मेडिकल कलेजहरू मसानघाट जस्तो भएको छः हरिचरण शिवाकोटी

काठमाण्डौं ०६ माघ– सोमबारको राष्ट्रियसभा बैठकमा सदस्य हरिचरण सिवाकोटीले मेडिकल कलेजहरूलाई सम्बन्धन दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
शिवाकोटीले भौतिक पूर्वाधार निर्माणका सम्पूर्ण कार्य पुरा भईसक्दा पनि मेडिकल कलेजहरूले सम्बन्धन नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ३६ सय जनाको सेयर लगानि रहेको मनमोहन मेडिकल कलेजले समेत अहिलेसम्म सम्बन्धन नपाएको भन्दै उक्त कलेजलाई सम्बन्धन दिने कुरामा सरकार मौन रहेको उनले बताए । त्यस्तै, झापाको बि एण्ड सी अस्पतालले पनि सम्बन्धन नपाएको भन्दै उनले गुनासो गरे । उनका अनुसार ‘सरकारले मेडिकल कलेजहरूलाई सम्बन्धन दिने कुरालाई बेवास्ता गरेका छन् । सरकारले कलेज बनाउ भन्छ, कलेज बनाउँछन्, सबै पूर्वाधार तयार हुन्छन्, तर ५/६ वर्षसम्म पनि सम्बन्धन पाएका हुँदैनन् । पूर्वाधार राम्रो हुँदाहुँदै पनि सम्बन्धन दिने कुरामा सरकार मौन बसेको छ, सरकारले वर्षौसम्म पनि सम्बन्धन दिन सकेको छैन ’ भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।
कलेजहरूले वर्षेनी राजस्व बुझाउँदै आएपनि सरकारले सम्बन्धन दिने कुरामा मौनता कायम गरेको उनको आरोप छ । हरेक वर्ष मेडिकल शिक्षा अध्ययनका लागि ठूलो मात्रामा नेपाली विद्यार्थीहरू भारत, बंगलादेश, पाकिस्तान र चीन लगायतका मुलुकमा जाने गर्छ । तर, नेपालमा ठूल्ठूला कलेज भवन निर्माण भएता पनि सम्बन्धन नपाई पढाई सञ्चालन हुँदा मेडिकल कलेजहरू मसानघाट जस्ता भएको उनको भनाई छ ।