काठमाडौं/२९ कार्तिक – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनका असरबाट विद्यालय तथा शैक्षिक क्षेत्रलाई सुरक्षित बनाउँदै जलवायुमैत्री र उत्थानशील शिक्षा प्रणाली निर्माणमा लगानी बढाउनुपर्नेमा जोड दिनएका छन् ।
टर्कीको अन्ताल्यामा आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–३१ अन्तर्गत नेपालको प्याभिलियनमा आयोजित कार्यक्रममा विशेष मन्तव्य राख्दै उनले विद्यालयमा ठूलो लगानी गर्नुअघि देशभरका विद्यालयको भौतिक पूर्वाधार र सुरक्षाको अवस्था अध्ययन तथा मूल्याङ्कन गरिने बताए ।
मन्त्री पोखरेलले चालु आर्थिक वर्षमा विद्यालय पूर्वाधार मूल्याङ्कनका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको र भवनको संरचनागत अवस्था, पहुँचयोग्यता, कक्षाकोठा, शैक्षिक सामग्रीलगायत समग्र पक्षको अध्ययन गरी आवश्यकताका आधारमा लगानी गरिने स्पष्ट पारे ।
विगतमा पर्याप्त अध्ययनबिना गरिएका पूर्वाधार लगानीका कारण विद्यालयहरू जोखिममा परेको र धनजनको क्षति भएको अनुभवबाट पाठ सिक्दै अब अध्ययनमा आधारित सुरक्षित तथा जलवायुमैत्री विद्यालय निर्माणलाई प्राथमिकता दिइने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल सरकार, सेभ द चिल्ड्रेन, ग्लोबल पार्टनरसिप फर एजुकेसन, प्लान इन्टरनेसनल नर्वे तथा युथ एलायन्स फर इन्भायरोन्मेन्टका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


