आईडब्लुएस बास्केटबलमा संस्कृति, भक्तपुर निस्ट र ड्याफोडिल च्याम्पियन

काठमाडौं /२६ भदौ – संस्कृति इन्टरनेसनल स्कुल, भक्तपुर निस्ट स्कुल र ड्याफोडिल स्कुलले तीन फरक उमेर समूहमा उपाधि जित्दै आईडब्लुएस बास्केटबल टुर्नामेन्ट–२०२६ को च्याम्पियन बनेका छन् ।


इम्पेरियल वर्ल्ड  स्कुलको आयोजनामा भदौ १५ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा जुनियर ब्वाइजतर्फ ड्याफोडिल स्कुल, सिनियर ब्वाइजतर्फ संस्कृति इन्टरनेसनल स्कुल र सिनियर गल्र्सतर्फ भक्तपुर निस्ट स्कुल विजेता बनेका हुन् ।


जुनियर ब्वाइजको फाइनलमा ड्याफोडिल स्कुलले प्रिमियर इन्टरनेसनल स्कुललाई २८–२७ को रोमाञ्चक अन्तरले पराजित गर्दै उपाधि जित्यो । प्रिमियर इन्टरनेसनल स्कुल उपविजेतामा सीमित भयो ।


सिनियर ब्वाइजतर्फ संस्कृति इन्टरनेसनल स्कुलले प्रभावशाली प्रदर्शन गर्दै उपाधि हात पा¥यो। फाइनलमा संस्कृतिले भक्तपुर निस्ट स्कुललाई ६२–२९ को फराकिलो अन्तरले पराजित ग¥यो। भक्तपुर निस्ट उपविजेता बन्यो ।


त्यस्तै, सिनियर गल्र्सतर्फ भक्तपुर निस्ट स्कुल च्याम्पियन बन्यो। फाइनलमा भक्तपुर निस्टले काष्ठमण्डप विद्यालयलाई २८–२४ ले पराजित गर्दै उपाधि जितेको हो । काष्ठमण्डप विद्यालय उपविजेतामा रह्यो ।


प्रतियोगितामा सिनियर ब्वाइजतर्फ संस्कृति इन्टरनेसनलका अभिग्न श्रेष्ठ हाई स्कोरर तथा उत्कृष्ट खेलाडी घोषित भए । भक्तपुर निस्टका समिन कार्की उत्कृष्ट थ्री–पोइन्टर बने ।


सिनियर गल्र्सतर्फ काष्ठमण्डप विद्यालयकी आराध्या ओझा हाई स्कोरर, भक्तपुर निस्टकी श्रीतु रिसाल उत्कृष्ट थ्री–पोइन्टर तथा भक्तपुर निस्टकै मानस्वी विष्ट उत्कृष्ट खेलाडी घोषित भइन् ।


जुनियर ब्वाइजतर्फ प्रिमियर इन्टरनेसनलका अधिस प्रधानाङ्ग हाई स्कोरर बने । ड्याफोडिलका पेम्बा शेर्पा उत्कृष्ट थ्री–पोइन्टर तथा उत्कृष्ट खेलाडी घोषित भए ।


प्रतियोगिताका विजेता तथा उपविजेता टोलीसँगै उत्कृष्ट खेलाडीलाई नेपाल बास्केटबल संघका अध्यक्ष भिम सिंह गुरुङ, इम्पेरियल वल्र्ड स्कुलका अध्यक्ष कुमार कार्की, प्रिन्सिपल जुनिता कार्कीलगायतले ट्रफी, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।


समापन समारोहमा बोल्दै नेपाल बास्केटबल संघका अध्यक्ष भिम सिंह गुरुङले विद्यालयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले विद्यार्थी खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्न तथा बास्केटबलमा अझ राम्रो प्रदर्शन गर्न प्रेरित गर्ने बताए ।


खेलाडीका लागि अनुशासन महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै गुरुङले खेलसँगै दैनिक जीवनमा समेत अनुशासन कायम राखेर अघि बढ्न खेलाडीलाई आग्रह गरे ।


प्रतियोगितामा १५ विद्यालयका २४ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताका क्रममा कुल ४५ खेल सम्पन्न भएका थिए ।


प्रतियोगितामा इम्पेरियल वल्र्ड स्कुल, ड्याफोडिल स्कुल, प्रिमियर इन्टरनेसनल स्कुल, भक्तपुर निस्ट स्कुल, न्यू मिलेनियम स्कुल, युरो स्कुल, काष्ठमण्डप विद्यालय, संस्कृति इन्टरनेसनल स्कुल, मेरिडियन इन्टरनेसनल स्कुल, जेम्स स्कुल, डिभाइन स्कुल, रातो बंगला स्कुल, काठमाडौं युरो स्कुल, त्रियोग स्कुल र टीआईए स्कुल सहभागी थिए ।