लन्डन/२५ कार्तिक – बेलायतका विद्यालयमा विद्यार्थीले मोबाइल फोन प्रयोग गर्ने मात्र नभई विद्यालय समयभरि फोन आफूसँगै राख्नसमेत नपाउने व्यवस्था लागू गर्ने तयारी गरिएको छ ।
सरकारको नयाँ निर्देशिकाअनुसार सन् २०२७ सेप्टेम्बरदेखि विद्यालय समयमा विद्यार्थीलाई मोबाइल फोन साथमा राख्न प्रतिबन्ध लगाइनेछ । यससँगै विद्यालय परिसरलाई मोबाइलमुक्त बनाउने अभियानले थप कडाइ पाउने भएको छ ।
यसअघि केही विद्यालयले विद्यार्थीलाई मोबाइल फोन झोलामा राख्न अनुमति दिँदै आएका थिए । तर नयाँ व्यवस्थाले फोन देखिने वा आवाज सुनिने अवस्थासमेत रोक्ने लक्ष्य राखेको छ ।
सरकारले मोबाइल फोनको अत्यधिक पहुँचले विद्यार्थीको पढाइमा अवरोध पु¥याउनुका साथै उनीहरूबीचको प्रत्यक्ष अन्तरक्रियामा कमी ल्याउन सक्ने जनाएको छ । नियम कार्यान्वयनको जिम्मेवारी भने सम्बन्धित विद्यालयलाई नै दिइनेछ । विद्यालयहरूले मोबाइल संकलन गर्ने, सुरक्षित लकरमा राख्ने वा ताल्चा लगाउन मिल्ने विशेष थैली प्रयोग गर्न सक्नेछन् ।
केही विद्यालयले यसअघि नै विद्यालय प्रवेश गर्दा फोन जम्मा गर्ने अभ्यास सुरु गरिसकेका छन् भने कतिपयले विद्यालयमा मोबाइल ल्याउनै निषेध गरेका छन् । यद्यपि बेलायतका विभिन्न क्षेत्रमा शिक्षा नीति बनाउने अधिकार फरक निकायसँग रहेकाले मोबाइल प्रतिबन्धसम्बन्धी व्यवस्था पनि क्षेत्रअनुसार फरक हुन सक्नेछ ।



