सामाजिकीकरणलाई समाजसँग जोडेर शिक्षण गर्ने तरिका

काठमाडौं/२३ मंसिर – व्यक्तिलाई समाजका मूल्य, मान्यता, परम्परा र व्यवहारका नियम सिकाउने प्रक्रियालाई सामाजिकीकरण भनिन्छ । यो व्यक्तिको सामाजिक जीवनको आधार पनि हो । जसले समाजमा प्रभावकारी रूपमा अनुकूलन र सहभागिता गर्न सक्षम बनाउँछ । सामाजिकीकरणको प्रक्रिया जन्मदेखि नै सुरु भई जीवनभर चलिरहन्छ । यसले व्यक्तिलाई सामाजिक अस्तित्वका लागि आवश्यक पर्ने ज्ञान, सिप र व्यवहार प्रदान गर्छ । सामाजिकीकरणका मुख्य स्रोतहरूमा परिवार, विद्यालय, साथीभाई, सञ्चार र अन्य सामाजिक संस्थाहरू पर्छन् ।


परिवारमा प्रारम्भिक सामाजिकीकरण अन्तर्गत बालबालिकाले भाषा, आचरण र संस्कार सिक्छन् । विद्यालयले औपचारिक शिक्षा र सामाजिक अनुशासन प्रदान गर्छ । सामाजिकीकरणको प्रक्रियाले समाज र व्यक्तिबीच सामञ्जस्य कायम राख्दै सांस्कृतिक निरन्तरता सुनिश्चित गर्छ । सामाजिकीकरणले व्यक्तिलाई समाजका भिन्न भूमिकाहरू बुझ्न र आत्मसात् गर्न सहयोग गर्छ । यसले व्यक्तिको पहिचान, सोचाइ र व्यवहारको निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ ।


सामाजिकीकरणका तत्व


सामाजिकीकरण एक प्रक्रिया हो । सामाजिकीकरणमा व्यक्ति समाजको सदस्य बन्छ र समाजका मान्यता, मूल्य, नियम र व्यवहारहरु सिक्छ । यस प्रक्रियामा विभिन्न तत्वहरूको भूमिका महत्वपूर्ण रहेको हुन्छ । प्रेम र स्नेह, सहयोग, अन्तरक्रिया, सम्मान र भाषा जस्ता सामाजिकीकरणका तत्वहरूले सामाजिकीकरणको प्रक्रियालाई प्रभावकारी बनाउँछन् ।


१. प्रेम र स्नेह
प्रेम र स्नेह सामाजिकीकरणका आधारभूत तत्व हुन् । पारिवारिक सम्बन्धमा देखिने प्रेम र स्नेहले व्यक्तिलाई आत्मविश्वास र सुरक्षाको अनुभूति दिन्छ । बाल्यावस्थामा आमाबाबु, दाजुभाइ, दिदीबहिनी तथा अन्य परिवारका सदस्यहरूले देखाएको माया र स्नेहले व्यक्तिको व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्छ ।


२. सहयोग
सहयोग सामाजिकीकरणलाई सुदृढ बनाउने अर्को महत्वपूर्ण तत्व हो । समाजमा मानिसहरूबीच परस्पर सहयोगको आवश्यक हुन्छ । सहयोगको भावनाले व्यक्तिमा समाजप्रतिको उत्तरदायित्व र दायित्वबोधलाई प्रगाढ बनाउँछ । सहकर्मी, शिक्षक र समुदायको सहयोगबाट व्यक्ति विभिन्न सामाजिक सीप र व्यवहार सिक्छ ।


३. अन्तरक्रिया
सामाजिकीकरण अन्तरक्रियात्मक प्रक्रियामा आधारित हुन्छ । परिवार, विद्यालय तथा समाजका अन्य सदस्यहरूसँगको दैनिक कुराकानी र क्रियाकलापहरूले व्यक्ति सामाजिक सीपहरू सिक्छ । अन्तरक्रिया नै व्यक्तिलाई समाजका मूल्य, नियम र संस्कृतिबारे ज्ञान दिने प्रमुख माध्यम हो ।


