त्यसकारण “राणाकालीन शिक्षा” पुस्तक लेखे : प्रकृति अधिकारी

काठमाडौं/३ कार्तिक-पत्रकार प्रकृति अधिकारीले भर्खर राणाकालीन शिक्षा पुस्तक प्रकाशन गर्नु भएको छ । पुस्तक भित्र राणाकालीन समयमा शिक्षाको अवस्था, शिक्षाको गुणस्तर र अहिले सम्म आईसक्दा के के परीवर्तन भए भन्ने कुरा लाई सहज तरीकाले बुुझ्न सकिन्छ ।


पुस्तक लेख्न आफैमा सहज पक्कै छैन त्यो पनि इतिहाससँग जोडेर तथ्य र अभिलेख खोज्दै पुस्तक तयार पार्न कति समय लाग्यो होला । राणाकालीन शिक्षा पुस्तक लेख्ने विचार कसरी जन्मियो, अहिलेको शिक्षामा यसले कस्तो प्रभाव पार्ला, राणाकालीन शिक्षा र अहिलेको शिक्षामा कस्तो फरक छ, यो पुस्तक किन पढ्ने लगायत विषयमा खबर एजुकेशनले पुस्तकका लेखक तथा पत्रकार प्रकृति अधिकारीसँग गरेको संवाद :


राणाकालीन शिक्षा पुस्तक लेख्ने विचार कसरी जन्मियो ?
गोरखापत्रमा शिक्षा पत्रकारिता गर्दै गर्दा बीचमा रात्रिकालीन डेस्कमा सरूवा भयो । दिनभरिको फुर्सदका कारण २०७६ सालमा एसएलसीको इतिहास पुस्तक लेखे । त्यो पुस्तकको प्रतिक्रिया राम्रो पाए र झण्डै पुस्तक प्रकाशन भएको तीन महिनामा दोस्रो संस्करण पनि छापे । २०७६ साल माघमा कोहोलपुरमा सरुवा भयो र नौ महिनापछि फर्किएर काठमाडौँ आएपछि फेरी रात्रिकालीन डेस्कमा खटिनुप¥यो । दिउँसोको समय सदुपयोग घरमा बसेर नहुने भएपछि केही न केही उपलब्धिमूलक काम गर्न पाए हुन्थ्यो भन्ने मनमा लाग्यो । धेरै जनाले फोनमा, म्यासेन्जरमा एसएलसीको पहिलो परीक्षा नियन्त्रक को हो ? पहिलो महिला परीक्षार्थी को हो ? लगायतका प्रश्नहरू बारम्बार सोधिरहनु हुन्थ्यो । उहाँहरूलाई जवाफ दिइरहन्थे । उँहाहरूले फलानोले लेखेको किताबमा त यस्तो छ, तपाईँले यस्तो भन्नुहुन्छ, कुरा मिलेन भन्नुहुन्थ्यो ।


यस्ता धेरै व्यक्तिको नाम, मितिका बारेमा, तथ्यका बारेमा धेरै जनाले सोधिरहनु हुन्थ्यो । त्यसपछि मलाई के लाग्यो भने उँहाहरूसँग कुरा गर्दा खेरी पढाएको, पढेको, परीक्षा दिएको र त्यो परीक्षामा पास भएको एक खालको मिति, तथ्य, तथ्याङ्क र नाम थियो भने मैले खोजेको वा मसँग भएका तथ्यमा केही फरक थियो । त्यसपछि यो फुर्सदको समयलाई सदुपयोग गर्दै यस्ता खालका भ्रम र गलत कुरा बाहिर ल्याउनुपर्छ भन्ने मलाई लाग्यो ।


