काठमाण्डौं/१९ माघ– बागलुङ नगरपालिकाले नगरभित्र रहेका सबै विद्यालयमा किशोरावस्थाका ‘छात्राहरुलाई आइरन चक्की खुवाउने’ अभियान सञ्चालन गरेको छ ।
किशोरी तथा युवतीलाई रक्तअल्पता जस्ता समस्याबाट जोगाउनका लागि विद्यालयबाट नै आइरन चक्की खुवाउने अभियान सुरू भएको हो ।
नगरपालिकाले कक्षा पाँचभन्दा माथिल्लो कक्षामा पढाइ हुने सबै विद्यालयका छात्राहरुलाई आइतबार देखि नै आइरन चक्की खुवाएर अभियानको थालनी गरेको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
यो अभियान पोषणको अभियान हो, आज दिएको आइरन चक्कीले भोलि यौवन अवस्थामा महिलामा देखिने रक्तअल्पता कम हुन्छ भन्दै प्रमुख खनालले भने, “बागलुङमा पहिलोपटक सबै वडाका विद्यालयमा पाँचभन्दा माथिल्लो कक्षाका सबै छात्राहरुलाई पुग्ने गरी हामीले अभियान थालेका छौँ ।”
नेपाल सरकारको पोषण कार्यक्रमअन्तर्गत विद्यालयकै सक्रियतामा सञ्चालन यस अभियानअन्तर्गत शिक्षकले आफ्नो विद्यालयका किशोरीलाई हप्तामा एक पटकका दरले १३ हप्ता आइरन खुवाउने छन् । नजिकै रहेको स्वास्थ्य संस्थाले विद्यालयका स्वास्थ्य विषय अध्ययन गराउने शिक्षकलाई आइरन चक्की उपलब्ध गराउने छन् । यस्तै, अभियानको अनुगमन र सुपरिवेक्षणको जिम्मेवारी विद्यालय नजिकै रहेका स्वास्थ्य संस्थाका प्रमुखलाई दिइएको छ ।
यो कार्यक्रममा १० वर्षमाथि १९ वर्षसम्म उमेर समूहका किशोरी सहभागी हुनेछन् । नगरपालिकाले नियमित कार्यक्रम बनाएर अभियानमा कसैलाई नछुट्ने गरी विद्यालयमा अवश्यक आइरन चक्कीको व्यवस्थापन गरिएको प्रमुख खनालको भनाइ छ ।
बागलुङ नगरपालिकामा अहिले ३४ सामुदायिक र १७ संस्थागत विद्यालयमा पठनपाठन हुने गरेको छ । सामुदायिक विद्यालयका करिब एक हजार र संस्थागत विद्यालयका एक हजार पाँच सय छात्रा यस अभियानमा संलग्न हुने शिक्षा शाखाका अधिकृत गौरव रानाले जानकारी दिएको छ ।