४. सम्मान
सम्मान सामाजिकीकरणको महत्वपूर्ण तत्व हो । समाजमा प्रत्येक व्यक्तिले अरूलाई सम्मान दिन र लिने प्रक्रियाबाट नै सामाजिक सम्बन्धहरू सुदृढ हुन्छन् । शिक्षक, अभिभावक, अग्रज तथा अन्य व्यक्तिहरूप्रति देखाइएको सम्मानले व्यक्तिको आचरण र व्यवहारलाई सकारात्मक दिशामा अघि बढ्न सहयोग गर्छ ।


५. भाषा
भाषा सामाजिकीकरणको प्रमुख माध्यम हो । व्यक्तिले समाजको संस्कार, परम्परा र ज्ञान भाषाको माध्यमबाट सिक्छ । व्यक्तिले परिवारका सदस्यहरूबाट भाषा सिकेर समाजसँगको सम्बन्ध निर्माण गर्छ । भाषाले व्यक्तिको विचार आदान–प्रदान र समाजमा पहिचान कायम गर्न महत्वपूर्ण भूमिका खेल्छ ।


सामाजिकीकरणको महत्व


सामाजिकीकरण व्यक्ति र समाजको बीचमा हुने पारस्परिक सम्बन्ध विकासको प्रक्रिया हो । यसले व्यक्तिलाई समाजको नियम, मूल्य, संस्कृति र सामाजिक व्यवहार सिक्न सहयोग गर्छ । सामाजिकीकरणका महत्वहरू निम्नानुसार रहेका छन् :


(१) व्यक्तिगत विकासको आधार : सामाजिकीकरणले व्यक्तिलाई सामाजिक मान्यता प्राप्त गर्न, आफ्नो पहिचान निर्माण गर्न र व्यक्तिगत सीप र क्षमता विकास गर्न सहयोग गर्छ ।


(२) सामाजिक व्यवहार सिकाउने माध्यम : सामाजिकीकरणको प्रक्रियाले व्यक्तिलाई समाजमा व्यवहार गर्नुपर्ने कुरा सिकाउँछ । जसले समूहमा स्वीकार्यता र सहयोग सुनिश्चित गर्छ ।


(३) सांस्कृतिक हस्तान्तरण : सामाजिकीकरणबाट व्यक्तिले समाजको संस्कृति, परम्परा र मान्यता सिक्छ । सामाजिकीकरणले समाजको निरन्तरता कायम गर्न सहयोग गर्छ ।


(४) सामाजिक एकता र स्थिरताको प्रवद्र्धन : सामाजिकीकरणको प्रक्रियाले सामाजिक मूल्य, मान्यता, नियम र आचरणलाई अनुसरण गर्न प्रेरित गर्छ । जसले सामाजिक एकता र स्थिरता कायम राख्छ ।


(५) परिवर्तन र नवप्रवर्तनको आधार : सामाजिकीकरणले व्यक्तिलाई नयाँ विचार र सिप सिक्न प्रेरित गर्छ । जसले समाजमा परिवर्तन र नवप्रवर्तन ल्याउन सहयोग गर्छ ।


सामाजिकीकरणका माध्यम/निकायहरू


(१) घर परिवार : घर परिवार व्यक्तिको पहिलो पाठशाला हो । व्यक्तिले परिवारबाट भाषा, मूल्य, मान्यता, संस्कार, सम्मान, नाता सम्बन्धलगायतका सामाजिक गुण सिक्ने र अभ्यास गर्ने गर्दछ । परिणामतः समाजमा ऊ सजिलै घुलमिल भई एक सदस्यका रूपमा आफूलाई स्थापित गर्छ ।