हामीले सधैँ गलत कुरालाई अङ्गालेर हुँदैन । जेजति फेला पार्न सक्छु त्यो पुस्तकमा समावेश गर्छु भन्ने मनमा लाग्यो । त्यसपछि गत साल पुसदेखि अध्ययन सुरू गरे । त्यो समय भर्खर कोभिडको पहिलो सङ्क्रमण कम हँुदै गएको र केही पुस्तकालय खुल्न थालेको अवस्था थियो । म तथ्य सङ्कलनका लागि पुस्तकालय, सरकारी निकाय धाउन थाले । त्यहाँ फेला पारेका तथ्य, लिखत, अभिलेखका आधारमा पुस्तक तयार भयो ।


यसभन्दा अगाडि पनि यस्ता खालका पुस्तक लेखिएका थिए । फेरी तपाईँले यही विषय किन छनोट गर्नुभयो ?
हो, यो विषयमा किताब लेख्ने म पहिलो व्यक्ति होइन । यसभन्दा अगाडि पनि केही व्यक्तिले राणाकालीन शिक्षासँग जोडिएका किताब लेख्नुभएको छ । तर यसभन्दा अगाडि लेखिएका त्यस्ता खालका पुस्तक कुन परिवेशमा लेख्नुभएको हो, उहाँहरूसँग भएका स्रोत के थिए, पहँुच कति थियो भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो । जेजति खोज्न सक्नुभयो जेजे फेला पार्नुभयो त्यो लेख्नुभयो तर कतै गलत कुरा पनि लेखिए ती कुरा उहाँहरूलाई थाहा छैन ।


यसै सन्दर्भमा एउटा उदाहरण के दिन चाहन्छु भने २०११ सालको प्रतिवेदनमा पनि इतिहाससँग जोडिएका केही कुरा गलत छन् । हामीले मान्ने भनेको त सरकारी आयोगको प्रतिवेदन हो नि, चाहे २०११ सालको होस् वा २०१९ सालको प्रतिवेदन किन नहोस् दुवैमा कुनै कुनै प्रसङ्ग गल्ती छन् । ती कुरा लेख्ने लेखकहरूले साभार गर्नुभयो, साभार गर्दा गल्ती भयो ।


यसभन्दा अगाडि लेखिएका पुस्तक र तपाईँले लेखेको पुस्तकमा अरू के फरक छ ?
मभन्दा अगाडि राणाकालीन शिक्षाका बारे लेखिएका पुस्तकलाई मैले आधार बनाएन । र, आधार मानेन पनि । मैलै आफ्नै तरिकाले किताब लेख्छु भनेर लागे । ती किताब मैले हेर्दा पनि हेरिन । म पत्रकार भएको कारणले उहाँहरूले कसरी लेख्नुभयो, के गर्नुभयो भन्ने कुरा नहेरी आफ्नै तरिकाले लेख्छु भन्ने अठोटका साथ लागे । किताब पढी सकेपछि थाहा हुनसक्छ ।


अर्को कुरा के फरक छ भने यसभन्दा अगाडि किताब लेख्ने लेखकहरू प्रोफेसर वा प्रशासकहरू हुनुहुन्थ्यो र अवकास हुने बेला वा अवकास भएपछि लेख्नुभयो तर म त अवकास हुन पनि धेरै बाँकी अवधि भएको मानिस । उहाँहरूको तुलनामा म फुच्चे अवस्थामा पुस्तक लेखेको छु । उहाँहरू प्रशासक भएका कारणले तथ्य खोज्ने तरिका अर्कै हुनसक्छ म पत्रकारितामा भएको कारणले उहाँहरूले लेखेकोभन्दा अझै भित्रसम्म खोतल्ने र धेरैभन्दा धेरै तथ्य ल्याउने प्रयास गरेको छु । भेटेको तथ्यलाई त्यत्तिकै लेख्नेभन्दा पनि त्यो साँचो हो कि होइन भनेर प्रमाणित गरेर मात्र लेखेको छु । यस्ता कारणले गर्दा पनि यसभन्दा अगाडि लेखिएका किताब र मैले लेखेको किताबमा फरक छ भन्ने लाग्छ ।


