योग शिक्षालाई विद्यालय तहमा अनिवार्य गर्न माग, असार ६ मा योग दिवस मनाईदै

काठमाडौं/१४ जेठ-योग शिक्षालाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्न माग गरिएको छ । विश्वविद्यालयका प्राध्यापक तथा योगगुरुहरुले विद्यालय तहदेखि नै योग शिक्षाको आवश्यक रहेको बताउँदै पाठ्यक्रममा समावेश गर्न माग गरेका हुन् ।


विश्व योग दिवस २०८० मनाउने सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक तथा योगगुरुहरु, यौगिक संस्थाहरुका प्रतिनिधिहरुले विद्यालय तहको शिक्षामा पाठ्यक्रममा र विश्वविद्यालयमा विभाग खोलेर योग शिक्षाको पढाई हुनुपर्ने बताएका छन् ।


त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामि असार ६ गतेदेखि सप्ताहव्यपी योग दिवस मनाउन तयारी गरेएको जनाएको छ । प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा योग दिवस मनाउन तयारि गरेएको मन्त्रालयले जानकारी दिएको छ । सन २०१५ देखि प्रत्येक वर्ष जुन २१ लाई विश्व योग दिवस मनाउँदै आएको र त्यसै अनुरुप यो वर्ष पनि योग दिवस मनाउने तयारी भएको मन्त्रालयको भनाई छ ।


स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानशिक र आध्यात्मिक रुपमा सबल बनाउन योगले सहयोग पुग्ने र नियमित योग अभ्यासमा व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, व्यक्तिमा सकारात्मक सोँचको विकास हुने र आत्म प्रेणा भई काममा प्रभावकारिता आउने लगायतका सकारात्मक गुणको विकास हुने भएकोले यसलाई व्यवहारमा कार्यन्वयन गराउँन मन्त्रालय लाग्नुपर्ने सरोकारवालाहरुको भनाई थियो ।


शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले असार ६ गतेदेखि सप्ताहव्यपी योग दिवस मनाउन लागिएको जानकारी दिँदै यसलाई सफल पार्न योगगुरुहरुलाई सहयोग गर्न आग्रह गरे । उनले योग स्वस्थ्य जीवन जिउनका लागि सबैलाई आवश्यक रहेको बताउँदै योग शिक्षालाई पाठ्यक्रममा समावेश गर्ने कुरा छलफल गरेर अगाडी बढ्न आफु तयार रहेको बताए ।