विश्वभाषा क्याम्पसमा तीन प्रशासनिक पदका लागि आवेदन आह्वान

काठमाडौं/३० कार्तिक – त्रिभुवन विश्वविद्यालयअन्तर्गत विश्वभाषा क्याम्पसले तीन प्रशासनिक पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।


काठमाडौंको प्रदर्शनीमार्गस्थित मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत सञ्चालित क्याम्पसले दुई जना सहायक क्याम्पस प्रमुख र एक जना विद्यार्थी कल्याण प्रमुख नियुक्त गर्न लागेको हो ।


क्याम्पस प्रशासनले ‘विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी कार्यविधि, २०८१’ को विनियम ४४ को उपविनियम १ अनुसार योग्यता पुगेका शिक्षकहरूबाट आवेदन माग गरेको जनाएको छ ।


उक्त पदका लागि विश्वभाषा क्याम्पसमा कार्यरत शिक्षकका साथै त्रिभुवन विश्वविद्यालयका अन्य आंगिक क्याम्पसमा अध्यापनरत शिक्षकहरूले समेत प्रतिस्पर्धा गर्न पाउनेछन् ।


इच्छुक तथा योग्यता पुगेका शिक्षकहरूले आगामी २०८१ मंसिर १० गतेभित्र क्याम्पसमा आवेदन पेस गर्नुपर्नेछ । आवेदनसँगै कार्यविधिको विनियम ४४ को उपविनियम २ मा तोकिएका आवश्यक कागजातसमेत अनिवार्य रूपमा बुझाउनुपर्ने क्याम्पस प्रशासनले जनाएको छ ।