(२) विद्यालय : विद्यालय समुदायका बालबालिका अध्ययन गर्ने र घुलमिल हुने महत्वपूर्ण स्थान हो । विद्यालयमा विविध भाषा, संस्कृति, जातजाति र धर्म मान्ने विद्यार्थीवीचमा छलफल, सहकार्य र सम्मानको वातारण तयार हुन्छ । विद्यालयमा विद्यार्थीबीच एकआपसमा परिचित हुने, राम्रा बानीको निर्माण गर्न अवसर प्राप्त हुन्छ । शिक्षकबाट प्राप्त ज्ञान सिप र असल मूल्य मान्यताको अभ्यास गर्छन् । यसरी विद्यालयले विद्यार्थीको सामाजिकीकरणमा सहयोग गर्छ ।


(३) दौतरी समूह : समान उमेर र तहका साथीहरूलाइ दौतरी समूह भनिन्छ । विद्यालय आवतजावत, खेलकुद, मनोरञ्जनका कार्य गर्दा उनीहरूबीच सहजै अन्तरघुलन हुनुका साथै सामाजिक व्यवहारको आदान प्रदान हुन्छ । सहयोग, सहकार्य, मेलमिलापका अभ्यास हुने हुँदा दौतरी समूह सामाजिकीकरणको माध्यम बन्छ ।


(४) सांस्कृतिक गतिविधि : समुदायमा हुने विभिन्न जात्रा, मेला, पर्व जस्ता सांस्कृतिक गतिविधिहरुले पनि सामाजिकीकरणमा सहयोग गर्छन् । यस्ता गतिविधिहरूले सामूहिकता, सहिष्णुता र परम्पराप्रतिको सम्मानको भावना जागृत गर्छ । व्यक्तिहरूलाई समुदायसँग जोड्न र एकताको भावना विकसित गर्न सहयोग गर्छ ।


सामाजिकीकरणका व्यावहारिक अभ्यासहरू


(१) सामाजिक समुहमा सहभागिताः बालबालिकाहरु विभिन्न सामाजिक समूहमा रही विभिन्न सामाजिक गतिविधिहरुमा संलग्न हुने गर्छन् । जस्तै : विद्यालय, क्लब र समुदायका गतिविधिहरूमा संलग्न हुनु । यसले व्यक्तिको सामाजिक कौशलको विकासमा सहयोग गर्छ ।


(२) सामाजिक खेल र गतिविधिहरू : बालबालिकालाई खेलकुद, सांस्कृतिक कार्यक्रम र सामुदायिक उत्सवमा सहभागी गराउनाले उनीहरूमा समूह कार्य र सहयोगको भावनाको विकास हुन्छ ।


(३) संवाद र संचार कौशल : बालबालिकाहरू विभिन्न व्यक्तिहरूसँग संवाद गर्न र विचार आदानप्रदान गर्न उत्साहित हुन्छन् । यसले उनीहरूको सञ्चार क्षमता र आत्मविश्वासमा वृद्धि गर्छ ।


(४) मूल्य र नैतिक शिक्षा : विभिन्न मूल्य र नैतिकतासँग सम्बन्धित शिक्षा दिनाले सहिष्णुता, सम्मान र सहयोगको भावना बढ्छ । जसले सामाजिक सम्बन्धमा सकारात्मक प्रभाव पार्छ ।


(५) सामाजिक सेवामा संलग्नता : विभिन्न सामाजिक सेवाहरूमा स्वयंसेवको रूपमा भाग लिन प्रोत्साहित गर्नाले सहानुभूति, जिम्मेवारी र योगदानको भावना विकास हुन्छ ।


सामाजिकीकरणलाई शिक्षण गर्ने तरिका
विद्यार्थीलाई सामाजिकीकरण प्रभावकारी तरिकाबाट सिकाउन शिक्षकले निम्नानुसारका तरिका अपनाउन सक्छन् :


