राजनीतिक प्रतिशोधका कारण प्रधानाध्यापक माथि कारबाही, इकाइ भन्छ अधिकार छैन

स्याङ्जा /२ मंसिर-स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका प्रमुख दिर्घनारायण अर्यालले राजनीतिक प्रतिशोधका कारण विद्यालयका प्रधानाध्यापकलाई आफुखुशि कारबाही गरेका छन । उनले श्री दरौ माध्यामिक विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद पौडेललाई आफुले भनेको नमानेको भन्दै कारबाही गरेका हुन् ।


अर्यालले आफ्नो पार्टि र आफु पक्षका शिक्षकलाई संरक्षण गर्दे विभिन्न वाहानामा प्रधानाध्यापकलाई आफुखुशि कारबाही गरेकोे शिक्षकहरुको आरोप छ । उनलाई सहयोग गर्ने, उनको विरोध नगर्ने, उनले भनेको मान्ने र नेपाली कंग्रेसको पक्षमा लाग्ने शिक्षकलाई संरक्षण गरेको र राजनीतिक विमति राख्ने,उनको विरुद्ध बोलेको, गालि गरेको भन्दै प्रधानाध्यापकलाई कारबाही गरेका छन् ।


अर्जुनचौपारी गाउँपालिका प्रमुख दिर्घनारायण अर्यालले एक वर्ष असाधारण विदामा वसेका शिक्षक गुरुप्रसाद तिवारीलाई ६ महिना नपुग्दै विद्यालयमा हाजिर गराउन प्रअलाई निर्देशन दिएकोमा प्रअले हाजिर नगराएको भन्दै दुई वर्षका लागि बढुवा रोक्का गर्ने गरी कारबाही गरेका छन् ।


प्रधानाध्यापक गुरुप्रसाद पौडेललाई दुई पटकसम्म स्पष्टिकरण सोधिएकोमा कुनै जवाफ नदिई अटेर गरेको र पदिय मर्यादा भित्र नरहेकाले कारबाही गरीएको बताएका छन् । शिक्षक नियमावली,२०५९ को परिच्छेद २३,नियम १३७ (क) तथा स्थानीय सरकार संचालन ऐन,२०७४ अनुसार दुइ वर्ष सम्म बढुवा रोक्का गर्ने व्यावस्था भए बमोजिम कारबाही गरिएको उनले बताए ।
तर, प्रधानाध्यापक गुरुप्रसाद पौडेलले भने आफुले स्पष्टिकरण बुझाउनु पर्ने कुनै गल्ति नगरेता पनि पालिकाले सोधिसके पछि दिनुपर्छ भन्ने लागेर स्पष्टिकरण बुझाएको जानकारी दिएका छन् ।


पौडेलका अनुसार प्रावि स्थाई शिक्षक गुरुप्रसाद तिवारी मादक पदार्थ सेवन गरेर विद्यालयमा नआउने, धेरै विदामा बस्ने जस्ता गतिविधि गरेपछि सुध्रिनको लागि एक वर्ष असाधारण विदामा बस्न आग्रह गरिएको बताए । गाउँपालिका अध्यक्ष कै सल्लाहमा तिवारीलाई असाधारण विदामा बस्न भनिएको र शिक्षा विकास तथा समन्वय इकाइबाट एक वर्षका लागि असाधारण विदा स्वीकृत गरीएको जानकारी दिए ।


तिवारी असाधारण विदा बसेको ६ महिनामै विद्यालयमा हाजिर हुन खोजे पछि गाउँपालिका प्रमुखले हाजिर गराउन निर्देशन दिएका थिए । शिक्षा विकास तथा समन्वय इकाइको पत्र विना हाजिर नगराउने भन्दै प्रधानाध्यापक अडान लिए पछि यसै विषयलाई लिएर गाउँपालिका प्रमुखले स्पष्टिकरण सोधेका थिए ।


श्री दरौ माध्यामिक विद्यालयमा हाजिर गराउन नमानेपछि गाउँपालिका प्रमुख अर्यालले आफ्नो घर नजिकैको नव दुर्गा आधारभुत विद्यालयमा दरबन्दी सहित सरुवा गरेर असाधारण विदा कटौति गरी गुरुप्रसाद तिवारीलाई हाजिर हुने व्यावस्था मिलाइ दिएका छन् ।


शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख गुरुप्रसाद पौडेलले दरबन्दी सहित शिक्षलाइ सरुवा गर्ने अधिकार रहेपनि प्रधानाध्यापकलाई कारबाही गर्ने अधिकार गाउँपालिकालाई नरहेको बताए । उनले भने “यो कारबाहीको न प्रक्रिया मिलेको छ, न कानूनसंगत छ । यसरी आवेगमा आएर गरिएको कारबाहीले कुनै कानूनी अर्थ राख्दैन ।”


शिक्षकको बढुवा रोक्का गर्ने वा नगर्ने इकाइको अधिकार रहेको बताउदै गाउँपालिकाले गरेको कारबाहीको कुनै अर्थ नरहेको र बढुवा नरोकिने बताए ।


त्यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाका अध्यक्ष हिमलाल ढकालले यस्ताखालका गतिविधिले शिक्षकको मनोबल खस्किने र विद्यालयमा असर पार्ने भन्दै गाउँपालिका प्रमुखको यस्ता गतिविधि तुरुन्त रोक्नु पर्ने र निर्णय फिर्ता लिनुपर्ने बताए ।


नेपाल शिक्षक संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले गाउँपालिका प्रमुखले प्रधानाध्यापक माथि गरेको कारबाही कानून संगत नरहेको बताउदै खेदपूर्ण रहेको बताए । कारबाही फिर्ता लिनुपर्ने र यदि नलिए गाउँपालिका प्रमुख विरुद्ध आवज उठाउने चेतवनि दिएका छन् ।