालयसँग सहकार्य गरेर नेपाली समाज भएका देशका कार्यक्रम सञ्चालन गरिएको समेत जानकारी दिए । साथै अरब, पूर्वी एसियाका देशहरूका नेपालका विश्वविद्यालय पुग्न सके विद्यार्थी ल्याउन सकिने बताए ।


उनले भने “विश्वविद्यालयहरूले चाहाने हो भने विश्वका उत्कृष्ट विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्न सक्छौँ । अहिले काठमाडौँ विश्वविद्यालयलाई भारत लगायत अन्य देशका विश्वविद्यालयले प्रतिस्पर्धी विश्वविद्यालयका रूपमा हामीलाई हेर्छन । तसर्थ नीतिमा सहज भए विदेशी विद्यार्थी नेपाल ल्याएर पढाउन सम्भव छ ।”


काठमाडौँ विश्वविद्यालयमा गत वर्षको तुलनामा यो वर्ष १७ प्रतिशत विद्यार्थी बढेका छन् । अघिल्लो वर्षको तुलना विश्वविद्यालयको सिट क्षमता समेत बढाएका कारण विद्यार्थी समेत बढेको उपकुलपति थापाको भनाइ छ ।


विदेशी विद्यार्थीहरूलाई नेपालमा ल्याउन विश्वविद्यालयले कन्सल्टेन्सीहरूसँग समेत सहकार्य गरेर अघि बढ्न खोजीरहेको उनले बताए । विश्वविद्यालयलाई स्रोत साधन सम्पन्न बनाउने र गुणस्तरीय शिक्षामा जोड दिने हो भने विद्यार्थी पलायन नहुने र विदेशी विद्यार्थी नै नेपाल पढ्न आउने दाबीसमेत उनले गरे ।


मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले विद्यार्थीको पलायन रोक्न विश्वविद्यालयहरू सक्षम हुनुपर्ने बताए । विश्वविद्यालय आफैँ स्रोत साधन सम्पन्न हुनुपर्ने उनको भनाइ थियो । विश्व बजारमा बिक्री हुने जनशक्ति उत्पादनको जिम्मा राज्यले विश्वविद्यालयलाई दिए गर्न सकिने उनको भनाई थियो । यसका लागि विश्वविद्यालय राजनीतिक हस्तक्षेप मुक्त हुनुपर्नेमा जोड् दिए । अहिलेको अवस्थामा उत्पादनभएको जनशक्तिलाई काम गर्ने ठाउँको आवश्यकता रहेको बताउँदै राज्यले कृषिमा आधुनिकीकरण र औद्योगिककरण गर्नुपर्ने बताए । यसका लागि सरकारले योजना आयोग, शिक्षा र औद्योगिककरण जोड्नुपर्ने उनको भनाई थियो ।


त्यसैगरी विश्वविद्यालय आफ्नै लगानीमा बाँच्न सक्नुपर्ने र सरकारले बजेट दिएपछि मात्रै काम गर्छु भन्ने छुट विश्वविद्यालयहरूलाई नहुने त्यसका लागि विश्वविद्यालय आफैँ सक्षम हुनुपर्ने बताए । मध्यपश्चिम विश्वविद्यालयले विभिन्न कार्यक्रममार्फत वार्षिक २८ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको उनको भनाइ थियो । शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप मुक्त हुनुपर्नेमा जोड दिँदै उनले शिक्षा क्षेत्रमा जबसम्म राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन तबसम्म गुणस्तरीय शिक्षा दिन नसकिने प्रस्ट पारे । साथै उच्च शिक्षा विधेयकको सन्दर्भमा बोल्दै विधेयक कर्मचारीले नबनाई सरोकारवालहरूसँग छलफल गरेर ल्याइनुपर्ने बताए ।


