शिक्षक लाईसेन्सको उत्तरपुस्तिका परीक्षणको काम ८० प्रतिशत सकियो, नतिजा माघमै

काठमाडौं/६ माघ– शिक्षक सेवा आयोगले असोज महिनामा सञ्चालन गरेको शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) परीक्षाको उत्तरपुस्तिका परीक्षणको काम ८० प्रतिशत सकाएको छ ।
आयोगका प्रशासकिय प्रमुख वैकुण्ठ अर्यालले उत्तरपुस्तिका परीक्षणको काम ८० प्रतिशत सकिएको खबर एजुकेशनलाई जानकारी दिए । तीन वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षण भईरहेको बताउँदै उनले भने,“यो महिनाभित्र नतिजा प्रकाशन गर्ने तयारीमा छौं ।” पुष २ गतेबाट उत्तरपुस्तिका परीक्षणको काम सुरु गरिएको थियो ।
आयोगले मावि तहको विभिन्न तीन, निमावि तहको एक र प्रावि तहको एक गरी पाँच किसिमको विज्ञापन खुलाएको थियो । लाईसेन्स परीक्षामा प्रावि तहमा ६६ हजार ५ सय ९५, निमावि तहमा ५६ हजार १ सय ४० र मावि तहमा १ लाख १ हजार ९ सय ९० परीक्षार्थी सहभागी भएको आयोगले जनाएको छ ।
आयोगले शिक्षा लाईसेन्स परीक्षा धेरै समयपछि खुलाएको हो । आयोगले यसअघि मावि र निमावि तहको लाईसेन्स २०७२ र प्रावि तहको लाईसेन्स २०६८ सालमा खुलाएको थियो ।