विद्यालय र स्वास्थ्य सेवा बालमैत्री हुन आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौं/२९ भदौ-प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयहरूमा थप प्रयास गर्न आवश्यक रहेको बताएका छन् ।


सन्ताउन्नौं राष्ट्रिय बाल दिवसको अवसरमा सम्पूर्ण नेपाली बालबालिकामा शुभकामना व्यक्त गर्दै बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको बताएका छन् । उनले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत श्ययाको व्यवस्था गरिएको बताए ।


उनले विद्यालय र स्वास्थ्य सेवा पनि बालमैत्री हुन आवश्यक रहेको उल्लेख गर्दे बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घरपरिवार बालमैत्री हुन जरुरी रहेको बताए ।


संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको तथा बालबालिकासम्बन्धी ऐन कानुनहरूको तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको उनले उल्लेख गरेका छन् ।


बालअधिकार संरक्षण तथा सम्बर्द्धन गर्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै उनले राष्ट्रिय बालदिवस २०७८ को अवसरमा सम्पूर्ण अभिभावक, सेवा प्रदायक व्यक्ति तथा निकायहरूलाई बालबालिकाको सर्वाङ्गीण विकासमा जिम्मेवार हुन पनि अनुरोध गरेका छन् । नेपालले बालअधिकार महासन्धिको पक्ष राष्ट्र भएको ३० वर्ष पुरा भइसकेको छ ।