भारतीय शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुद्दा

काठमाडौं/२७ कार्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा एक शिक्षकविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


मोरङको ग्रामथान गाउँपालिका–५ स्थित आदर्श निकेतन आधारभूत विद्यालयमा निम्न माध्यमिक तहको गणित (राहत) शिक्षक पदमा कार्यरत सुरेन्द्रकुमार विश्वास थारुले नियुक्तिका लागि भारतको बिहार स्कुल एक्जामिनेसन बोर्डबाट जारी भएको भनिएको आई.एससी. (इन्टरमिडिएट तह) को नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।


विश्वासले उक्त प्रमाणपत्र पेस गरी २०६३ असार १५ गतेदेखि शिक्षक पदमा नियुक्ति लिई राष्ट्रसेवकको ओहदा प्राप्त गरेको आयोगको दाबी छ । साथै उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही दफाअनुसार सजायको मागदाबीसहित आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।