तथ्य, अभिलेख र लिखत खोज्न गाह्रो भयो कि भएन ? कसरी खोज्नु भयो ?
कतिपय पुस्तालयमा धेरै नै अनुरोध गरे तर खोल्न मान्नु भएन । कोरोना महामारीका कारण एकदमै खोल्दै खोल्दैनौ भन्नुभयो । मैले अति नै अनुरोध गरे । पुस्तकालय एक दिनको लागि मात्र भए पनि खोलिदिनुभयो । मैले के गरे भने त्यो पुस्तकालयमा के के पुस्तक छन् भन्ने पूर्व जानकारी लिएर मलाई यो यो पुस्तक उपलब्ध गराइदिनू भनेर पहिले नै उहाँहरूलाई लेखेर दिएको थिए । पछि म जाँदा ती सबै किताब र लिखत तयार बनाइदिनु भएको थियो । त्यसपछि सरकारी लिखत पनि खोज्नु प¥यो । राष्ट्रिय अभिलेखालयमा गए । कानुन मन्त्रालयमा होला, शिक्षा मन्त्रालयमा होला भन्दै विभिन्न ठाउँमा पनि पुगे । अभिलेखालयका कर्मचारीहरूले पनि निकै सहयोग गर्नुभयो । त्यहाँ गएर पुराना लिखतहरू खोजियो, साना साना फाइलहरू खोजियो । पोकाहरू खोलियो । राष्ट्रिय किताबखानामा गएर पनि खोजे ।


कोभिडका कारण लकडाउनको समयमा तथ्य खोज्न सहज थिएन । कति पुस्तकालयमा म एक्लै हुन्थे । तर भिडभाड नहुँदा मैले चाहेको कुरा मलाई खोज्न सजिलो भयो । खोज्दै गए खोज्दै गए जब कोभिडको दोस्रो लहर सुरू भयो त्यसपछि किताब लेख्न बसे । त्यो बीचमा पनि कति कुरा अपूरा भए अनि अनुरोध गर्दै हाकिमलाई फोन गरेर पुस्तकालय खोल्न लगाएर तथ्य खोज्न जान्थे । महामारीको अवस्था भएका कारण बाहिरको मान्छे जाँदा कहिले काहि उहाँहरूले झर्को मानेको गुनासो हाकिमहरूलाई गरेको मलाई भन्नुहुन्थ्यो । मैले आज एक दिनलाई मात्रै हो भोलिदेखि आउँदिन भन्दै फकाएर पुस्तकालय खोल्न अनुरोध गर्थे । यसरी उपत्यकाभित्रका सबै पुस्तकालय लगायत केही व्यक्तिको घरमा पनि गएर खोजे । यसरी तथ्य खोजेर पुस्तक लेख्न बसे । झण्डै डेढ महिनामा पुस्तक लेखेर सके ।


तपाईले खोजेका तथ्य र प्रमाणहरू भेट्नुभयो ? तथ्यहरू कत्तिको सुरक्षित अवस्था रहेको पाउनुभयो ?
रमाइलो कुरा के भयो भने हरिहर भवनमा रहेको राष्ट्रिय किताबखाना भूकम्पले जुन अवस्था बनायो त्यो अहिले पनि त्यस्तै अवस्थामा छ । प्रिफ्याबका संरचना तयार गरेर उहाँहरूले पुराना लिखतलाई राख्नुभएको छ र त्यसपछि उहाँहरू ती कोठामा प्रायः प्रवेश गर्नुभएको छैन । मैले धेरै धेरै अनुरोध गरेपछि उहाँहरू खोल्न तयार हुनुभयो त्यो पनि एक दिनका लागि । ती संरचना तयार भएपछि ती कोठामा छिर्ने पहिलो व्यक्ति म नै भएको उहाँहरूले भन्नुहुन्थ्यो ।