खुला विश्वविद्यालयकी उपकुलपति प्रा.डा शिलु बज्राचार्यले नेपाल जस्तो गरिब देशले धनी देशमा लगानी गरिरहेको बताइन् । नेपाली विद्यार्थीहरू विदेश जाँदा अर्बौँ रुपैयाँ बाहिरिएको भन्दै उनले विद्यार्थीहरू पलायन हुने क्रम रोक्न एनओसी जारी गर्न कडाइ गर्नुपर्नेमा जोड् दिइन । एनओसी खुकुलो बनाएकै कारण नेपालीहरु पढ्नभन्दा पनि उतै बस्न जाने गरेकाले नेपालमा पढ्न नपाउने विषयमा मात्रै एनओसी दिनुपर्ने उनको भनाइ छ ।


साथै नेपालमै गुणस्तरीय शिक्षा दिन सम्भव भएपनि विश्वविद्यालयमा आवश्यक शिक्षक, कर्मचारी व्यवस्थापन बारे सरकारले सोच्नुपर्ने बताइन । “विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागु गर्न नसक्दा समस्या भएको बताउँदै राजनीतिक हस्तक्षेपको अन्त्य गर्नुपर्ने उनको भनाई थियो । यस विषयमा उपकुलपतिलाई मात्रै दोष लगाउन मिल्दैन । राजनीतिक हस्तक्षेपको अन्त्य हुनुपर्छ र हायर एण्ड फायरको नीति ल्याउनु पर्छ” उनले भनिन् ।


राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले नेपाली विद्यार्थी पलायन हुन रोक्न र विदेशी विद्यार्थी नेपालमा ल्याउन देखा परेका समस्या समाधान गर्ने जिम्मेवारी सबैको भएको बताए । राज्यको भरमात्रै परेर कुनै पनि समस्या समाधान नहुने भन्दै उनले नेपालको शिक्षा क्षेत्र सुधार गर्न र विदेशी विद्यार्थी नेपाल ल्याउन सबै सरोकारवालाको अहम् भूमिका हुने जिकिर गरे ।


उनले विश्वविद्यालयको व्यवस्थापकीय पक्षमा समस्या आएकोले यसलाई ध्यान दिन आवश्यक रहेको बताए । शर्माले विद्यार्थी बाहिर जानु स्वभाविक भएपनि १७ वर्षको बच्चालाई जान दिने नकी नदिने, कस्ता कार्यक्रम अध्ययनका लागि पठाउने, पढन जान लागेका हुनकी अरू उदेश्य लगायतलाई ध्यानमा राखेर नीति बनाउनुपर्ने बताए । साथै प्रदेशमा विश्वविद्यालय खोल्ने र संघिय सरकारसँग अनुदान माग्ने गरिएकोले यसबारे उच्च शिक्षा विधेयकमा व्यवस्था गर्नुपर्ने उनको तर्क थियो ।


इन्टरनेशनल एजुकेसन रेप्रीजेन्टेटिभ इनिसियटिभ नेपाल (आइरिन) अध्यक्ष हेमन्त भट्टराईले नेपालको पढाई नराम्रो भएर विद्यार्थी विदेश गएको नभएर अवसरको खोजिमा गएको बताउँदै विदेशी विद्यार्थीलाई अध्ययनका लागि नेपालमा ल्याउन सकिने बताएका छन् । कार्यक्रममा उपस्थित सबैका छोराछोरी पनि विदेश अध्ययनमा पठाएको बताउँदै नीतिमा नै व्यवस्था गरे विदेशबाट विद्यार्थी ल्याउन आफ्नो संगठन तयार रहेको उनको भनाई थियो । उनले भने “मैले शैक्षिक परामर्श क्षेत्रमा काम गरेको २२ भयो । तर गलत काम गर्ने शैक्षिक परामर्श संस्थाका कारण राम्रो गर्नेलाई पनि आरोप लाग्ने गर्छ, यो गलत हो । नेपालका विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिए विद्यार्थी ल्याउन हामी तयार छौँ ।”

भट्टराईले विदेशी विद्यार्थी त्यत्तिकै नेपाल आउन नसक्ने भन्दै त्यसका लागि राज्यको लगानी, शैक्षिक संस्थाहरूको भौतिक पूर्वाधार लगायत विषय सुधार गर्नुपर्ने बताए ।


