काठमाडौँ /१४ जेठ-शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह मनाउने भएको छ । शिक्षा क्षेत्रका विभिन्न सवाल तथा समसामयिक विषयहरुमा सरोकारवाला निकायहरुको ध्यानाकर्षण गर्न र सरकार लगायत जिम्मेवार निकायहरुलाई जवाफदेही र उत्तरदायी बनाई नेपालका सबै बालबालिकाहरुको समान, समतामुलक, निःशूल्क र गुणस्तरीय शिक्षा अधिकार सुनिश्चित गर्ने उदेश्यले विश्वव्यापी कार्यसप्ताह मनाउने भएको हो ।
कार्यसप्ताहका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह डिकोलोजाइसेन एजुकेशन फाईनान्सिङ भन्ने मुल नारा सहित जेठ १५ गतेदेखि १९ गतेसम्म मनाउन लागिएको एनसीई नेपालले जनाएको छ । कार्यसप्ताह नेपालसहित विश्वभरका १५० भन्दा बढी देशमा मनाउन लागिएको हो।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई नेपाल) का अध्यक्ष राजेन्द्र पहाडीले अन्तराष्ट्रिय प्रतिबद्धता र संवैधानिक दायित्व पूरा गर्न सरकारलाई दबाब दिनका लागि कार्यसप्ताह मनाउन लागिएको जनाए । उनले संघीय शिक्षा ऐन तत्काल जारी गर्न दबाब सिर्जना गर्न विभिन्न सरोकारवालाहरुबाट कम्तिमा ५० हजार हस्ताक्षर संकलन र हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानारी दिए ।
पहाडीले शिक्षा क्षेत्रको विकासका लागि शिक्षाको बजेटमा २० प्रतिशत बजेट छुट्टाउनुपर्ने बताउँदै शिक्षामा पर्याप्त लगानी गर्न सरकारलाई सन्देश दिन र आगामी आर्थिक वर्षको बजेटमा शिक्षालाई प्राथमिकतामा राख्न स्थनीय स्तरमा आर्थिक श्रोतहरु पहिचान तथा परिचालन गर्न दबाब दिने बताए ।