दुःखका साथ भन्नुपर्छ त्यहाँ कुनै लिखतलाई सुरक्षित राख्न कुनै पूर्वाधार अपनाइएको छैन । अक्षरहरू ओसले बगी सकेका छन् । अक्षर उड्न थालेका छन् । कतिपय लिखत फेला पर्दैन । त्यो बेलाको लिखतलाई बाहिरबाट छालाले मोड्ने चलन थियो । छाला सबै कुहिन थालेको छ । धन्न नेपाली कागज यति बलियो रैछ बाहिरको छाला कुहिन लागिसक्दा पनि नेपाली कागज केही भएको छैन । तर अक्षर बग्न र उड्न थालेको छ । मलाई २००७ सालको लिखत हेर्नु थियो तर फेला पर्न सकेन । सबै भताभुङ्ग र च्यातिएको छ । त्यो पढ्न सम्भव नै छैन । २००६ सालसम्मको बल्लतल्ल उपलब्ध हुनसक्यो ।


यसैगरी कानुन मन्त्रालयसँग शिक्षाका पुराना लिखतहरू केही पनि छैन । शिक्षा मन्त्रालयसँग पनि छैन । उहाँहरू के भन्नुहुन्छ भने केशर महलमा हाम्रो पहिले मन्त्रालय थियो त्यहाँबाट मन्त्रालय सिंहदरबार सार्दा पोकाहरू बनाइएको थियो, ती कता र कुन अवस्थामा छन् भन्न सकिदैन । ती पोकामा के छन् थाहा छैन । यो भवसागर छ, खोजेर साध्य छैन । यस्ता जवाफ पाइए ।


यस पुस्तकभित्र समावेस गरिएका तथ्य आधिकारिक छन् भन्ने आधार के छ ?
एउटा कुरा के हो भने मैले यो अवधिमा गोरखापत्र पनि पूरै पढे । २००८ सालतिर छापिने शिक्षा पत्रिकाहरू पनि पढे । त्यो बेलाका सरकारी लिखत झुटो हुँदैन र हामीले विश्वास गर्ने भनेकै सरकारी लिखत हो । सरकारी दस्तावेज, ऐन नियम, कानुन जेजे छन् तिनैलाई विश्वास गर्नुपर्छ । आधार भनेकै तिनै हुन् । त्यो बेलाको गोरखापत्रमा राणाका केही पारिवारिक समस्या नछापिकन लुकाइन्थ्यो । दरबारमा भएका कुनै पनि समस्या वा घटनालाई लुकाइन्थ्यो तर त्यो समयमा विद्यार्थी भर्ना हुन आउ, परीक्षा दिन आउ, परीक्षा तालिका यस्तो छ, परीक्षामा कति सामेल भए, कोको पास भए जस्ता सरकारी सूचना पत्रिकामा छापिन्थे । राणाकालीन शिक्षासम्बन्धी कतिपय इस्तिहार पनि छापिन्थे । पाठ्यक्रम छापिन्थे । त्यसलाई त विश्वास गर्नैप¥यो ।


परीक्षा नियन्त्रण कार्यालयको बोर्डमा पहिलो परीक्षा नियन्त्रक हरमणि आचार्य दीक्षित लेखिएको देख्न सकिन्छ । तर १९९० सालको निजामती थमौती (कर्मचारीको सिटरोल)मा ‘यतिको मितिमा दर्शन भेट गराउँदा खेरी यति गतेसम्म लागू हुने गरी यतिको दरले निजलाई नियुक्ति गरिएको’ भन्दै तल नन्दराम उप्रेतीलाई वार्षिक नौ सय रुपियाँ तलब तोकिएको छ । सरकारी लिखतमा उल्लेख भएको यसलाई हामीले गलत भन्न मिल्दैन । यस्ता कुराका फोटो पनि पुस्तकमा समावेश गरिएको छ । राज्यसँग सुरक्षित भएको लिखत हो । यस्ता तथ्यलाई त आधिकारिक मान्नुपर्छ ।