फेकनका सल्लाहकार रामशरण ढकालले विदेशी विद्यार्थी ल्याउन सकिने तर त्यसका लागि राज्यले वातावरण बनाइदिनुपर्ने बताए । शैक्षिक परामर्श व्यवसायीहरू नेपाली विद्यार्थीलाई विदेश पठाउने मात्र नभइ विदेशी विद्यार्थी नेपाल ल्याउन पनि सक्षम रहेको उनको भनाइ छ ।


कार्यक्रममा शिक्षाविद् डा. कृष्ण प्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्दै बेरोजगार नभइ दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए । उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई खोज तथा अनुसन्धानमा लगाउन नसकिएको भन्दै त्यसका लागि विश्वविद्यालयहरू सक्षम हुनुपर्ने उनले बताए ।


नेपाली विद्यार्थी कहाँ गए ? विदेशी विद्यार्थी किन ल्याउन सकेनौँ ? लगायतका विषयमा गहन अध्ययन हुनुपर्ने उनको भनाइ थियो । नेपालले आफ्नो परम्परागत, नेपालीपन झल्काउने खालको पाठ्यक्रम निर्माण गरेर त्यही आधारमा पठनपाठन गराउन सके विद्यार्थीहरू बेरोजगार बन्नु नपर्ने उनले बताए ।


हिसान अध्यक्ष रमेश सिलवालले नेपालको समस्या सङ्ख्यात्मक रूपमा नभइ गुणात्मक रूपमा रहेको बताए । गुणस्तरीय शिक्षा दिन नसक्दा विद्यार्थीहरू बाहिरिएको उनको भनाइ थियो । उनले भने, ‘के कति कारणले हाम्रा विश्वविद्यालय समस्याग्रस्त छन्, ती सुधार गर्नुपर्छ । शैक्षिक क्यालेन्डर लागु गर्नुपर्छ । त्यसमा कहिले भर्ना हुने ? कहिले परीक्षा हुने ? कहिले नतिजा निकाल्ने स्पष्ट हुनुपर्छ । त्यो कार्यान्वयन गर्न नसकेको खण्डमा के गर्ने भन्ने पनि स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ ।’


साथै विदेशी विश्वविद्यालयका उपकुलपति नेपाल आएर शैक्षिक संस्थाका मान्छेलाई भेट्ने गरेको बताउँदै नेपालका विश्वविद्यालयले पनि विद्यार्थीसम्म पुग्न त्यसै अनुरूपको कार्ययोजना बनाउनु पर्ने बताए । हिसान शैक्षिक मेलामा विश्वविद्यालयलाई निःशुल्क स्थान दिँदा पनि आउन नमानेको र काठमाडौँ विश्वविद्यालय मात्रै आएको उल्लेख गरे ।


त्यसैगरी शैक्षिक परामर्श संस्थाहरूका बारेमा गम्भीर भएर सोच्नुपर्ने बताउँदै नीतिमा कडाई गर्नुपर्ने उनको धारणा थियो । उनले भने “सबैले गलत गर्छन म भन्दिन राम्रो गर्ने पनि छन् । तर गलत गर्नेलाई कारबाही गर्न आवश्यक छ । त्यसो गर्न सकिएन भने यो क्षेत्र नियमन हुँदैन । यो सँगै शैक्षिक परामर्श संस्थाहरूले पठाउने मात्रै होइन नेपालमा विद्यार्थी ल्याउने काम पनि गर्नु पर्यो ।”


आईप्यानका अध्यक्ष लक्ष्मण केसीले अर्बौ रकम विदेश गइरहेको सन्दर्भमा केही हदमा भएपनि विदेशका विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजले नेपालमै रोक्न सफल भएको बताए । भने “हुनत हामीलाई विदेश पैसा पठाएको आरोप लगाइन्छ । तर अघिल्लो वर्ष मात्रै शिक्षामा १ खर्ब ४२ करोड रकम बाहिरिएको रेकर्ड छ । थप ५२ अर्ब पनि बाहिरिन सक्थ्यो तर हाम्रा कारणले त्यो रोकिएको छ ।”


