अभिभावक गुमाएका बालबालिकाको भविष्य सरकारले सम्हाल्ने, उच्च शिक्षासम्म निःशुल्क पढाइ

काठमाडौं/२१ कार्तिक – गत भदौको विनाशकारी बाढीमा अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले उच्च शिक्षासम्म जुनसुकै विषयमा पूर्ण निःशुल्क अध्ययन गर्न पाउने भएका छन् । सरकारले उनीहरूको शिक्षामा निरन्तरता र भविष्य सुनिश्चित गर्ने उद्देश्यले विद्यालय तहदेखि उच्च शिक्षासम्म छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको हो ।


शिक्षामन्त्री सस्मित पोखरेलले अभिभावक गुमाएका बालबालिकाको शिक्षा आर्थिक अभावका कारण बीचमै रोकिन नदिन सरकार प्रतिबद्ध रहेको जानकारी दिएका छन् । उनीहरूको उज्ज्वल भविष्य निर्माणका लागि उच्च शिक्षासम्म पूर्ण निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने मन्त्रीस्तरीय निर्णय गरी कार्यान्वयन प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।


यसअघि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन निर्देशिका, २०८३’ मार्फत विद्यालय तहमा निःशुल्क शिक्षाको व्यवस्था कार्यान्वयन हुँदै आएको थियो । सरकारले अब उक्त योजनालाई उच्च शिक्षासम्म विस्तार गर्दै प्रभावित बालबालिकालाई जुनसुकै विषय अध्ययन गर्न पाउने अवसर सुनिश्चित गर्न लागेको हो ।


कार्यक्रमको पहिलो चरणमा पहिचान भएका २७ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने मन्त्री सस्मित पोखरेलले बताए । अन्य प्रभावित बालबालिकाको समेत पहिचान गरी क्रमशः चरणबद्ध रूपमा छात्रवृत्ति विस्तार गरिने उनले जानकारी दिए ।


विद्यालय तहमा अध्ययनरत विद्यार्थीका लागि शिक्षा विभाग, स्थानीय तह तथा सम्बन्धित छाता संस्थासँग समन्वय गरेर प्रक्रिया अघि बढाइनेछ । त्यस्तै, उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत नियमित छात्रवृत्ति कोटामा थप व्यवस्था गरी अध्ययनको अवसर मिलाइनेछ ।


विपत्तिमा अभिभावक गुमाउनुको पीडासँगै शिक्षाबाट समेत वञ्चित हुनुपर्ने अवस्था आउन नदिन सरकारले अघि सारेको यो पहललाई प्रभावित बालबालिकाको भविष्य सुरक्षित गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको मन्त्री पोखरेललको भनाई छ ।