अरूले प्रयोग गरेका तथ्य र तपाईँले भेटेका तथ्य फरक हुँदा पुस्तक लेखनमा द्विविधा भएन ?
मैले विश्वास गर्ने भनेको दुई वटा कुरा हो । एउटा गोरखापत्रलाई विश्वास गरे किनभने राणकालमा पत्रिकामा गलत छापिने कुरा सम्भव नै थिएन । अर्को सरकारी लिखत दस्तावेज । यसका साथै परीक्षा नियन्त्रण कार्यलयमा भएको मार्क लेजर जुन राणकालदेखिका अहिलेसम्म सुरक्षित छन् । यस्ता करामा म प्रष्ट थिए । कुनै व्यक्तिले फरक लेखेका छन् भने फलानोले यस्तो लेखेका छन् भनेर उल्लेख गरिदिएको छु । राणाहरूको मन्दिरमा भएको शिलालेखमा यस्तो लेखेको छ भनेर उल्लेख गरेको छु । फेरी जुन ठाउँमा म आफूले ठोकुवा गर्न सक्दिन त्यो ठाउँमा स्रोत माथि भने जस्तै गरेर उल्लेख गरेको छु । यस्ता कुरामा आफू प्रष्ट नहुँदा द्विविधा सिर्जना गर्ने हुँदा जसले जे लेखेको छ त्यसलाई त्यस्तै नै उल्लेख गरेको छु । यस्ता कुरामा म जोगिएको छु ।


कति कुराको तथ्य अहिले पनि भेटिदैन । त्यस्ता कुरामा तोडमोड गरेर हुँदै नभएको कुरा काल्पनिक रूपमा लेख्न पनि मिल्दैन । यस्तो अवस्था किताबभित्र दुई ठाउँमा होला । यस्तो अवस्थामा अरूले लेखेको वा फलानोले यस्तो लेखेका छन् भनेर उल्लेख गरेको छु । इतिहासमा आफ्नो तर्क प्रस्तुत गर्नुहुन्न, तथ्य बोल्नुपर्छ भन्ने मान्यता राख्छु । जस्तैः दरबार स्कुलमा मिस्टर रोसको नाम इतिहासका किताबमा छन् तर मैले सरकारी लिखतमा उनको नाम कतै पनि भेटिन । त्यसैले मैले उनी थिएनन् भन्नका लागि सरकारी लिखतका कुरा उल्लेख गरेको छु । मैले पनि उनी थिएनन् भनेर ठोकुवा गर्न सक्ने अवस्था त्यहाँ छैन ।
यसैको अर्को प्रसङ्गमा अहिलेसम्म इस्तिहार वा त्यो बेलाको शिक्षा ऐन तथा शिक्षाको कानुन राज्यसँग पनि छैन । कहाँ छ थाहा छैन । अरू लेखकका किताबमा इस्तिहार छापिएका छन् । १९९६ माघ ८ गते जुन लागू गरियो त्यसकै आधारमा शिक्षा दिवस मनाउने प्रस्ताव गत सरकारले अगाडि बढाएको पनि थियो । त्यो शिक्षाको इस्तिहार खोइ त ? कतै पनि छैन । शिक्षा मन्त्रालयका अवकास प्राप्त अधिकृत नारायण झाले ४० को दशकमा लेख्नुभएको किताबमा शिक्षा मन्त्रालयको भण्डार शाखामा सुरक्षित रहेको इस्तिहारअनुसार भनेर उल्लेख गरेको फेला पारे । त्यो बेलासम्म इस्तिहार सुरक्षित रहेछ भन्ने देखियो । यो कुरालाई मैले किताबमा उल्लेख गर्न सके ।