विश्वविद्यालय अनुदान आयोगको रेकर्डमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरू नरहेको र शिक्षा मन्त्रालय अन्तर्गत राखिएको बताउँदै यसलाई विश्वविद्यालय अनुदान आयोग मार्फत राख्नुपर्ने उनको जोड् थियो ।
केसीले शैक्षिक परामर्श संस्थाहरूसँग छलफल गरेर विदेशबाट नेपालमा विद्यार्थी ल्याउन सम्भव हुने धारणा राखे । उनले स्टडी इन नेपाल बोर्ड गठन गरेर विदेशी विद्यार्थी पढन ल्याउने मापदण्ड बनाएर शिक्षा मन्त्रालय, विश्वविद्यालय लगायत सबै लागे सम्भाव रहेको बताए ।


नेपाल अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले नेपालको उच्च शिक्षा भद्रगोल हुँदा विद्यार्थी विदेश जान बाध्य भएको बताए । उनले उसलाई राज्यले गम्भीर रूपमा लिएर त्यसै अनुरूपको नीति बनाई व्यवस्थापन गर्नुपर्ने बताए । उच्च शिक्षामा गुणस्तरीय शिक्षासँगै रोजगारीको अवसरको सिर्जना गरे विद्यार्थीको आकर्षण बढनेमा जोड् दिए ।


त्यसैगरी प्याब्सनकी उपाध्यक्ष दीपिका रिमाल थापाले विद्यालय शिक्षा विधेयक देखिनै यसबारेमा नीतिगत व्यवस्था गर्नुपर्ने बताइन । हिलसाइड कलेजका प्रिन्सिपल गोपि न्यौपानेले उच्च शिक्षाको नीतिमा ध्यान दिन आवश्यक रहेको बताउँदै कस्ता विषय अध्ययनका लागि विद्यार्थीलाई विदेश पठाउने भन्ने बारेमा एनओसीमा ध्यन दिन सरकार गम्भीर हुनुपर्ने बताए ।त्यसैगरी शैक्षिक क्यलेण्डर लागु नगर्ने विश्वविद्यालयलाई अनुदान दिननहुँने उनले धारणा राखे ।


संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले शिक्षा क्षेत्रमा थुप्रै खालका समस्या रहेको भन्दै ती समस्या समाधान गर्न सबै सरोकारवालाको महत्त्वपूर्ण भूमिका हुने बताए । उनले उच्च शिक्षाको विधेयकको मस्योदा बन्दै गरेको बताउँदै उच्च शिक्षाका बारेमा छलफल गर्ने बेला भएको बताए ।


काठमाडौँ विश्वविद्यालयमा करिब ८ हजार विद्यार्थी विदेशबाट आएर पढेको देखिएको उदाहरण दिँदै नेपाललाई शैक्षिक हब बनाउन सकिने उनको भनाई थियो । उनले भने “नेपालाई शैक्षिक हब बनाउन नसकिने होइन होला । कानुनमा कमजोरी भन्दा पनि कार्यान्वयनमा कमजोरी छन् । विश्वविद्यालयदेखि लिएर शैक्षिक संस्थाहरूमा र राजनीतिमा पनि गडबडि देखिन्छ । त्यसलाई हस्तक्षेप भन्दापनि हुन्छ । यी सबै विषयलाई ध्यानमा राखेर हामीले राम्रो नीति बनाउने कुरामा लाग्नु पर्छ ।” विश्वविद्यालयलाई स्वायत्त भनिएपनि त्यो स्वायत्त नभएको उनको भनाई छ । पछिल्लो समय विद्यार्थीको भिड कोरियन भाषा अध्ययन गर्नेमा देखिएको बताउँदै उनीहरूलाई उत्पादन र रोजगारसँग जोड्नु पर्ने अहिलेको आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *