फाइल तस्विर
न्यूयोर्क/२६ भदौ– अमेरिकामा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा कोरोना सङ्क्रमणको असर धेरै देखिन थालेको हो ।
कोरोना सङ्क्रमित भएका अधिकांश बालबालिकामा डेल्टा भेरियन्टको संक्रमण भएको अधिकारीहरुले जनाएका छन् । चिकित्सकका अनुसार शैक्षिक सत्रको सुरुवातका कारण धेरै बालबालिका डेल्टा भेरियन्टको संक्रमण भएको बताएका छन् ।
अमेरिकाको केन्द्रीय स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले २ हजार ३ सय ९६ जना बालबालिका कोरोना भाइरसका कारण अस्पताल भर्ना भएको जनाएको छ । अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भेरियन्टको संक्रमण भएको जनाएको छ ।
अमेरिकामा सन् २०२० को अगस्टदेखि अहिलेसम्म कुल ५५ हजार बालबालिका कोरोनाका कारण अस्पताल भर्ना भएका छन् । ऐजेन्सी