त्यो बेला र अहिले प्रयोग हुने भाषामा फरक छ । यसलाई कसरी मिलाउनुभयो ?
त्यो समयको भाषा अहिले पढ्दा बेग्लै मजा आउँदो रहेछ । अहिले भाषा परिवर्तन हुँदै धेरै सुधारिदै आएको छ । त्यति बेलाको लिखतमा प्रयोग गरिएका भाषा, ह्रश्व दीर्घ लगायत कुनै पनि कुरा परिवर्तन नगरी किताबमा जस्ताको त्यस्तै राखेको छु । किनभने किताब पढ्दा राणाकालीन शिक्षामात्र होइन भाषाको विकासक्रम अध्ययन गर्नेलाई पनि काम लाग्छ । त्यति बेलाको भाषाको त्यो समयमा जुन महत्व थियो अहिले प्रयोगमा छैन भनेर त्यसलाई तोडमोड गर्नु राम्रो होइन । भाषा अध्ययन गर्नेलाई ठुलो कुरा हुनसक्छ । कही कतै भाषा प्रयोग नहुने ठाउँमा त्यसको संक्षेपीकरण गरेर किताबमा राखिएको छ ।


कही कतै पुस्तकमा परिकल्पना गरेर लेखिएको त छैन नि ?
म इतिहासको विद्यार्थी नभए पनि गोरखापत्रको पुस्तकालयमा छिरेर पत्रपत्रिका हेर्दै जाँदा पुराना भटेका कुरा कटिङ गरेर फेसबुकमा हाल्थे । यसै क्रममा धेरैले प्रोत्साहन दिनुभयो र यसको किताब लेख्नुप¥यो भन्ने खालका सुझाव आइरहन्थे । त्यसपछि मलाई इतिहासमा रूची बढ्दै गयो अनि मैले गोरखापत्रको शनिबार विशेषाङ्कमा पनि इतिहाससँग जोडिएका प्रसङ्गका बारेमा लेख्न थाले । लेख्दै गर्दा अहिले यहाँसम्म आए । यसरी आउँदै गर्दा म इतिहासको विद्यार्थी नभए पनि मैले यो किताब ऐतिहासिक दस्तावेजसँग जोडिएर लेखेको किताब हो । यसभित्र म परिकल्पनामा आएर लेखेको भए धेरै कुरा गलत हुन्थे ।


कतिपयले इतिहाससँग जोडेर आख्यान लेख्ने गरेका छन् तर ती आख्यानमा बढाइ चढाइ गरेर लेखेका हुन्छन् । नभएको कुरालाई थपेर फूलबुट्टा भरेका हुन्छन् । तर राणाकालीन शिक्षा इतिहाससँग जोडिएको किताब हो । त्यसकारण कल्पना भन्ने कुरा कही कतै थोरै पनि गरिएको छैन । बरु जुन ठाउँमा मैले दावी गर्न सक्ने अवस्था थिएन त्यो ठाउँमा शिलालेखमा भएको कुरा, कसैले भाषण गर्दा प्रयोग गरेको कुरा भनेर उल्लेख गरेको छु ।


राणाकालीन शिक्षा लेख्दै गर्दा त्यो समयको शिक्षामा र अहिलेको शिक्षामा कस्तो फरक पाउनुभयो ?
राणकालमा राणाहरू बीचमा द्वन्द्व थियो । एक आपसलाई सक्ने राजनीति थियो । जब चन्द्रशमशेरले राणाहरू बीचमा वर्ग विभाजन गरे त्यसपछि राजनीति एकदमै चरम हुँदै गयो । वर्ग विभाजन पछि राणाहरू देश बाहिर जान थाले । त्यहाँको परिवेश बुझ्न थाले । बाहिरका मानिससँग सम्पर्कमा आई समस्यामा पार्छन् भन्ने यहाँका शासकलाई परिसकेको थियो । त्यसले गर्दा असन्तुष्ट भाइभारदारलाई बाहिर जान रोक्नका लागि नेपाल मै विविध खाले शिक्षाको विकास गरे । त्यही जगमा टेकेर आज हामीहरू यहाँसम्म आएका छौँ । राणाकालमा खोलिएका विद्यालय वा कलेज अहिलेसम्म पनि सञ्चालन मै छन् ।


