काठमाण्डौं/०७ माघ– माघ ८ गतेदेखि तारकेश्वरमा संस्थागत विद्यालयहरूको सङ्गठन (ओप्स) को आयोजनामा साताव्यापी खेलुकद प्रतियोगिता हुने भएको छ ।
हिजो भएको पत्रकार सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै ओप्सका इसिए विभाग प्रमुख राजेन्द्र फुयाँलले खेलकुद कार्यक्रमबारे जानकारी गराएका थिए । ओप्सका सचिव शिव अर्यालले सञ्चालन गरेको उक्त कार्यक्रममा ओप्सका कोषाध्यक्ष धनबहादुर पुन, सल्लाहकार रामकृष्ण अधिकारी लगायत ओप्ससँग आवद्ध विद्यालयका प्रिन्सिपलहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले ‘जीवन जिउने आधार शिक्षा र शिक्षाको परिपुरक’ भन्ने मुल नारा राखेर यसपटकको खेलकुद कार्यक्रम गर्न लागिरहेको बताए । उनले यसपटकको खेलमा अन्य खेलसँगै भलिवल खेललाई पनि समावेश गरिएको जानकारी दिए । ‘खेलले विद्यार्थीको पढाई छेक्दैन बरू विद्यार्थीलाई अनशासनमा राख्छ, कितावी ज्ञानले मात्र विद्यार्थीको सर्वाङ्गिण विकास नहुने भएकाले अतिरिक्त क्रियाकलापहरूमा जोड दिन आवश्यक रहेको’ उनले बताए ।
ओप्सले विगत् देखि नै राष्ट्रिय खेलाडी उत्पादन गर्न खेलकुद कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । ओप्सका पदाधिकारीहरू स्कुलका प्रिन्सिपल मात्र नभएर खेलकुद क्षेत्रसँग आवद्ध व्यक्तिहरु नै रहेका छन् । काठमाडौं जिल्लाभित्र रहेका ठूला २५ ओटा विद्यालयहरू ओप्समा आवद्ध छन् । २३ ओटा संस्थागत विद्यालयका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरु यसपटकको खेल प्रतियोगितामा भाग लिँदैछन् ।
माघ ८ गते सबै स्कुलहरूको बृहत् ¥यालीका साथ तारकेश्वरको गोलढुंगा खेल मैदानमा सभासद्, नगर प्रमुख र विशिष्ट व्यक्तिहरूका बीचमा कार्यक्रमको उद्घाटन हुनेछ । फुटवल र यथेलेटिक्स विधाका खेलहरू गोलढुंगाको खेलमैदानमै हुनेछ भने ब्याडमिन्टन खेल जिफो हलमा र भलिवल खेल पैंयाटार खेल मैदानमा हुने भएको छ । सो खेलमा विजयी टिमहरूलाई आर्थिक पुरस्कार, मेडल र ट्रफिका साथै सहभागी विजेता खेलाडी र विद्यालयलाई प्रमाणपत्रहरु वितरण गरिनेछ । फुटवल प्रतियोगितामा बेस्ट डिफेण्डर, बेस्ट गोलकिपर, बेस्ट मिड फिल्डर, बेस्ट स्ट्रीकर, बेस्ट कोच, बेस्ट प्लेयर, फेयर प्ले टिम र नकआवट चरणमा मेन अफ द म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
फुटवलको लागि मात्र ५ लाख नगद खर्चको व्यवस्था गरिएको उक्त खेलकुद प्रतियोगिता कार्यक्रम माघ १४ गते समापन हुनेछ ।