पूर्वाञ्चल विश्वविद्यालयमा विपद्, कूटनीति तथा जोखिम न्यूनीकरण केन्द्र स्थापना हुँदै

विराटनगर/२७ कार्तिक – पूर्वाञ्चल विश्वविद्यालयले विपद् जोखिम न्यूनीकरण, जलवायु उत्थानशीलता, पूर्वचेतावनी प्रणाली तथा विपद् पुनस्र्थापनाका क्षेत्रमा अध्ययन, अनुसन्धान र प्राज्ञिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले विशेष केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ ।


विश्वविद्यालयले काठमाडौंमा आयोजना गरेको परामर्शदात्री बैठकमा उक्त जानकारी दिएको हो । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुजनबाबु मरहट्टाले विश्वविद्यालयले बहुविधा तथा अन्तरविधागत शिक्षण, अध्ययन र अनुसन्धानमार्फत कम्तीमा पाँचवटा क्षेत्रमा विपद् व्यवस्थापनसम्बन्धी काम अघि बढाउने बताए ।


उपकुलपति मरहट्टाले विश्वविद्यालयले स्थापना गरेको ‘विपद् जोखिम न्यूनीकरण, जलवायु उत्थानशीलता, पूर्वचेतावनी तथा विपद् पुनस्र्थापना केन्द्र’मा सरकार, शैक्षिक संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र अन्य सरोकारवालाले योगदान गर्न सक्ने बताउँदै सबै पक्षसँग सहकार्यका लागि आह्वान गरे ।


कार्यक्रममा राष्ट्रिय विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण केन्द्रका पूर्व प्रमुख कार्यकारी अधिकृत इन्जिनियर दिनेशप्रसाद भट्टले नेपालमा देखिने विभिन्न प्रकारका विपद्, तिनका चुनौती तथा व्यवस्थापनका उपायबारे प्रस्तुतीकरण गरेका थियो ।


त्यसैगरी, पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डीन प्रा.डा. प्रचण्डमान प्रधानले भूकम्पलगायतका विपद्सम्बन्धी अध्ययन, अनुसन्धान तथा व्यवस्थापनका लागि इन्जिनियरिङ संकायमा आवश्यक न्यूनतम जनशक्ति विकास भइसकेको बताए ।


नेपाल आर्मीका प्रमुख सेनानी डा. नवीन फुयालले विपद् व्यवस्थापनमा स्वास्थ्य क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विश्वविद्यालयमा संरचनागत स्वास्थ्य विपद् व्यवस्थापनसम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।


उक्त पहिलो सत्रको अध्यक्षता गरेका पूर्वाञ्चल विश्वविद्यालय कानून संकायका डीन प्रा.डा. कृष्णप्रसाद पाण्डेले विश्वविद्यालयले परम्परागत शिक्षण र अध्ययनमा मात्र सीमित नभई नयाँ ज्ञान उत्पादन गर्ने तथा उत्पादित ज्ञानलाई सरकारलगायतका सरोकारवालाले व्यवहारमा प्रयोग गर्न सक्ने प्रणाली विकास गर्न चाहेको बताए ।


कार्यक्रमको दोस्रो सत्रमा विपद् कूटनीतिका विषयमा छलफल गरिएको थियो । पूर्वराजदूत डा. दिनेश भट्टराईले विपद् कूटनीतिलाई विश्वविद्यालयको अध्ययन, अध्यापन तथा अनुसन्धानको अभिन्न र स्थायी अंग बनाउनुपर्नेमा जोड दिए ।


उनले विपद् कूटनीतिका सन्दर्भमा नेपालको भौगोलिक संवेदनशीलता र आफ्नै अवस्थाबारे नेपाली पक्षले स्पष्ट बुझाइ राख्नुपर्ने बताउँदै विदेशी सहयोग स्वीकार गर्दा राष्ट्रिय परिस्थिति र आवश्यकतालाई समेत ध्यान दिनुपर्ने सुझाव दिए ।


अर्का पूर्वराजदूत डा. शंकर शर्माले विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका विषय दातृ निकायहरूको प्राथमिकतामा समेत पर्ने भएकाले त्यसलाई ध्यानमा राखेर विपद् कूटनीतिका पहल अघि बढाउनुपर्ने धारणा व्यक्त गरे ।


दोस्रो सत्रको अध्यक्षता गरेका पूर्वराजदूत तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले विश्वविद्यालयले विपद् व्यवस्थापनका विषयमा काम गर्दा राष्ट्रिय आवश्यकता र देशको प्राथमिकतालाई केन्द्रमा राख्नुपर्नेमा जोड् दिए ।


कार्यक्रममा विपद् व्यवस्थापनसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएका सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


कार्यक्रमको अन्त्यमा पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. पन्ना थापाले कार्यक्रममा प्रस्तुत भएका सुझाव, विचार तथा धारणाहरूलाई दस्तावेजीकरण गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।


पूर्वाञ्चल विश्वविद्यालयको ४३औँ सभा बैठकले विपद् जोखिम न्यूनीकरण, जलवायु उत्थानशीलता, पूर्वचेतावनी प्रणाली तथा विपद् पुनस्र्थापनासम्बन्धी केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्ने क्रममा केन्द्रले प्रभावकारी रूपमा कसरी काम गर्न सक्छ भन्ने विषयमा सम्बन्धित सरोकारवालाबाट सुझाव तथा परामर्श लिन विश्वविद्यालयले उक्त कार्यक्रमको आयोजना गरेको। थियो ।


नेपालजस्तो प्राकृतिक विपद्को उच्च जोखिममा रहेको मुलुकमा विपद् व्यवस्थापनका गतिविधि देशभित्र मात्र सीमित नराखी अन्तर्राष्ट्रिय स्तरमा समेत समन्वय र सहकार्य गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै कार्यक्रममा छुट्टै सत्र सञ्चालन गरिएको थियो ।


विश्वविद्यालयले स्थापना गर्न लागेको यस केन्द्रले विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तनसँग अनुकूलन, पूर्वचेतावनी प्रणालीको विकास, विपद् प्रतिकार्य तथा पुनस्र्थापनाका क्षेत्रमा अध्ययन, अनुसन्धान र नीतिगत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।