अहिले विद्यालयमा विद्यार्थीलाई दिइएको दिवा खाजा नयाँ कुरा होइन । राणाकालमा विद्यार्थीलाई निःशुल्क भोजनको व्यावस्था गरिएको थियो । पहिलो संस्कृत विद्यालय खोल्दा पनि हरेक विद्यार्थीलाई वर्षको चार रुपियाँका दरले छात्रवृत्ति दिने गरिन्थ्यो । राजनितिक रूपले उनीहरू निरङ्कुश भए पनि शिक्षालाई मात्र हेर्ने हो भने ठुलो विकास गरेका थिए जुन अहिले पनि त्यसैको निरन्तरता हो । त्यसैको जगमा चलिरहेको छ ।


राणाकालीन शिक्षाबाट वर्तमान शिक्षाले के सिक्ने ?
त्यो बेला संस्कारयुक्त शिक्षा थियो । शिक्षकसँग अहिलेको जस्तो सम्बन्ध थिएन । समाज संस्कारयुक्त समाज थियो । शिक्षकलाई त्यही दृष्टिकोण र सम्मानबाट हेरिन्थ्यो । त्यसपछि पठनपाठनका कुरामा कुनै पनि विषयमा पास गर्नु भनेको धेरै कठिन थियो । एसएलसीकै कुरा गर्दा सेकेण्ड डिभिजन आउने अहिलेको बोर्ड फस्ट जस्तै हुन्थे तर अहिले धेरैले सयमा सय प्रतिशत नै ल्याउँछन् । त्यो समयमा यस्तो सम्भव नै थिएन ।


निजामती कर्मचारीमा जागिर खान चाहनेले अनिवार्य रूपमा श्रेस्ता पाठशाला गएर पढ्नुपथ्र्यो । त्यो भनेको दुई पासे, चार पासे, छ पासे, आठ पासे भन्दै १६ पासेसम्मको व्यवस्था थियो । दुई पासे भनेको दुई वटा विषय पास गर्नेलाई भनिन्थ्यो । यो पास गर्न कठिन थियो । अरु चार, छ, आठ पास गर्न झन् कति कठिन कति । आठ पासे गरेमा उनी जत्तिको विद्वान कोही हुने थिएनन् ।
यसको अर्थ के हो भने त्यस समयको पढाइको गुणस्तर धेरै अब्बल थियो । त्यो समयमा एसएलसी पास गरेका व्याक्तिले एमएसम्म पनि पढाउन सक्थे जसले पढाइको गुणस्तरलाई बुझाउँछ । अहिले जस्तो स्वतः पास हुने, परीक्षा दिए पनि फेल नै नहुने थिएन । त्यो समयमा सर्टिफिकेटको महत्व निकै धेरै थियो । अहिले विद्यावारिधि शोध सकेर सर्टिफिकेट लिएका धेरै भइसके तर ज्ञान कम छ ।


अन्तमा यो पुस्तक पढ्ने पाठकलाई के भन्न चाहनुहुन्छ ?
सबै व्यक्ति सबै विषयमा पोख्त हुँदैन । म इतिहासकार होइन । म पत्रकार हो । पत्रकारितालाई इतिहाससँग जोड्न खोजेको छु । यसै सन्दर्भमा यो किताब आएको छ । यसलाई अध्ययन गरौँ । त्यो बेलाको शिक्षाका बारेमा बुझ्ने, थाहा पाउने अवसर प्राप्त गरौँ । नचाहँदा नचाहँदै पनि गल्ती हुन्छ । स्वभाविक हो । त्यस्ता त्रुटि औँल्याइदिन अनुरोध गर्छु । मेरा कुरा राख्न प्लेटफर्म र समय उपलब्ध गराइदिनुभएकोमा आभार व्यक्त गर्छु । छिटै दोस्रो संस्करणमा भेट्ने वाचा गर्छु । धन्यबाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *