भोटेकोशी बाढीपीडितका लागि हिसानले दियो ३ करोड

काठमाडौं/२६ भदौ – भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले ३ करोड सहयोग गरेको छ ।


शुक्रबार सिंहदरबारमा अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गरेको हो ।


बाढीका कारण विद्यार्थी, अभिभावक र विद्यालयसमेत प्रभावित भएका छन् । विद्यालय भवन, शैक्षिक सामग्री तथा पूर्वाधारमा क्षति पुगेपछि विद्यार्थीको पढाइ निरन्तरताका लागी हिसानले सरकार मार्फत सहयोग गरेको जनाएको छ ।


उक्त सहयोग राहतसँगै प्रभावित विद्यार्थीको शिक्षा निरन्तरता र विद्यालय पुनःस्थापनामा समेत उपयोगी हुने हिसानका अध्यक्ष युवराज शर्माले बताए । साथै विपद्का बेला निजी शिक्षा क्षेत्रले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिँदै हिसानले राज्यको राहत तथा उद्धार अभियानमा सहयोग गरेको महासचिव रामहरी सिलवाको भनाई छ ।