काठमाडौँ /२७ माघ – शैक्षिक परामर्श व्यवसायमा देखिएका समस्या प्रति आफूहरू चिन्तित रहेको बताउँदै नेपाललाई शैक्षिक हब बनाउन लाग्नु पर्ने सांसदहरूले बताएका छन् । शुक्रवार भएको राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) को पाँचौँ वार्षिक साधारणसभामा उपस्थित सांसदहरूले शैक्षिक परामर्श सँग सम्बन्धित नीति नियम गतिलो बनाउनु पर्ने बताउँदै नेपाललाई शैक्षिक हब बनाउन लाग्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि रहेका प्रतिनिधि सभा, शिक्षा, स्वास्थ्य तथा सुचाना प्रविधि समितिका सभापति भानुभक्त जोशीले शैक्षिक परामर्शसँग सम्बन्धित नीति नियम बनाउँदा सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरेर बनाउने बताएका छन् । उनले विदेश विद्यार्थी पठाउने भन्दा नेपाललाई शैक्षिक हब बनाउने तिर ध्यान दिन आग्रह गरे । शैक्षिक परामर्श संघहरूले काठमाडौँ विश्वविद्यालय जस्ता विदेशी विद्यार्थी पढाउन तयार रहेका विश्वविद्यालयहरूलाई विद्यार्थी ल्याइदिएर सहयोग गर्नुपर्ने जोशीको भनाई थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सह–प्रवक्ता समेत रहेका सांसद मनिष झाले एनओसिको तथ्यांकका आधारमा देश बर्बाद भयो भन्नु गलत रहेको बताए । उनले नेपालमा एउटा विश्वविद्यालयले काम गर्न सकेन भनेर अरू थप्ने काम भइरहेको बताउँदै ७ दशक अघि बनेको विश्वविद्यालयलाई ध्वस्त पार्ने काम भएको आरोप लगाए । कन्टेन्ट चोरहरूलाई त्रिविको उपकुलपति बनाउने प्रयास गरिएको र यी सबै थोक बिगारेर देशमा बस्ने वातावरण नभएपछि विदेशिनेलाई रोक्न खोजिएको उनले तर्क थियो ।
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले परामर्श व्यवसायमा देखिएको समस्या प्रति आफूहरू चिन्तित रहेको बताए । उनले गुणस्तरीय शिक्षा दिन सक्ने नाम चलेका विश्वविद्यालयमा मात्रै नेपाली विद्यार्थी पठाउन आग्रह गर्दै गलत परामर्शले शिक्षा र धन दुवै नरहने अवस्था आउन सक्ने तर्फ व्यवसायीहरूलाई सचेत गराए ।
जसपा नेता भीम राईले अक्सफोर्ड, क्याम्ब्रिज, एमआइटीमा विद्यार्थी किन पठाइएन भनेर प्रश्न गर्ने सांसदले हाम्रा विद्यार्थी त्यहाँ पढ्न योग्य छन् कि छैनन् भनेर बुझ्नुपर्नेमा जोड् दिए । उपदेश बाँडेर देश नबन्ने भन्दै कानुन निर्माताले म्यानपावर र परामर्श व्यवसायीको फरक छुटाउन सक्नुपर्ने भनाई राखे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले परामर्श व्यवसाय क्षेत्रका विविध समस्याहरू समेटेर नेकाले बुझाएको ध्यानाकर्षण पत्र आफ्नो पार्टीले पाएको र त्यसलाई अब संसदीय दलमा लगेर छलफल गराउने तयारी रहेको उल्लेख गरे । उनले अब नेपाली विद्यार्थीहरू के पढ्न जाने भन्ने कुरामा परामर्श केन्द्रित हुन जरुरी भएको भन्दै व्यक्तिलाई के पढ्दा भविष्य निर्माण हुन्छ भन्ने बुझाउन परामर्श व्यवसायीले सक्नुपर्ने बताए । साथै अब नेपाली विश्वविद्यालयमा विदेशी विद्यार्थी पढाउने तिर नेपालले सोच्नुपर्ने श्रेष्ठले उल्लेख गरे ।
त्यस्तै अन्तर्राष्ट्रिय अभिभावक संघका अध्यक्ष नवराज काफ्लेले परामर्श व्यवसाय आवश्यक भए पनि पछिल्लो समय गलत काम गर्नेहरू यो क्षेत्रमा हाबी हुँदै गएको तितो यथार्थ भुल्नु नहुने उल्लेख गरे । उनले सबै काम आफै गरिदिन्छु भनेर विद्यार्थी सँग पैसा असुल्ने गरिएको भन्दै सही काम गरेर मात्रै पैसा कमाउन व्यवसायीहरूलाई सुझाव दिए ।
नेकाका उपाध्यक्ष निरज सिटौलाले संस्थाले परामर्श व्यवसाय क्षेत्रमा देखिएका चुनौतीहरूको सामना गर्ने र व्यवसाय क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने वातावरण बनाउन सक्नुपर्ने बताए वरिष्ठ सल्लाहकार द्विराज शर्मा शिवाकोटीले परामर्श व्यवसाय क्षेत्र अब देशको एउटा ठुलो उद्योग बनिसकेको उल्लेख परामर्श क्षेत्रमा रहेको विद्यमान अवस्था, समस्या र समाधानका लागि राज्य र नीतिनिर्माताहरूले भूमिका खेल्नुपर्नेबारे ध्यानाकर्षण गराए ।
त्यसैगरी एरि नेपालका महासचिव राजेन्द्र रिजालले नेपालमा समस्याहरूमा धेरै छलफल हुने तर ठोस समाधान कहिल्यै ननिस्कने परिपाटी बन्दै गएको प्रति चिन्ता व्यक्त गरे । उनले परामर्श व्यवसायीले विदेशमा विद्यार्थी मात्रै नपठाई नेपालका सद्भावना दूत पठाउने गरेको बताए । फेकनका महासचिव छविन्द्र ओझाले उनले शैक्षिक परामर्श व्यवसायी प्रति राज्यले गलत नजर राखेको भन्दै देश बिगारेको परामर्श व्यवसायीले नभई राज्य, राजनीतिक दल, शिक्षा नीति र त्यसको नेतृत्व गर्नेहरूले भएको उल्लेख गरे । उनले उच्च शिक्षा विधेयकमा धरौटी र दण्ड जरिबाना बारे गलत बुँदा राखिएको भन्दै फेकन त्यसो विरुद्धमा रहेको प्रस्ट पारे ।
कार्यक्रमका सभापति तथा नेका अध्यक्ष सन्तोष प्याकुरेलले उपस्थिति सबैलाई धन्यवाद दिदै सांसदहरूले प्रतिबद्धता गरे अनुसार नीति निर्माणमा सरोकारवालाको आवाज समेटिनु पर्नेमा जोड् दिए । उनले शैक्षिक परामर्श क्षेत्रलाई मिनी म्यानपावर बनाउने प्रयास भइरहेको भन्दै नेकाले त्यो योजना सफल हुन नदिने बताए ।