१. कथाको प्रयोग : सामाजिकीकरणका उदाहरण प्रस्तुत गर्न कथाहरू सुनाउने । कथामा समाज, परिवार र समुदायका भूमिकाहरू उजागर गर्ने । उदाहरणः कुनै पात्रले सामाजिक मूल्य सिकेको कथा सुनाउन सकिन्छ ।


२. समूह गतिविधि : विद्यार्थीलाई समूहमा विभाजन गरी समस्या समाधान गर्ने कार्य दिने । समूहमा सहकार्य, संवाद र सहिष्णुता सम्बन्धी अभ्यास गराउने । उदाहरणः “समाजमा काम विभाजन” विषयमा समूह छलफल गराउन सकिन्छ ।


३. भूमिका निर्वाह : विद्यार्थीलाई विभिन्न भूमिकामा अभिनय गर्न लगाउने । जस्तै शिक्षक, समाजसेवी वा कुनै समुदायका प्रतिनिधि आदि हुन सक्छ । यसले विद्यार्थीलाई समाजका विभिन्न व्यक्तित्व र भूमिकाबारे अनुभव दिन्छ ।


४. समाजको अवलोकन : विद्यार्थीलाई आफ्नै समुदाय वा छिमेकमा समुदायका गतिविधि अवलोकन गर्न लगाउने । अवलोकन गरेपछि त्यस विषयमा कक्षा छलफल गराउने । उदाहरण ः “स्थानीय पर्वमा सामाजिकीकरण” हुन सक्छ ।


५. छलफल : सामाजिकीकरणसँग सम्बन्धित विषयमा छलफल गर्न लगाउने । जस्तै “परिवारको भूमिकाः सामाजिकीकरणको मुख्य स्रोत ।” आदि हुन सक्छ । शिक्षकले विद्यार्थीको विचार सुन्ने र समालोचनात्मक सोच विकास गर्न सहयोग गर्नुपर्छ ।


६. प्राविधिक स्रोतको प्रयोग : भिडियो, डकुमेन्ट्री वा एनिमेसनद्वारा सामाजिकीकरणका उदाहरण देखाउने । उदाहरणः कुनै सामाजिकीकरण सम्बन्धी भिडियो देखाएर त्यसको प्रभावबारे छलफल गराउन सकिन्छ ।


७. अनुभव साझेदारी : विद्यार्थीलाई आफ्ना अनुभव साझा गर्न लगाउने । जस्तै साथीहरूसँग सिकेका सामाजिक मूल्यहरू आदान प्रदान गर्न सकिन्छ । शिक्षकले पनि आफ्नो अनुभव साझेदारी गर्ने । जसले विद्यार्थीमा विश्वास र आत्मियता बढाउँछ ।


८. सामाजिक गतिविधिमा सहभागी गराउने : विद्यार्थीहरुलाई विद्यालय वा समुदायमा सफाई अभियान, सहयोग कार्यक्रम वा सांस्कृतिक उत्सवमा सहभागी गराउने । यस्तो गतिविधिले उनीहरूलाई सामाजिक उत्तरदायित्वबोध गराउँछ ।


९. सिर्जनात्मक लेखन : “सामाजिकीकरणले मेरो जीवनमा ल्याएको परिवर्तन” जस्ता शीर्षकमा निबन्ध वा कथा लेख्न लगाउने । यसले विद्यार्थीको सोच र अभिव्यक्ति कौशललाई प्रवद्र्धन गर्छ ।


१०. परियोजना आधारित सिकाइ : सामाजिकीकरणसँग सम्बन्धित परियोजनाहरू बनाउने । जस्तै “मेरो समाजको परम्परा र संस्कृति” आदि हुन सक्छन् । विद्यार्थीलाई टोलीमा काम गर्न लगाएर परियोजना प्रस्तुत गराउने । लेखक खिलानाथ धमला पाठ्यक्रम विकास केन्द्रमा कार्यरत हुनुुहन्छ ।


हेर्नुहोस भिडियो ।