मुस्ताङमा/२८ कार्तिक-मुस्ताङमा हिम पहिरो जाँदा भागदौडमा दुई शिक्षक र एक विद्यार्थी घाइते भएका छन् । थासाङ गाउँपालिका २ कोवाङ ,लार्जुङ र बोक्सी खोला माथिको हिमाली लेकमा भीषण हिम पहिरो गए पछि भागदौडमा दुई शिक्षक र एक विद्यार्थी घाइते भएका हुन् ।
हिमपहिरोका कारण कोवाङमा अवस्थित जनआर्दश अमरसिंह माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीको भागदौड चलेको विद्यालयले जानकारी दिएको छ । भागदौड हुँदा दुई शिक्षक र एक विद्यार्थीको खुट्टा भाँचिएको छ ।
हिमपहिरो आउँदा विद्यालयमा शैक्षिक पठनपाठन चलिरहेको र थाहा पाएपछि विद्यालयका विद्यार्थी तथा शिक्षकहरुमा भागदौड भएको जनाइएको छ । विद्यार्थीहरु अत्तालिदै रुदै भागेका थिए ।
अझै थप हिम पहिरो जानसक्ने अनुमान गरिएकाले विद्यालयका विद्यार्थी र शिक्षक लगायतलाई सबैलाई सुरक्षित स्थानमा सारिएको छ ।
आइतबार बिहान करिब ११ बजे तिर धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हिम पहिरो करिब ३० मिनेटसम्म जारी रहेको थियो ।



