फाइल तस्विर
काठमाडौं /२९ भदौ-अफगानिस्तानमा तालिबान सरकारले उच्च शिक्षा सम्बन्धी नीति सार्वजनिक गर्दे महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने भएको छ ।
महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा प्रतिबन्ध लगाउदै आएको तालिबानले अब प्रतिबन्ध नलगाउने भएको हो ।
उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने तर पुरुषहरूसँगै बसेर भने पढ्न नपाउने बताएका छन् । उनका अनुसार अफगानिस्तानका विश्वविद्यालयहरुलाई महिला र पुरुष विद्यार्थी पढाइ हुने गरी छुट्याइने र इस्लामी ड्रेस कोड लागू गरिने छ ।
तर विश्वविद्यालयमा महिला र पुरुष विद्यार्थीहरुलाई अलग–अलग कक्षा सन्चालन गर्ने पर्याप्त स्रोतसाधन नभएका कारण तालिबानको नयाँ नीतिले महिलाहरु शिक्षाबाट वन्चित हुन सक्ने विश्लेषण पनि भइरहेको छ ।
यद्यपि हक्कानी भने महिला शिक्षकहरुको संख्या पर्याप्त रहेको दाबी गर्दछन् । कमी भएको स्थानमा दोस्रो विकल्प सोचिने उनले बताए । उनले भने, ‘यो सब विश्वविद्यालयको क्षमतामा निर्भर गर्दछ । पर्दा पछाडिबाट पढाउनका लागि पुरुष शिक्षक वा प्रविधिको सहयोग लिन सक्नेछन् ।’
देशको प्राथमिक र माध्यमिक विद्यालयमा महिला र पुरुषहरुलाई अलग–अलग शिक्षा दिइने छ । छात्राहरुले हिजाब (पूरै शरीर ढाकिने पोशाक) लगाउनु पर्नेछ । बीबीसीबाट



