काठमाडौँ डन बोस्को कलेज र आइएमसी, अष्ट्रिया बिच सम्झौता

काठमाडौं/१४ जेठ-काठमाडौँ डन बोस्को कलेज र अष्ट्रियाको एप्लाइड साइन्स कलेज आइएमसी विश्वविद्यालय बिच अनुसन्धान र अध्ययनको क्षेत्रमा रणनीतिक साझेदारी स्थापना गर्न सम्झौता भएको छ । उक्त सम्झौतालाई अध्ययन अनुसन्धानका क्षेत्रमा एक महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा उल्लेख गरिएको छ ।


यस साझेदारी अन्तर्गत दुवै पक्षले शैक्षिक र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने, शिक्षक र विद्यार्थी गतिशीलतालाई सहजीकरण गर्ने र सहकार्यमा आधारित अनुसन्धानात्मक योजनाहरूलाई प्रवर्धन गर्ने लक्ष्य राखेका छन् । सम्झौताले दुवै देशका शैक्षिक समुदायका लागि विविध अवसरहरूको सिर्जना गर्दै आ आफ्नो सक्षमता र विशेषज्ञताको सबलीकरण गर्ने जनाइएको छ ।


सम्झौतापत्रमा आइएमसी विश्वविद्यालयका प्राध्यापक हेन्ज बोयर र केडीबीसीका निर्देशक कपिल देव रेग्मीले संयुुक्त रूपमा हस्ताक्षर गरेका थिए । समारोहमा बोल्दै प्रा. बोयरले विद्यार्थीहरू आदानप्रदान गर्नका लागि नेपाली संस्थाहरूसँग सहकार्य निर्माण गर्ने र उनीहरूलाई अस्ट्रिया र नेपाल दुवैतर्फका सिकाइ अवसरहरूको अन्वेषण र उपयोग गर्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिए । वक्ताहरूले पारस्परिक सांस्कृतिक साझेदारीलाई बढावा दिने, शैक्षिक मापदण्डहरू अभिवृद्धि गर्ने र साझेदारीको माध्यमबाट शैक्षिक परिदृश्यलाई सुदृढ पार्ने साझा अवधारणा प्रस्तुत गरेका थिए ।


साथै काठमाडौँ डन बोस्को कलेज आइएमसी विश्वविद्यालयको सहकार्यबाट विशेष लाभान्वित हुने र सहकार्यले सङ्काय सदस्यहरू र अनुसन्धानकर्ताहरूलाई ज्ञान स्थानान्तरण र गुणस्तरीय शैक्षिक अभ्यासहरूमा साझेदारीको अवसर प्रदान गर्ने उदेश्य रहेको जानकारी दिए ।


सम्झौताले काठमाडौँ डन बोस्को कलेज र आइएमसी विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण र विश्वव्यापी संलग्नताको प्रतिबद्धतालाई अझ सुदृढ पार्ने विश्वास व्यक्त गरिएको छ । आ आफ्नो ज्ञान , स्रोत र संयन्त्रहरूको संयोजन गरेर दुवै संस्थाहरूले बौद्धिक उन्नतिलाई पक्षपोषण गर्न र अन्तर्राष्ट्रिय सहकार्यलाई बढावा दिन समृद्ध र गतिशील वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छन् ।